मन्त्री ​महराकै सेटिङमा सुन तस्करी (सुन तस्करी चिरफार न्युज)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ४, २०७३
|
|
२८२ पटक हेरिएको
Shares
मन्त्री ​महराकै सेटिङमा सुन तस्करी (सुन तस्करी चिरफार न्युज)

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र रसुवाको केरुङ नाकाबाट ठूलो परिमाणमा अवैध सुन ओसारपसार हुँदैआएको छ ।
  • २०७३ पुस २१ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करी गरेर ल्याएको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले बरामद गरेपछि धेरै कुराहरु खुल्न थालेका छन् ।
  • ३३ किलो सुन बरामद भएको एक सातामै रसुवा नाकाबाट आएको १५ किलो सुन २०७३ पुस २९ गते राति महानगरीय प्रहरी बृत्त बालाजुले चमती करिडोरबाट बरामद गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र रसुवाको केरुङ नाकाबाट ठूलो परिमाणमा अवैध सुन ओसारपसार हुँदैआएको छ । २०७३ पुस २१ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करी गरेर ल्याएको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले बरामद गरेपछि धेरै कुराहरु खुल्न थालेका छन् । ३३ किलो सुन बरामद भएको एक सातामै रसुवा नाकाबाट आएको १५ किलो सुन २०७३ पुस २९ गते राति महानगरीय प्रहरी बृत्त बालाजुले चमती करिडोरबाट बरामद गरेको छ । यसअघि बौद्ध प्रहरीले मंसिर १८ गते मोटरसाइकल जाँच गर्ने क्रममा १० किलो सुुन बरामद गरेको थियो । गएको पुस ६ गते रसुवामा ५ किलो सुनसहित वीरेन लामा पक्राउ परेका थिए । त्यसलगत्तै पुस १४ गते नै हाइलक्स गाडीमा लुकाएर ल्याएको अवस्थामा महानगरीय अपराध महाशाखा टेकुले ७ किलो सुन कलंकीबाट बरामद गरेको थियो । पुसमै काठमाडौं पेप्सीकोलाबाट ३ किलो सुन बरामद भएको थियो । मंसिर र पुसमा मात्र अवैध रुपमा भित्रिएको ७३ किलो सुन प्रहरीले बरामद गरेको छ । प्रहरीले आक्कलझुक्कल अनुसन्धान गर्दा फेलापारेको यो सुन बरामदको घटनाले नेपालमा दैनिक सयौं किलो सुन रसुवा र विमानस्थल भन्सार हुँदै भित्रने र त्यो काठमाडौंबाट भैरहवा हुँदै भारतमा जाने गरेको राजस्व अनुसन्धान विभाग स्रोतले बताएको छ । रसुवा र विमानस्थल भन्सारबाट सुन ब्यापक मात्रामा आइरहेको छ, फाट्टफु्ट्ट मात्र बरामद हुन्छ भन्ने कुरा सीआइबीले ३३ किलो सुनसहित पक्राउ गरेका गोपाल शाहीले ११ पटकमा ३ सय किलो सुन नेपालमा ल्याइसकेको बयान दिएको घटनाले पुृष्टी गर्दछ । गोपाल शाही भरियामात्र हुन् । उनी जस्ता अरु भरियामात्र पक्राउ पर्छन् तर वास्तविक सुनका मालिक को हुन् त्यो नखुलेसम्म नेपालबाट सुन तस्करी नरोकिने प्रहरी अधिकारी बताउँछन् ।

यस्तो छ सुन तस्करीको जालो:  गत साउन २० गते अर्थमन्त्रीको शपथ लिएलगत्तै कृष्णबहादुर महराले सुन भित्रने मुख्य नाका त्रिभुवन विमानस्थल भन्सार कार्यालय र रसुवागढी भन्सार कार्यालयमा आफू अनुकूल कर्मचारी सरुवा गरेका थिए । ती दुई नाकाबाट भित्रिएको सुन काठमाडौंबाट भैरहवा भन्सार हुँदै भारत पु¥याउने सेटिङ मिलाइएको रहस्य खुल्न थालेको छ । जसका लागि भैरहवा भन्सारमा पनि मन्त्री महराले आफ्नै पार्टी निकट उपसचिव र अधिकृतलाई सरुवा गरेका थिए । राजस्व अनुसन्धान विभागमा सुन तस्करीको सेटिङ गर्ने गरी एक अनुसन्धान अधिकृतलाई भइसकेको सरुवा पनि रद्द गरी राखिएको खुलासा भएको छ । सुरुमा अवैध सुन भित्रिने नाका एयरपोर्ट भन्सारमा मन्त्री महराको निजी सचिवालयमा कार्यरत शाखा अधिकृत गुणराज भण्डारी र कम्प्युटर अधिकृत मदनकुमार श्रेष्ठलाई सरुवा गरिएको थियो । त्यसपछि मन्त्री महरा र उनका निजी सचिव नेत्र पौडेलले अर्को सुन भित्रने नाका रसुवागढी भन्सारमा शाखा अधिकृत भीम आङदम्बेलाई खटाए । आङदम्बे पनि महराकै सचिवालयबाट रसुवागढी सरुवा भएका हुन् । एयरपोर्ट र रसु्वागढीमा आफूनिकट कर्मचारी खटाइसकेपछि एयरपोर्ट भन्सारका सोझा प्रशासक योगेन्द्र गौचनलाई पनि दुई महिनाअघि महालेखा नियन्त्रक कार्यालयमा धपाइयो । र, सुन तस्करीको सेटिङ मिलाउनकै लागि गतबर्ष सहसचिव बढुवा भएका माओवादी निकट नारायणप्रसाद सापकोटालाई भन्सार प्रशासक बनाइयो । रसुवागढी भन्सारका प्रमुख केदार पनेरुको सरुवा भएको एक बर्षमात्र भए पनि पनेरुलाई हटाएर सुन तस्करीको सेटिङ मिलाउन गोपाल कोइरालालाई लगियो । भैरहवा भन्सार कार्यालयको प्रमुखमा माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका अर्थमन्त्रालयको विभागीय अध्यक्ष भइसकेका उपसचिव भूपाल शाक्यलाई सरुवा गरियो । भैरहवाको भन्सार प्रमुखमा भन्सार विभागले उपसचिव सूर्य सेढाईलाई सरुवा गर्ने तय भइसकेपछि नेत्र पौडेल, महरापुत्र निर्मल महरा एटमले रातारात दबाब दिएर भूपाल शाक्यलाई सरुवा गराएका थिए । भैरहवा भन्सार कार्यालयको भन्सार अधिकृतमा राष्ट्रिय कर्मचारी संगठन(राकस)कै मानबहादुर विकलाई सरुवा गरियो । विक अर्थमन्त्री महराका विद्यार्थी हुन् । भैरहवाको भन्सार अधिकृतमा सुरुमा माओवादी कर्मचारी संगठन राकसका केन्द्रीय उपाध्यक्ष धनबहादुर बरुवाललाई सरुवा गर्ने निश्चित भएको भए पनि मन्त्री महराले हस्तक्षेप गरी विकलाई सरुवा गराएका थिए । सुन तस्करीमा राजस्व अनुसन्धान विभागको सहयोग अपरिहार्य भएकाले राजस्व अनुसन्धान विभागमा अवसरवादी चरित्रका अनुसन्धान अधिकृत अर्जुन थापालाई जिम्मा दिइयो । निजामती सेवा ऐन नियमविपरीत ६ बर्षदेखि विभागमा कार्यरत अनुसन्धान अधिकृत थापाको गएको असोजमा आन्तरिक राजस्व विभाग अन्तर्गत   सरुवा भए पनि नेत्र पौडेल र निर्मल महराले रद्द गराएको खुलासा भएको छ । विभागका महानिर्देशक निर्मलहरि अधिकारीलाई अर्जुन थापाले नचाइरहेका छन् । अधिकारी सोझा सहसचिवमा गनिन्छन् । २०५९ मा तत्कालीन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायले राजस्व समूहका २२ भ्रष्ट कर्मचारी पक्राउ गरेका थिए । तिनै २२ भाइमध्येका हुन् अधिकृत अर्जुन थापा । उनीविरुद्ध सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । १५ बर्षदेखि अदालतका फाँटवालालाई प्रभावमा पार्दै उनले पेशी सार्दै राजस्व अनुसन्धानमा बसी अवैध सुन ओसारपसार गरी करोडौं रुपैयाँ थप आर्जन गरेका छन् । त्यसरी आर्जित रकम रकम उनले जेठान विमलसिंह थापामार्फत् न्यूरोडका ब्यापारी जगदिश श्रेष्ठ र योेगेश श्रेष्ठमार्फत् विभिन्न ब्यापारमा लगानी गरेको खुल्नमा आएको छ । जगदिश र योगेश हुन्डीदेखि सबै ब्यापारमा संलग्न छन् । राजस्वका अरु कर्मचारीको भ्रष्टाचारको रकम पनि अर्जुनले यिनै ब्यापारीमार्फत् लगानी गरेको दाबी स्रोतले गरेको छ ।   अर्जुन थापा माओवादी निकट कर्मचारी संगठनमा आवद्ध नभए पनि मन्त्री महराका पीए नेत्र पौडेल र निर्मल महराले उनलाई सुनको कारोबारमा आफ्नो समूहको खास विश्वासपात्र बनाएका छन् । राजस्व अनुसन्धान क्षेत्रीय कार्यालयमा राकसकै नेता अनुसन्धान अधिकृत चक्र ढुंगानालाई पठाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र रसुवागढी भन्सारमा मन्त्री महराको सेटिङमा खटाइएका कर्मचारीले सुन काठमाडौं भित्र्याउने काम गर्दछन् । काठमाडौं भित्रिसकेपछि चितवनसम्म राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत अर्जुन थापाले गर्दछन् भने चितवनबाट भैरहवा पु¥याउने काम बुटवल राजस्वका अनुसन्धान अधिकृत चक्र ढुंगानाले गर्दैआएका छन् । अनुसन्धान अधिकृतद्वय थापा र ढुंगानाले सुनको गाडी स्कर्टिङ नै गरी लाने गरेको स्रोतले बतायो । भैरहवाबाट सुनौलीतिर पास गराउने काम भन्सार प्रमुख भूपाल शाक्य र भन्सार अधिकृत मानवबहादुर विकले गर्दैआएका छन् । स्रोतका अनुसार अर्थमन्त्री महराले बनाएको तस्करीको जालोले महिनामा सयौं किलो सुन भारततर्फ लाने गरेको छ । यो सेटिङमा अर्जुन थापाबाहेक अरु सबै माओवादी कर्मचारी संगठनका नेता र विगतमा नेतृत्व गर्दै आएको माअ‍ोवादी निकट कर्मचारीहरु नै छन् । 

सुन तस्करीमा भन्सार कर्मचारीकै मिलेमतो:  गएको पुस २१ गते दुबईबाट अवैध रुपमा भित्रिएको ३३ किलो सुन भन्सार हाताबाट बाहिरिएपछि बरामद भएकाले तस्करीमा भन्सार कर्मचारी नै दोषी रहेको कुरा खुल्न थालेको छ । भन्सार कार्यालयले आफ्नो दोष नभएको भन्दै उक्त सुन आकाशबाट गौशालनजिक खसेजस्तो दलिल पेश गर्दैआएको छ । भन्सार कर्मचारीले अवैध रुपमा सुन भित्र्याउने गरेको खुल्दै गए पनि अर्थमन्त्री महराले अहिलेसम्म दोषी कर्मचारीदेखि भन्सार प्रशासकलाई विमानस्थलबाट तानेका छैनन् । जबकि सुन भित्रिएकै दिन भन्सार प्रशासक सापकोटालाई मन्त्रालयमा तानेर छानबिन गर्नुपर्ने थियो । अर्थमन्त्रालयका एक अधिकारी त भन्सार प्रशासकलाई निलम्बन नै गरी छानबिन गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, भन्सारका कर्मचारीको मिलेमतो देखिएपछि भन्सार प्रशासकलाई किन तानिएको छैन । भन्सारमा तोकआदेशका भरमा १० बर्षदेखि करारमा राखिएका एक्सरे टेक्निसियनहरु सुन तस्करीमा संलग्न रहेको एक जना पक्राउ र दुई जना निलम्बनपछि खुलिसकेको छ । दरबन्दी नै नभएका रेडियो टेक्निसियनलाई १५ बर्षदेखि सुन तस्करीकै लागि राखिएको छ । तथ्यांक अधिकृत श्रीनारायण यादव बीचमा केही महिना बाहेक १५ बर्षदेखि विमानस्थल भन्सारमै कार्यरत रहेको खुलेको छ । उनलाई निजामती सेवा ऐन अनुसार दुई दुई बर्षमा हुने सरुवाको प्रावधान किन लागू हुन सकेन ? १५ बर्षदेखि कार्यरत एक्सरे टेक्निसियन रहेका छन् । एक्सरे टेक्निसियनको जनशक्ति विकास गर्न भन्सार विभागले किन चासो दिएको छैन ? एक्सरे मेसिन विमानस्थल भन्सारको अगाडिपट्टि राखिएकोमा किन पछाडि लगेर राखियो ? यी र यस्ता यावत प्रश्नले पनि सुन तस्करीमा भन्सार कर्मचारीको मिलेमतोलाई उजागर गर्दछ ।   पुस २६ गते विमानस्थल भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव पक्राउ परेपछि भन्सार प्रशासक सापकोटाले कार्यालयमा प्रमुख भन्सार अधिकृत टंक पौडेल र केही एक्सरे टेक्निसियनलाई बोलाएर बैठक राखेका थिए । सो बैठकमा सुन तस्करीको घटनामा आआफू जोगिने तर अरुको नाम बयानमा नपोल्ने जस्ता बिषयमा छलफल गरेको खुल्नमा आएको छ ।

तस्करको योजनामा सुराकी भत्ता खारेज : अवैध सुन भित्रिने क्रम पछिल्ला दिनमा ब्यापक बढेको छ । सुन बरामद भएबापत १५ प्रतिशत सुराकी भत्ता दिने ब्यवस्था डेढ बर्षअघि भन्सार ऐन संशोधन गरी हटाइयो । त्यसपछि सुन तस्करी झन् ब्यापक बढेको स्रोतको दाबी छ । सुन तस्करकै योजनामा तत्कालीन अर्थमन्त्री डा.रामशरण महत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हालै बर्खास्त प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सुनमा सुराकी दिने ब्यवस्था हटाएका हुन् । सुराकी भत्ता १५ प्रतिशत दिने ब्यवस्था हुँदा सुन बोक्ने भरियाले पनि सुराकी दिने भएपछि तस्करकै डिजाइनमा यो ब्यवस्था हटाइएको थियो । सुन बरामद भएपछि सुराकी भत्ता हटाएर बढीमा ५ लाखसम्म दिने ब्यवस्था गरिएको थियो । त्यसपछि जीउज्यान जोखिममा राखेर सुन बरामद गर्न प्रहरीका युनिटहरु पनि लाग्न छाडे । फलस्वरुप सुन तस्करी ह्वात्तै बढ्यो । अवैध सुन खरिदका लागि ठूलो परिमाणमा अमेरिकी डलर हुन्डीबाट विदेशियो । र, राष्ट्रबैंकमा डलर अभाव हुन गएको हो । सुन तस्करीका लागि हुन्डीबाट डलर बाहिर पठाएर देशको अर्थतन्त्र नै खोक्रो पार्ने  काम तस्करहरुले गरेका छन् । यस्तो अक्षम्य अपराध गर्ने सुनतस्करबारे सरकारी निकाय जानकार भएर पनि केही गर्न सकेका छैनन् । भरिया समातेर बहादुरी देखाउने काम भएको छ । अवैध सुन ओसारपसारमा अन्तर्राष्ट्रिय गिरोह पनि संलग्न रहेको कुरा दुवई र हङकङ विमानस्थलबाट नेपालमा भित्रिएको घटनाले पुष्टी गरेको छ । काठमाडौंको खिचापोखरीदेखि चीनको ग्वाङझाउमा समेत कार्यालय रहेका विमल पोद्दारले अवैध रुपमा सुन ओसारपसारमा अन्तर्राष्ट्रिय च्यानल मिलाउने गरेको स्रोतले बतायो । स्रोतका अनुसार तिनै पोद्दारले नेपालबाट सुन खरिदका लागि अमेरिकी डलर हुन्डीमार्फत् दुवई र हङकङ लैजाने गरेका छन् ।

News source : drishtinews

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो सेमिफाइनल– भारत र न्यूजिल्याण्डबीच हुँदै
पहिलो सेमिफाइनल– भारत र न्यूजिल्याण्डबीच हुँदै
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
नयाँ समामुखका लागि दौड तिव्र, को होला प्रचण्ड र ओलीको रोजाईमा ?
नयाँ समामुखका लागि दौड तिव्र, को होला प्रचण्ड र ओलीको रोजाईमा ?
सत्तारुढ र प्रतिपक्षी नेता एकैसाथ किन शीतल निवासमा ?
सत्तारुढ र प्रतिपक्षी नेता एकैसाथ किन शीतल निवासमा ?
डडेल्धुराका ऐतिहासिक क्षेत्र ओझेलमा
डडेल्धुराका ऐतिहासिक क्षेत्र ओझेलमा
नेपालमा पर्यटन क्षेत्रको भविश्य
नेपालमा पर्यटन क्षेत्रको भविश्य
नेपाल रेल्वे कम्पनीमा खुल्यो जागिर, यी पदमा १२९ जनाको माग
७ गते उपत्यका बन्द गर्ने विप्लव माओवादीको घोषणा…
७ गते उपत्यका बन्द गर्ने विप्लव माओवादीको घोषणा…
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव