फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
१०
|
१६ पटक हेरिएको
Shares
फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’

सारांश

  • इरानी इन्टरियर डिजाइनर २६ वर्षीया रेहाने जब्बारीलाई त्यहाँको अदालतको फैसलाबमोजिम शनिबार मृत्युदण्ड दिइयो ।
  • सन् २००९ मा इरानको गुप्तचर निकायका एक अधिकारीलाई छुरी प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले उनलाई फाँसीको सजाय सुनाएको थियो ।
  • ती गुप्तचर अधिकारीले आफूलाई बलात्कार गर्न खोजेपछि आत्मरक्षा गर्न खोज्दा हत्या हुन पुगेको रेहानेले बताएकी थिइन् ।

इरानी इन्टरियर डिजाइनर २६ वर्षीया रेहाने जब्बारीलाई त्यहाँको अदालतको फैसलाबमोजिम शनिबार मृत्युदण्ड दिइयो । सन् २००९ मा इरानको गुप्तचर निकायका एक अधिकारीलाई छुरी प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले उनलाई फाँसीको सजाय सुनाएको थियो ।

ती गुप्तचर अधिकारीले आफूलाई बलात्कार गर्न खोजेपछि आत्मरक्षा गर्न खोज्दा हत्या हुन पुगेको रेहानेले बताएकी थिइन् । फाँसीको तख्तामा जानुअघि उनले आमा सोलेह पक्राभनलाई हृदयविदारक चिठी लेखेकी थिइन्, जुन चिठी इरानी अधिकारकर्मीले सार्वजनिक गरिदिएका छन्। हेर्नुहोस् उनको भावानुवाद जस्ताको तस्तै
प्यारी ममतामयी आमा,
मैले कठोर दण्ड पाउने कुरा मैले आजै थाहा पाएँ । म आफ्नो जीवनरूपी किताबको अन्तिम पानामा आइपुगेकी छु भन्ने कुरा तपार्इं स्वयंले मलाई नबताउँदा मेरो मन किञ्चित कुँडिएको छ । यो कुरा मैले थाहा पाउनुपर्छ भन्ने तपाईंले किन सोच्नुभएन रु यो सब कुराले तपाईंलाई भित्रैदेखि मर्माहत बनाएको छ भन्ने मलाई थाहा छ र यसले मलाई लज्जित तुल्याएको छ । तपाईंको र बुबाको हात एकपटक चुम्ने मौकाबाट मलाई किन वञ्चित राख्नुभयो आमा ?

यो संसारले मलाई १९ वर्षसम्म बाँच्ने मौका दियो । त्यो अपशकुन रातमै मेरो हत्या भएको भए कति वेश हुने थियो होला रु यदि मैले चिताएजस्तै भएको भए सहरको एउटा गल्लीमा मेरो लास फालिएको हुने थियो । मेरो लास पहिचान गराउन प्रहरीले तपाईंलाई त्यही गल्लीमा लिएर जान्थ्यो । त्यहाँ पुगेपछि तपाईंले थाहा पाउनुहुने थियो कि, तपाईंकी प्यारी छोरीको हत्या मात्र होइन, बलात्कार पनि भएको रहेछ ।

मेरो हत्या गर्नेहरूसँग जस्तै हामीसँग सम्पत्ति र सामथ्र्य दुवै छैन । त्यसैले मेरा हत्याराहरू कहिल्यै पक्राउ पर्ने थिएनन् । त्यसपछिका तपाईंका दिनहरू असिम पीडा र लज्जामा बित्ने थिए । यही पीडाले केही वर्षपछि तपाईंको प्राणपखेर पनि उडाउने थियो ।

तर खै, कस्तो श्रापले गर्दा हो कुन्नि, कथा अप्रिय ढंगले पूरै बदलियो । मेरो शरीर कुनै गल्लीमा मिल्किएन । सहरको कुनै गल्लीमा मिल्काइनुको सट्टा मेरो शरीर इभिन जेलरूपी यो चिहानको सुनसान कालकोठरीमा मिल्काइएको छ । र, अहिले चिहानजस्तै साहर–ए–रे जेलमा मेरो शरीरलाई राखिएको छ । आमा, यो सबै नियतिको खेल हो भन्ने सम्झिएर चित्त बुझाउनुहोला, र कुनै प्रकारको दुस्ख–मनाउ नगर्नुहोला । मृत्यु जीवनको अन्त्य होइन भन्ने कुरा तपाईंलाई राम्रोसँग थाहा छँदै छ नि, हैन र?

तपाईंले मलाई भन्नुभएको थियो, मानिस यो संसारमा अनुभव बटुल्न र शिक्षा हासिल गर्न आउँछ । हरेक जन्ममा मानिसको काँधमा केही न केही जिम्मेवारी भिराइएको हुन्छ । यो जन्ममा मैले एउटा कुरा सिकें कुनै न कुनै वेला मानिसले पौँठेजोरी खेल्नुपर्दो रहेछ । मलाई मारपिट गर्ने व्यक्तिको विरोध गर्दा एक मानिसले ती व्यक्तिबाट मुखै–मुखमा, टाउकै–टाउकोमा चाबुक खानुपर्‍यो । उनीमाथि चाबुकको वर्षा भयो र यसैले गर्दा उनको प्राणपखेरु उड्यो । त्यसबखत तपाईंले मलाई भन्नुभएको थियो, छोरी, मर्नुपरे पनि मानिसले आफ्नो मूल्यको रक्षा गर्नुपर्छ ।

तर, तपाईंले हासिल गर्नुभएको अनुभवसिद्ध ज्ञान सत्य रहेनछ । जब ममाथि यो घटना घट्यो, तपाईंले मलाई दिनुभएको जीवनका मूल्यसम्बन्धी ज्ञान सबै बेकार साबित भए । तपाईंले भनेबमोजिम गर्दा मलाई नृशंस हत्यारा र निर्मम अपराधीका रूपमा अदालतमा उपस्थित गराइयो । त्यतिवेला मेरो आँसु खसेन । मैले कसैसँग जीवनरक्षाका निम्ति हात फिजाइनँ । मलाई कानुनप्रति विश्वास थियो । त्यसैले बर्खिलापमा म केही बोलिनँ ।

आमा,
म कस्तो कमलो मन भएकी छोरी हुँ भन्ने तपाईंलाई राम्रोसँग थाहा छ । मैले कहिल्यै एउटा लामखुट्टे पनि मारिनँ । घरमा कुनै साङ्लो फेला पर्‍यो भने त्यसको जुँगामा समातेर म बाहिरतिर मिल्काइदिने गर्थेँ, मार्दिनथेँ । तर, आज मलाई नियोजित हत्यारा बनाइयो । जनावरप्रतिको मेरो व्यवहारलाई छोरोमान्छेजस्तो बन्न खोज्ने मेरो अभिलाषाका रूपमा अथ्र्याइयो । तर, यो घटना घट्दाखेरि मेरो हातका लामा, पालिस लगाएर चिटिक्क पारेका नङप्रति न्यायाधीश महोदयको ध्यानै गएन ।

न्यायाधीश महोदयबाट न्यायको अपेक्षा गर्नेहरू कति आशावादी हुँदा हुन् कठै ? मेरो हात खेलाडीको जस्तो, अझ भन्नुपर्दा बक्सरको जस्तो जब्बर र खस्रो खालको छैन भन्ने तथ्यबारे न्यायाधीश महोदयबाट कुनै प्रश्न भएन । र, यो राष्ट्र, जसप्रति माया गर्नुपर्छ भन्ने भाव तपाईंले ममा जगाइदिनुभयो, यसले पनि मलाई कहिल्यै चाहेन । सोधपुछकर्ताको एकपछि अर्को प्रश्नको प्रहार सहन नसकेर मैले आँसु झारिरहँदा कोही पनि मेरो समर्थनमा आएनन् । मेरो सौन्दर्यको अन्तिम निशानीका रूपमा रहेको कपाल खौरिएपछि मेरो हातमा ११ दिन लामो कालकोठरीवासको उपहार थमाइयो ।

यो सबै सुनेर नरुनुहोला आमा । प्रहरी कार्यालयमा पुगेको पहिलो दिन नै एकजना अविवाहित प्रहरीले मैले पालेका लामा नङका निम्ति मलाई दिनु दुस्ख दिएका थिए । त्यसपछि मैले बुझेँ, यो युगमा सौन्दर्यताको पारख गरिँदैन रहेछ । सुन्दर हेराइ, सुन्दर विचार, सुन्दर कामना, सुन्दर हस्तलिखित अक्षर, सुन्दर आँखा, सुन्दर दृष्टिकोण र सुन्दर आवाजको यो युगमा कुनै कदर हुँदैन रहेछ ।

अहिले मेरो जीवनदर्शन बदलिएको छ । तर, यसका लागि तपाईं जिम्मेवार हुनुहुन्न । मेरा शब्दहरूको कुनै अन्त्य छैन । यी शब्दहरू मैले कसैलाई लेखेर दिएकी छु । जब तपाईंलाई उपस्थित नगराईकन र जानकारी नदिईकन मलाई फाँसी दिइन्छ, त्यतिवेला तपाईंले यो पत्र पाउनुहुनेछ । आफ्नो नासोका रूपमा मैले तपाईंका निम्ति हातले लेखेका यी अक्षरहरू छोडेर गएकी छु ।

मर्नुभन्दा अघि म तपाईंबाट केही चाहन्छु । मैले इच्छाएको कुरा पूरा गर्न तपाईंले दिलोज्यान लगाउनुहोस् भन्ने मेरो चाहना छ । वास्तवमा भन्ने हो भने यो संसार, यो देशबाट र तपाईंबाट मैले चाहेको यो नै एक मात्र कुरा हो ।

बिन्ती, नरोईकन मैले भनेको सुन्नुहोस् । अदालत पुगेर मेरो तर्फबाट एउटा आग्रह गरिदिनुहोस् । किनकि, म जेलका यी चार पर्खालभित्रबाट त्यस्तो आग्रह गरिएको चिठी पठाउन सक्दिनँ । किनकि, हरेक चिठी जेलप्रमुखबाट अनुमोदन गराउनुपर्ने हुन्छ । जेलको यस्तो नियमले गर्दा तपाईंले मेरो कारण पुन एकपटक असिम मर्मान्तकारी क्षण बेहोर्नुपर्ने भएको छ । मैले खोजेको कुरा मेरा निम्ति मागिदिनुभयो भने म किञ्चित दुस्खी हुनेछैन । मलाई फाँसीबाट जोगाउने याचनाचाहिँ कहिल्यै नगर्नुहोस् भनेर मैले यसअघि नै तपाईंलाई पटक–पटक भनिसकेकी छु ।

मैले आफ्नै जीवनभन्दा पनि बढी माया गरेकी मेरी प्यारी आमा,

म माटोमुनि पुरिएर कुहिन चाहन्नँ । म मेरा आँखा र मेरो स्वस्थ जवान मुटु माटोमा बिलीन होस् भन्ने चाहन्नँ । त्यसैले मेरा लागि एउटा भिख मागिदिनुहोस् । मलाई फाँसीको तख्तामा झुन्ड्याउनासाथ मेरो मुटु, मेरा मिर्गौला, मेरा आँखा, हड्डी र प्रत्यारोपण गर्न मिल्नेजति सबै अंगहरू मेरो शरीरबाट निकालियोस् र आवश्यक भएका व्यक्तिलाई ती अंग मेरो अन्तिम उपहारका रूपमा दिइयोस् । अंग पाउने व्यक्तिले मेरो नाम थाहा भने नपाओस् । उसले मेरा लागि पुष्पगुच्छा अर्पण गरोस् अथवा मेरा लागि खुदासँग प्रार्थना गरोस् भन्ने म चाहन्नँ ।

यो कुरा म अन्तरहृदयदेखि भनिरहेकी छु । मेरो कुनै चिहान बनोस् भन्ने चाहना पनि म राख्दिनँ, किनकि मेरो चिहानमा पुगेर निरन्तर शोक गर्ने र पीडा प्राप्त गर्ने अवसर तपाईंलाई प्राप्त भएको अवस्था म निम्त्याउन चाहन्नँ । मेरा लागि तपाईंले शोक जनाउने खालको कालो लुगा लगाउनुहोस् भन्ने पनि म चाहन्नँ । मेरा दुस्खका दिन बिर्सिने हरसम्भव चेष्टा गर्नुहोस् । मलाई यो पवनको जिम्मामा छोडिदिनुहोस्, ताकि यसले मलाई निर्वाध रूपमा उडाएर पर–पर अनन्तमा पुर्‍याउन सकोस् ।

यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यको मूल्यप्रति यो संसारले कुनै इच्छा देखाएन । अब म यी सबैबाट मुक्त भएर मृत्युलाई अँगाल्दै छु ।

तर, भगवान्को अदालतमा फेरि मुद्दा चल्नेछ आमा । त्यहाँ म निरीक्षकविरुद्ध मुद्दा हाल्नेछु, न्यायाधीश महोदयविरुद्ध मुद्दा हाल्नेछु, यो देशका सर्वोच्च अदालतका न्यायाधीशहरू सबैविरुद्ध मुद्दा हाल्नेछु ।

सृष्टिकर्ताको अदालतमा म ती सबैविरुद्ध मुद्दा हाल्नेछु, जसले अज्ञानता अथवा झुटको वशमा परेर देखिएको सत्य कहिलेकाहीँ वास्तविक सत्यभन्दा भिन्न पनि हुन सक्छ भन्ने तथ्यतर्फ निर्ममतापूर्वक आफ्ना आँखा चिम्लिए ।

कोमल हृदय भएकी प्यारी आमा,
परलोकमा आरोप लगाउनेहरूको आसनमा हामी हुनेछौँ र आरोपित व्यक्ति उभिने कठघरामा अरूहरू हुनेछन् । हेरौँ, भगवान् के चाहँदा रहेछन् । म तपाईंलाई नमरुञ्जेलसम्म अँगालोमा कसिरहन चाहन्छु ।

तपाईंलाई माया गर्ने
रेहाने

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Geeta Khadka

    Uuff!

    Comment Author

    Laxmi Bartaula

    कति सम्मा को पिडा आमा लाई

    Comment Author

    Karki Krishna

    निर्दाेष रेहाने ..!

    Comment Author

    Sajeman Shekh

    Heart touching!

    Comment Author

    Tulasi Ghimire

    Kati marma sparsI.

    Comment Author

    Chandra Panday

    रेहाने ,तिमी संसारका नारीहरूको ध्रुवतारा हौ जसको अन्त नै छैन।

    Comment Author

    Abbot Nepal

    Sad. Heart broken ? story.

    Comment Author

    Abbot Nepal

    साँच्चै भन्नुपर्दा वकिल भन्नेहरुले पैसा खाने खेल खेलेको हुन्छ। यो अदालत र वकिलहरुको काम छैन यि वकिल भनाउँदोहरु सहि कुरालाई गलत र गलत कुरालाई सहि प्रमाणित गर्ने वेश्यावृत्तिमा संलग्न हुने मानिस जस्तो ब्यबहार गर्छ। त्यसैले प्रमाण सहित रंगेहात पक्रिएको खण्डमा सिधा यमलोक पुर्याइयोस यो विश्व भरि नै।पैसाको खोलले अपराधी न लुकोस। निष्पक्ष वकालत होस। गरिब असहायको पनि न्याय निसाफ होस यस धर्तीमा। पिडित हुन न परोस अबला असहाय व्यक्ति हरु।

    Comment Author

    Jayram Poudel

    मार्मिक

    Comment Author

    Meelan Basnet

    aakha rasaune.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?