बम विस्फोट गराउने २७१ जना पक्राउ
सारांश
- गत साता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य उमेदवार रामशरण महतको हत्या प्रयासस्वरुप उनी चढेको गाडीलाई लक्षित गर्दै माइन बिस्फोट गराइयो ।
- महत चढेको गाडी छलिएका कारण उनका कार्यकर्ता चढेको गाडी माइनमा पर्यो ।
- गाडी उत्तानो गरी पल्टियो, ५ जना कार्यकर्ता घाइते भए ।
गत साता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य उमेदवार रामशरण महतको हत्या प्रयासस्वरुप उनी चढेको गाडीलाई लक्षित गर्दै माइन बिस्फोट गराइयो । महत चढेको गाडी छलिएका कारण उनका कार्यकर्ता चढेको गाडी माइनमा पर्यो । गाडी उत्तानो गरी पल्टियो, ५ जना कार्यकर्ता घाइते भए ।
सोहीदिन सभामुख ओनसरी घर्तीलाई लक्षित गर्दै रोल्पामा अर्को बम विस्फोट गराइयो ।
कांग्रेसका नेता रामचन्द्र पौडेलको गाडीमा बम विस्फोट गराइयो । रौतहटमा गराइएको बम विस्फोटमा ७ वर्षका बालक घाइते भए ।
भोजपुरमा नेकपा एमालेका नेता शेरधन राई चढेको गाडीमा बम विस्फोट गराइयो । हिमाल, पहाड, तराई, पूर्वदेखि पश्चिमसम्म अहिले उमेदवारलाई लक्षित गर्दै लगातार बम विस्फोट भएको छ ।
लगातार बम विस्फोट हुँदासमेत कसले विस्फोट गराएको भन्ने बारेमा अहिलेसम्म आधिकारिक धारणा सरकारले सार्वजनिक गर्न सकेको छैन ।
चुनावको मुखैमा उमेदवार लक्षित लगातार विस्फोट गराउने समूह भन्दै प्रहरीले अहिलेसम्म २७१ जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये धेरैजसो विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता रहेका छन् ।
लगातार उमेदवारलाई नै लक्षित गरेपछि गृह मन्त्रालयले पनि सुरक्षा निकायलाई यसरी विस्फोट गराउने, जनताको जिउधनको क्षति पुर्याउने क्रियाकलाप गर्दै गरेको भेटिएमा गोली चलाउनसमेत आदेश दिएको छ ।
प्रहरीले अहिलेसम्म यसरी विस्फोट गराउने समूह विप्लव नेतृत्वको नेकपा माओवादी नै भएको आशंका गरेको छ ।
त्यसैले विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई निगरानीमा राखेको प्रहरीले जनाएको छ ।
“राजनीतिक उद्देश्य हो भने त्यसका पनि आफ्नै मूल्य र मान्यता होलान्, तर कसैको जिउधनको क्षति हुनेगरी यस्तो गतिविधि गर्न पाइँदैन, यो आपराधिक गतिविधि हो,” नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले भने, “चुनाव नचाहेको विप्लव नेतृत्वले राजनीतिक उद्देश्यका साथ आफ्ना माग राख्न पाउँछ तर देश निर्वाचनमा होमिएका बेला चुनाव विरोधी गतिविधि गर्ने तथा अरुको जिउधनको क्षति पुर्याउने काम गर्न पाउँदैन । यस्तो गतिविधिमा संलग्नलाई हामीले पक्राउ पनि गरिसकेका छौं ।”
२७१ जना पक्राउ
चुनाव विरोधी गविविधि गर्ने २ सय ७१ जना विप्लव माओवादीका नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् । त्यसैगरी विभिन्न हातहतियार तथा विष्फोटक पदार्थसहित अन्य १० जना गरी २ सय ७१ जना पक्राउ परेको प्रहरी प्रवक्ता डीआईजी न्यौपानेले बताए ।
त्यसैगरी ६ नम्बर प्रदेशको सुर्खेत र छिन्चुमा पनि विप्लव माओवादीका कार्यकर्ता ठूलो परिमाणमा बम बनाउने उपकरणसहित पक्राउ परेका छन् ।
यसरी लुकिछिपी उमेदवारलक्षित बम विस्फोट गराउने विप्लव नेतृत्वकै माओवादी भएको सुरक्षा निकायको निष्कर्ष छ ।
प्रहरी प्रवक्ता मनोज न्यौपाने भन्छन्, “गतिविधि हेर्दा विप्लव नेतृत्वको माओवादीकै नेता कार्यकर्ताको हात रहेको देखिन्छ ।”
प्रतिक्रिया