बजेटको विरोध गर्नुपर्ने कारण छैन : महासचिव पौडेल
सारांश
- काठमाडौं।
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएका बताएका छन्।
- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधानको भावना विपरित बजेट आएको टिप्पणी गरिरहेका बेला महासचिव पौडेलले संविधानद्वारा निर्देशित भएरै बजेट आएको प्रष्टयाएका हुन्।
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएका बताएका छन्।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधानको भावना विपरित बजेट आएको टिप्पणी गरिरहेका बेला महासचिव पौडेलले संविधानद्वारा निर्देशित भएरै बजेट आएको प्रष्टयाएका हुन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले बजेटमा उल्लेख गरिएको सामाजिक सुरक्षा भत्ता बढाउने प्रावधान बेठिक हो भनेर उभिन पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चुनौती दिए। लोककल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने काम गरेकोमा समर्थन गर्नु पर्नेमा विरोध गरिएकोमा उनको आपत्ति छ।
महासचिव पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गरिव र पीछडिएका क्षेत्रको पक्षमा दृढतापूर्वक उभिएको दावी गरे। उनले बजेटले राष्ट्रिय गौरवका आयोजनाहरुलाई उच्च प्राथमिकता दिएर मुलुकको उच्च आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको बताए। महासचिव पौडेलले बजेट कार्यान्वयन हुने गरी आएको दावी गरे। बजेटले उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको उनको दावी छ। महासचिव पौडेलले बजेट सबै क्षेत्रको विकास हुने गरी सन्तुलित ढंगले आएको बताए।
प्रतिक्रिया