बालककाे हत्या गरेपछि १० लाख रुपैयाँ फिरौती !
सारांश
- बारा, २९ असाेज।
- २५ असोज २०७५।
- बारा सिम्रौनगढ नयकाटोलका धनेश्वर यादव अघिल्लो दिनदेखि छोरो हराएकाले तनावमा थिए।
बारा, २९ असाेज। २५ असोज २०७५। बारा सिम्रौनगढ नयकाटोलका धनेश्वर यादव अघिल्लो दिनदेखि छोरो हराएकाले तनावमा थिए। २४ असोजमा मेला हेर्न गएको गोलु कहीँकतै भेटिएका थिएनन्। केही समय अघिमात्र वैदेशिक रोजगारीबाट फर्किएका धनेश्वर के गर्ने? के नगर्ने अन्यौलमा थिए। धनेश्वरले २४ असोजको राती नै प्रहरीमा मौखिक उजुरी दिए। प्रहरी समेत धनेश्वरका ६ वर्षिय छोरा गोलु भन्ने दीपकप्रसाद यादवको खोजीमा जुटेको थियो। २५ असोजको बिहानै छोराको फोटोसहित निवेदन दिएर घर फर्किंदै थिए। बिहान ९ बजेर ४० मिनेटमा उनको मोबाइलमा अपरचित नम्बरबाट फोन आयो।
फोन गर्नेले अरु केही कुरा गरेनन्। ‘गोलू हाम्रो नियन्त्रणमा छ। हामीले उसलाई मोतीहारीमा सुरक्षित राखेका छौं। छोराको ज्यानको माया भए १० लाख रुपैयाँ फिरौती लिएर आइज। प्रहरीमा गए ज्यान जान सक्छ।’ याे सूचनापछि उनी छाेराकाे अपहरण भएकाे निष्कर्षमा पुगे। धनेश्वरलाई बारा प्रहरीले यसअघि नै सिकाएको थियोः केही त्यस्तो सूचना आए आफू प्रहरी कार्यालय आइरहनु पर्दैन। फोनबाटै प्रहरीमा जानकारी दिए हुन्छ।
प्रहरीले उनलाई आफू सामान्य अवस्थामा रहन र पाएको जानकारी सुरक्षित राख्न सिकाएको थियो। धनेश्वरले प्रहरीले भने बमोजिम गरे। उनले आफूलाई फोन आएको नम्बर र विवरण उपलब्ध गराए। प्रहरी कार्यालय गएनन्। जिल्ला प्रहरी कार्यालयले तत्कालै धनेश्वरलाई फोन गर्ने मोबाइल नम्बर धनी पत्ता लगायो। त्यो नम्बर कलैया बजारका एक जना व्यवसायीको थियो। उनी तत्कालै पक्राउ परे। आफूलै एकैपटक ५ वटा नम्बर लिएको र एउटा सिम्रौनगढका हरेन्द्रकुमार कुशवाहलाई दिएको प्रहरी बयानबाट खुल्याे। अनुसन्धानमा सिम कार्ड अनाधिकृत बेचबिखन बाहेक घटनामा ती व्यापारीको संलग्नता खुल्न सकेन। उनले स्मार्ट टेलिकमको सिम आफूले लिएर महँगोमा बेच्ने गरेको बयान दिए।
प्रहरी टोलीले हरेन्द्रकुमारका बिषयमा धनेश्वरसँग सोधपुछ गर्यो। प्रहरीले कुरा खोत्लदै जाँदा हरेन्द्रले धनेश्वरसँग २ लाख रुपैयाँ सापटी मागेको र नदिएको बिषय समेत खुल्यो। यस्तै रकम सापटी नदिएको बिषयमा दुवैबीच विवाद समेत भएकाे बाहिर आयो। प्रहरीले २७ असोजमा हरेन्द्र र उनका साथ रहेका श्याम बैठालाई नियन्त्रणमा लिएर अपहरित बालकको बिषयमा सोधपुछ थाल्यो। प्रहरीको प्रारम्भिक सोधपुछमा दुवैले आफूहरुलाई धनेश्वरले फसाउन खोजेको भन्दै केही बताएनन्। यसैबीच प्रहरीले सिम दिने ब्यक्तिलाई उनीहरुका सामु उभ्यायाे। त्यसपछि भने उनीहरूसँग तथ्यगत प्रतिरक्षा गर्ने अरू साधन बाँकी रहेन।
‘पीडित र पीडक छिमेकी भएको र दुवैबीच रकम सापटीका बिषयमा विवाद भएको खुलेको थियो। घटनामा प्रयोग भएको मोबाइलले अनुसन्धानमा सहयोग पुग्यो,’ बारा जिप्रकाका डिएसपी रञ्जितसिंह राठौरले भने।
पहिला हत्या पछि फिरौती माग
बालककाे अपहरणपछि हत्या गर्ने हरेन्द्र र श्याम
प्रहरी अनुसन्धानमा अपहरणमा संलग्न हरेन्द्र र श्यामले गोलुलाई फकाएर लगेको थिए। छिमेकमा रहेका हरेन्द्र र श्यामलार्इ गाेलूले अंकल भन्थे। अंकलसँग जान उनले कुनै आनकानी गरेनन्। दुवैले गोलुलाई केरी पर लगेपछि हातखुट्टा बाँधेर राखे। तर बालक कराउन थालेपछि हरेन्द्रले घाँटी थिचेर बालकको हत्या गरेका थिए। उनीहरुले २४ असोजको अपरान्ह अपहरण लगत्तै बाँही जंगलमा पुर्याएका थिए। त्यहीँ उनको हत्या गरी शब जंगलमै फालेर दुबैजना घर फर्के। अर्को दिन श्यामले धनेश्वरलाई फिरौतीका लागि फोन गरे।
‘बालकको हत्यापछिका दुई दिन दुवै सामान्य अवस्थामा गाउँमै डुलेर बसेका थिए। हत्यापछि रकम असुल्ने योजना बनाएको देखिन्छ, हत्या ब्यक्तिगत रिसिइवीको कारण भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ राठौरले भने। प्रहरीले २७ असोजको राती नौ बजे नियन्त्रणमा लिएका हरेन्द्र र श्यामलाई साथमै लिएर गोलुको शब बरामद गरेको थियो। पक्राउ परेका दुबैबिरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया