बझाङको चुनावी एजेन्डा : भारत र चीन जोड्ने ताक्लाकोट सडक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
बझाङको चुनावी एजेन्डा : भारत र चीन जोड्ने ताक्लाकोट सडक

सारांश

  • बझाङ , कात्तिक १५ – बझाङबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावी मैदानमा उत्रेका सबै उम्मेदवारहरुले बहुप्रतिक्षित चैनपुर–ताक्लाकोट सडकलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।
  • रेडियो र पत्रपत्रिकामा दिने अन्र्तवार्तादेखि लिएर आमसभालाई सम्बोधन गर्ने क्रममा पनि नेताहरुले आफूले जितेमा आफ्नै कार्यकाल भित्रै चैनपुर–ताक्लाकोट सडक निमार्ण गर्ने आश्वासन दिन थालेका छन् ।
  • चीन र भारतलाई सबैभन्दा नजिकको दूरीबाट जोड्ने त्रिदेशीय सडक मार्ग हो ।

बझाङ , कात्तिक १५ – बझाङबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावी मैदानमा उत्रेका सबै उम्मेदवारहरुले बहुप्रतिक्षित चैनपुर–ताक्लाकोट सडकलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।

रेडियो र पत्रपत्रिकामा दिने अन्र्तवार्तादेखि लिएर आमसभालाई सम्बोधन गर्ने क्रममा पनि नेताहरुले आफूले जितेमा आफ्नै कार्यकाल भित्रै चैनपुर–ताक्लाकोट सडक निमार्ण गर्ने आश्वासन दिन थालेका छन् ।

चीन र भारतलाई सबैभन्दा नजिकको दूरीबाट जोड्ने त्रिदेशीय सडक मार्ग हो ।  मुख्य चुनावी एजेन्डाको रुपमा ताक्लाकोट सडक निमार्णलाई अघि सारेका मुख्य प्रतिस्पर्धी दलहरुले सडकको यसअघि भएको बजेट विनियोजन पनि आआफ्नो दलले गरेको भन्दै त्यसको जस आफ्नो पार्टीलाई दिनु पर्ने जिकिर गर्दै आएका छन ।

‘हाम्रै पार्टीका रमेश लेखक यातायात मन्त्री भएको बेला ताक्लाकोट सडकको लागि ८० करोडको टेन्डर भएको हो’ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका पृथ्वीबहादुर सिंहले भन्नुभयो ‘बझाङी जनताले मलाई जिताए भने मेरै कार्यकालमा चैनपुरबाट तिब्बत सम्म गाडी गुडाएर छोड्ने छु’ उहाँले ताक्लाकोट सडक निमार्णको कार्य सम्पन्न भएपछि बझाङी जनता मात्र नभई सुदूरपश्चिम तथा ७ नम्बर प्रदेशका जनाताका  दुःखका दिन पनि समाप्त हुने र त्यो काम आफू र आफ्नो दलले मात्र गर्न सक्ने दाबी गरे ।

सरकारको कुनै प्राथमिकतामा नै नपरेको ताक्लाकोट सडकलाई आफ्नो पार्टीको सरकारले महत्व दिएकोले यसको जस एमालेलाई दिनु पर्ने वामगठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार भैरबबहादुर सिंहको दाबी छ । ‘प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री विण्णु पौडेल र अर्थ राज्य मन्त्री दामोदर भण्डारी रहेको बेला हामीले यो सडकलाई राष्ट्रिय प्राथमिकतामा राख्न दवाब दिएका थियौँ ।’ उहाँले भन्नुभयो, ‘वर्षाैदेखि निमार्णको काम सुस्त रहेको यस सडकमा त्यही सरकारले ४० करोड विनियोजन गरेको थियो । पछिका सरकारले यसलाई निरन्तरता मात्र दिएको उहाँको भनाई छ । उहाँले आफ्नो दलको सरकारले नै ताक्लाकोट सडक निमार्णको काम सुरुवात गरेकोले आफूले जितेमा मात्र निमार्ण कार्य छिटो पूरा हुने दाबी गर्नुभयो ।

सडक निमार्णपश्चात बझाङ मात्र नभएर सिंगो प्रदेश नम्बर ७ मा नै अकल्पनीय ढंगले पर्यटकहरुको चहलपहल बढ्ने र यसले सिंगो प्रदेशको समृद्धिको काम गर्ने सिंहको भनाई छ । यस्तै प्रदेशसभामा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरुले पनि बझाङीहरुको अन्तराष्ट्रिय सडकको सपना पूरा गर्नका लागि आफूहरुले ताक्लाकोट सडकलाई नै प्रमुख एजेन्डा बनाएको बताए । ‘म सभाषद र सांसद हुँदा पनि यो सडकमा रकम विनियोजन हुनु पर्छ भनेर धेरै पटक मन्त्रालयमा धाएकी छु’ नेपाली कांग्रेसबाट प्रदेश क की उम्मेदवार चन्द्रा जोशीले भनिन ‘मैले जितेमा मेरो मुख्यकाम भनेको पनि यो सडकको निमार्ण पूरा गर्नु नै हुनेछ’।

ताक्लाकोट सडक खुलेमा त्रिदेशीय व्यापारको ढोका खुल्ने र यसले व्यापार, पर्यटनलगायतका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने भएकोले आफूले पनि यो सडक निमार्ण गर्ने कुरालाई नै प्रमुख एजेन्डा बनाएको एमालेको तर्फबाट प्रदेश ‘क’ का उम्मेदवार अर्जुन थापाले बताए ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मुख्य प्रतिस्पर्धा रहेको यस जिल्लामा अन्य साना दलहरुले पनि ताक्लाकोट सडकलाई नै मुख्य एजेन्डाको रुपमा उठाएका छन् । अहिले चैनपुरदेखि रुवातोलासम्मको १८ किलोमिटर सडकलाई चौडा बनाउने र रुवातोलादेखि धुलीसम्मको ३२ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम भैरहेको छ । प्रदेश नम्बर ७ कै गौरवको रुपमा रहेको यस सडकको काम सुस्त गतिमा भैरहेको बारे प्रदेश तथा जिल्ला स्तरका विभिन्न मंचहरुमा कुरा उठ्ने गरेको छ ।

२०४७ सालदेखि नै बहसमा आएको ताक्लाकोटे सडक निमार्णको कुरा पछिल्लो समयमा प्रायः सबै राजनैतिक दलका चुनावी एजेन्डामा परेका छन् । सडक खुलेमा हिन्दु बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तिर्थस्थल कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटकको ओइरो लाग्ने र तिब्बतसँगको व्यापारका सम्भावनाहरु खुल्ने यहाँका जनताको आशाको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?