बौद्ध धर्मको उद्गमस्थल नेपाल भएकोमा कुनै विवाद छैन : परराष्ट्र मन्त्रालय
सारांश
- भारतीय विदेशमन्त्री एस.
- जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा मागेपछि मन्त्रालयले जवाफ दिएको छ ।
- आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा मागेपछि मन्त्रालयले जवाफ दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको सर्वत्र प्रमाणित भइसकेको उल्लेख गरिएको छ । बुद्धको जन्म लुम्बिनीमा भएको भन्ने ऐतिहासिक र पुरातात्विक तथ्यहरु समेत रहेको र बौद्ध धर्मको उद्गम नेपाल रहेको भन्नेमा आशंका नरहेको उल्लेख गर्दै मन्त्राललयले लुम्बिनीलाई युनेस्कोले समेत विश्व सम्पदा सूचिमा सूचिकृत गरिसकेको भनेको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी भएको तथ्यलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले पनि स्वीकारी गरेको मन्त्रालयले विज्ञप्तिमा स्मरण गराएको छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीले नेपालको संसदमा बोल्दै बुद्ध जन्मभूमिले नेपालले विश्वमा शान्ति फैलाउन प्रेरित गरेको भाषण गरेको पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यसैले पनि नेपाल गौतम बुद्धको जन्मभूमि र बौद्ध धर्मको उद्गमस्थल भएकोमा सम्पुर्ण विश्व जगत नै सचेत भएको भन्दै मन्त्रालयले यो विषय आशंका र विवादको विषय नै नभएको भनेको छ ।

प्रतिक्रिया