प्रदेश नं. २ मा ३७ हजार उम्मेदवार चुनावी मैदानमा
सारांश
- वीरगन्ज ।
- तेस्रो चरणकाे स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लामा आज बिहानबाट मतदान सुरु भएकाे छ ।
- १३६ स्थानीय तहमा बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य साझ ५ बजेसम्म चल्ने छ ।
वीरगन्ज । तेस्रो चरणकाे स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लामा आज बिहानबाट मतदान सुरु भएकाे छ । १३६ स्थानीय तहमा बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य साझ ५ बजेसम्म चल्ने छ ।
मताधिकारको प्रयोग गर्न दुई नम्बर प्रदेशका स्थानीयहरु लामबद्ध भएर बसेका छन् । प्रत्येक बुथमा सुरक्षा व्यवस्था मजबुद बनाइएको भन्दै निर्वाचन आयोगले पनि ढुक्क भएर मतदान गर्न अपिल गरेको छ । दुई नम्बर प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा छन् ।
निर्वाचनबाट बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ६ हजार ६ सय २७ प्रतिनिधि चुनिनेछन् । तर चुनावी मैदानमा भने ६ गुणा बढी अर्थात ३७ हजार दुई सय ३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् ।
जसमध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष छन् । निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय नौ र महिला ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
नगर उपप्रमुख र उपाध्यक्षमा भने महिलाको उम्मेदवारी बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा एक सय ९७ पुरुष र नौ सय १९ महिला उम्मेदवार छन् । आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् ।
हालसम्म आठजना निर्विरोध भइसकेका छन् । २१ सय ६६ मतदानस्थलमा ३५ सय ७८ मतदान केन्द्र रहनेछन् । मतदानका लागि २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेका छन् ।
मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको छ । सुरक्षा दृष्टिले संवेदनशील मानिएको यो प्रदेशमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको एकीकृत सुरक्षा योजनाअन्तर्गत निर्वाचनमा सुरक्षाकर्मी खटाइएको छ ।मतदान केन्द्रको पहिलो सुरक्षा घेरा नेपाल प्रहरीको हुनेछ भने दोस्रो घेरामा सशस्त्र प्रहरी राखिनेछ । तेस्रो घेराका रूपमा सेनाले गस्ती गर्नेछ ।
सुरक्षा संवेदनशीलता हेरेर बारा, जनकपुर र सिरहामा सेनाको तीनवटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । निर्वाचन बिथोल्ने आकलन गरिएका सिके राउत, विप्लव माओवादी र जयकृष्ण गोइत समूहका केही कार्यकर्तालाई स्थानीय प्रशासनले पक्राउ गरेको छ ।
निर्वाचनविरुद्ध रहेको भन्दै प्रहरीले सप्तरी, सिरहा, धनुषाका विभिन्न भागबाट केही मानिसलाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख विजयलाल कायस्थले जानकारी दिए ।
निर्वाचन आयोगले बाढी र डुबानबाट उत्पन्न पीडालाई बिर्सेर एक दिन राष्ट्रका लागि उपयोग गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन तयारी र सुरक्षा प्रबन्ध व्यवस्थित रहेकाले निर्भीक रूपमा मतदान गर्न मतदातालाई अनुरोध गरे ।
विदेशीलाई एकदिने अवलोकन
निर्वाचन आयोगले विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई एकदिने अवलोकन गर्न सक्ने व्यवस्था गरेको छ । उनीहरूले निर्वाचनको पर्यवेक्षण गर्न पाउँदैनन् ।
आयोगका अनुसार विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले प्रदेश नम्बर २ का जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्नेछन् । आयोगले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा संस्थाका दुई हजार एक सय पर्यवेक्षकलाई अनुमति दिएको छ ।
परिचयपत्र नभए नागरिकता
निर्वाचन आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेको अवस्थामा नागरिकता, जग्गाधनी प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, २०७० को निर्वाचनमा आयोगले दिएको मतदाता परिचयपत्र वा सरकारी निकायबाट फोटोसहित जारी अन्य परिचयपत्रमार्फत मतदान गर्न सकिने व्यवस्था गरेको छ ।
तर, त्यसका लागि मतदाता नामावलीमा नाम भने हुनुपर्नेछ । आयोगले मतदाता नामावलीमा सानो गल्ती भएमा मतदाताको नागरिकताको विवरणलाई मुख्य आधार बनाएर मतदान गर्न सक्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया