भाँडा बनाउन कालिगढ अभाव भएपिछ व्यापार व्यवसाय फस्टाउन सकेन
सारांश
- प्यूठान, २९ ।
- जिल्लामा कालिगढको अभाव भएको छ ।
- युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै कालिगढको अभाव भएको हो ।
प्यूठान, २९ । जिल्लामा कालिगढको अभाव भएको छ । युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै कालिगढको अभाव भएको हो ।घरेलु उद्योगमा कालिगढ अभावका कारण व्यापार व्यवसाय फस्टाउन सकेको छैन । तामाका भाँडा बनाउने व्यवसाय कालिगढ अभावमा सङ्कटमा छ । सो व्यसायलाई हेलाको दृष्टिले हेर्ने गरिएको छ । अहिले जिल्लाका तीन ठाउँमा मात्र तामाका भाँडा बनाउने गरेको भेटिन्छ । दाखाक्वाडी, बिजुवार जुम्री र बाग्दुलामा तामाका भाँडा बनाइन्छ । प्यूठानबाट यहाँ आई पुराना तामाका भाँडा खरीद गरेर व्यवसाय थालेको गुमानसिंह सुनार बताए । उनी विगत २५ वर्षदेखि जुम्रीमा तामाका भाँडा बनाउँदै आएका छन् । “यो पेशा लोप हुने अवस्थामा पुगेको छ,” उनले भने ।
कालिगढसँगै लगानीको समस्या भएको सुनारले बताएका छन्। विगतमा छ÷सात जनालाई रोजगार दिएपनि हाल उनीहरु विदेश पलायन भएका छन् । उनलाई अहिले श्रीमती प्रेमकला र छोरा एकराजले सघाउँदै आएका छन् ।“मासिक रु २० हजारसम्म आम्दानी हुन्छ,” सुनारले भन्नुभयो, “वार्षिक रु पाँच लाखसम्मको कारोवार हुन्छ ।”जिल्लाको दाखाक्वाडीमा यही पेशा गर्दै आउनुभएका लिलाबहादुर टमटालाई पनि सुनारको जस्तै समस्या र चिन्ता छ । “कालिगढको अभावले माग धान्न सकेको छैन,” उहाँले भन्नुभयो । विसं २०६८ देखि व्यवसाय थाल्नुभएका टमटाले रातदिन काम गर्दा पनि माग पुरा गर्न नसकेको बताएका छन् । उनको उद्योगमा चार जनाले रोजगारी पाउनुभएको छ । “बजारमा माग बढ्दो छ,” उनले भनै, “आफ्नै छोरा नातिले पनि यो पेशा गर्दैनन् ।”
टमटाले वार्षिक करीब रु १४ लाखसम्मको कारोवार गर्दै आउनुभएको छ । कामदारले मासिक रु १२ हजारदेखि रु १८ हजारसम्म ज्याला पाउने गरेका छन् । पेशा सङ्कटमा पर्दै गएको उनले बताए । गाउँघरमा खरीद गरिएका पुराना भाँडाले नै माग धानिरहेको टमटाले बताएका छन् । उनले गाग्री, ताउला, अमखोरा, माना, पाथी, परादलगायत भाँडा बनाउ छन् ।
प्रतिक्रिया