बाढीपहिरो पीडितका लागि सहयोग संकलन गर्दै राष्ट्रिय जनमोर्चा
सारांश
- काठमाडौं, १९ असार ।
- राष्ट्रिय जनमोर्चाले वर्षा मौसममा बाढी वा पहिरोबाट पुग्ने क्षतिको लागि राहत वितरण गर्नका लागि सहयोग संकलन कार्यक्रम अगाडि बढाएको छ ।
- अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा देशभित्र, प्रवास वा विदेशमा भएका सबै नेपालीहरुसित सहायता संकलन गरी पार्टीको केन्द्रीय कार्यालयमा पठाउन आफ्ना तल्ला निकायहरुलाई अनुरोध गरिएको छ ।
काठमाडौं, १९ असार । राष्ट्रिय जनमोर्चाले वर्षा मौसममा बाढी वा पहिरोबाट पुग्ने क्षतिको लागि राहत वितरण गर्नका लागि सहयोग संकलन कार्यक्रम अगाडि बढाएको छ । अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा देशभित्र, प्रवास वा विदेशमा भएका सबै नेपालीहरुसित सहायता संकलन गरी पार्टीको केन्द्रीय कार्यालयमा पठाउन आफ्ना तल्ला निकायहरुलाई अनुरोध गरिएको छ ।
“वर्षा बढ्नुका साथै जनधनको धेरै नै क्षति पुग्ने सम्भावना छ”, विज्ञप्तिमा भनिएको छ, “त्यसरी देशभित्र वा बाहिरका विभिन्न स्थानहरुबाट आउने सहायताबाट बाढी र पहिरोबाट पीडित जनतालाई केही सहायता पुग्यो भने पनि त्यो खुसीको कुरा हुनेछ । हामीले उक्त रकमको संकलनका लागि बेग्लै विपद व्यवस्थापन कोषको निर्माण गरेका छौं । उक्त कोषमा सिधै र शीघ्र बढीभन्दा बढी सहयोग रकम पठाउन हामीले सबै शुभेच्छुकहरुसित अपील गर्दछौं ।”
नेपालमा आएको वर्षा, बाढी र पहिरोबाट पहाड र तराईमा समेत ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको बताउँदै बाढी पहिरोबाट निधन भएका सबै व्यक्तिहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । क्षतिग्रस्त स्थानहरुमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गर्न सरकार, प्रशासन र सबै तहका स्थानीय निकायहरुसित माग पनि गरिएको छ । प्रकोप वा विपत्तिका लागि पूर्व सतर्कता अपनाउन र त्यसको व्यवस्था गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।
गत वर्षहरुमा भूकम्प, बाढी, पहिरो वा आगलागीबाट भएको जनधनको क्षतिमा पार्टीले देशका विभिन्न भागहरुमा पीडित जनतालाई राहत वितरण गरेको उल्लेख गर्दै त्यतिबेला देशभित्र र भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुले ठूलो मात्रामा सहयोग पु¥याएको उल्लेख गरिएको छ । गत वर्षहरुहरुमा करिब ८१ लाख बराबरको राहत वितरण गरेको उल्लेख गर्दै छिटै त्यसको पुस्तिका प्रकाशित गरेर हिसाबको विवरण सार्वजनिक गर्ने योजना बनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया