बाबुरामलाई छाडेर गंगा चौधरी सुटुक्क एमालेमा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
३९ पटक हेरिएको
Shares
बाबुरामलाई छाडेर गंगा चौधरी सुटुक्क एमालेमा !

सारांश

  • १९ कात्तिक, काठमाडौं ।
  • पूर्वसभासद गंगा चौधरी सत्गौवाको नाम एमालेको बन्दसूचीमा परेको छ ।
  • रोचक त के छ भने उनको नाम नयाँ शक्ति पार्टीको बन्दसूचीमा पनि छ ।

१९ कात्तिक, काठमाडौं । पूर्वसभासद गंगा चौधरी सत्गौवाको नाम एमालेको बन्दसूचीमा परेको छ । रोचक त के छ भने उनको नाम नयाँ शक्ति पार्टीको बन्दसूचीमा पनि छ । एकै व्यक्तिको नाम दुईवटा दलको समानुपातिक सूचीमा परेपछि मानिसहरुले प्रश्न उठाएका छन्- गंगा चौधरी नयाँशक्ति पार्टीकी नेतृ हुन् कि एमाले ?

थरुहट तराई पार्टीका तर्फबाट दोस्रो संविधानसभामा सभासद बनेकी गंगा केही समयअघि तामझामका साथ डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनी दाङ, कैलालीलगायतका जिल्लामा डा. भट्टराईसँगै पार्टीको कार्यक्रममा हिँडिन् । बाबुराम भट्टराईको फेसबुकमा अपलोड गरिएका तस्वीरहरुमा गंगा चौधरी पनि बाक्लै देखिन्थिन् ।

तर, जब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तिथि नजिकियो, गंगाले एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ, वामदेव गौतम र केपी ओलीसँग सुटुक्कै भेटघाट गरिन् । एमाले नेताहरुसँग उनले एमालेका तर्फबाट समानुपातिक सांसद बनाइदिन आग्रह गरिन् ।

अन्ततः एमालेले नयाँशक्तिकी नेतृ गंगा चौधरी सत्गौवालाई कुनै होहल्ला नगरिकन आफ्नो पार्टीको समानुपातिक सूचीमा राख्यो । उनलाई एमालेले थारु क्लष्टरको तेस्रो नम्बरमा राखेको छ, जसले गर्दा उनी सांसद बन्ने लगभग पक्का भएको छ ।

आफ्नो पार्टीमा प्रवेश गरिसकेकी गंगाले एमालेसँग भित्री साँठगाँठ गरेको डा. भट्टराईले पत्तै पाएनन् । यही कारण नयाँ शक्ति पार्टीले पनि समानुपातिकको सूचीमा गंगा चौधरी सत्गौवाको चढायो र निर्वाचन आयोगमा सूची बुझायो ।

गंगा भन्छिन्- म बाम गठबन्धनमा, बाबुरामजी लोकतान्त्रिकमा

तपाईको नाम एमाले र नयाँ शक्ति दुबै पार्टीको सूचीमा रहेछ, किन यस्तो ?  पूर्वसांसद गंगाले भनिन्- ‘मैले नयाँशक्ति पार्टीको सूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगमा निवेदन दिइसकेकी छु, शायद भोलि गोरखापत्रमा मेरो नाम प्रकाशित हुन्छ होला ।’

आफू नयाँ शक्ति पार्टीबाट वाम गठबन्धनका रुपमा एमालेको समानुपातिक सूचीमा बसेको चौधरीको दाबी छ । उनले भनिन्-‘बाबुरामजी पनि वाम गठबन्धनमा आउनुभएको थियो, त्यही भएर म पनि समानुपातिक सूचीमा गएँ, एकछिन जाने र एकछिनमा निस्कने गर्दा राम्रो हुँदैन ।’

आफूले नयाँशक्ति पार्टीबाट प्रत्यक्षतर्फको चुनाव लड्न चाहेको गंगाले अनलाइनखबरलाई बताइन् । ‘मैले दाङ १ बाट प्रत्यक्ष चुनाव लड्छु भनेर बाबुरामजीलाई भनेकी थिएँ, तर नदिएकोमा चित्त दुःखेको छ ।’

नयाँ शक्तिको समानुपातिक सूचीमा आफूलाई राखे पनि त्यहाँबाट सांसद भन्ने निश्चित नरहेकाले आफूले एमाले रोजेको उनले बताइन् ।

चौधरीले अनलाइनखबरसँग भनिन्- ‘नयाँ शक्तिको ३ प्रतिशत भोट नै आउँछ कि आउँदैन भन्ने ठेगान छैन, अनि त्यहाँ बसेर मात्रै कसरी सांसद भइन्छ ?’

उनले यो पनि भनिन्- ‘म थरुहट आन्दोलनमा लाग्नुभन्दा पहिले पनि एमाले नै थिएँ, अहिले बाबुरामजी लोकतान्त्रिक गठबन्धनतिर जानुभो, मचाँहि वाम गठबन्धनतिर लागें ।’ अनलाइनखबर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?