मधेश आन्दोलनको भिडियो देखाउन खोज्दा रौतहटमा फोरम र सुरक्षाकर्मीबीच झडप, चार घाइते, दुईको अवस्था गम्भीर
सारांश
- वीरगंज : रौतहटको महम्दपुरमा बिहीबार राति स्थानीय र प्रहरी बीच झडप हुँदा चार जना घाइते भएका छन्।
- संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा ३ (ख) का उम्मेदवार बृजकिशोर यादवका समर्थकहरुले चुनावी प्रचारप्रसारको क्रममा मधेश आन्दोलन सम्बन्धी डकुमेन्ट्री गाउँमा देखाउन देखाउन खोज्दा प्रहरीले अवरोध गरेपछि भएको झडपमा चार जना घाइते भएका हुन्।
- घटना भएको रौतहटको क्षेत्र नं ३ मा पर्ने गरुडा नगरपालिका वडा नं ५ उम्मेदवार यादवको पकड क्षेत्र हो।
![]()
वीरगंज : रौतहटको महम्दपुरमा बिहीबार राति स्थानीय र प्रहरी बीच झडप हुँदा चार जना घाइते भएका छन्।
संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा ३ (ख) का उम्मेदवार बृजकिशोर यादवका समर्थकहरुले चुनावी प्रचारप्रसारको क्रममा मधेश आन्दोलन सम्बन्धी डकुमेन्ट्री गाउँमा देखाउन देखाउन खोज्दा प्रहरीले अवरोध गरेपछि भएको झडपमा चार जना घाइते भएका हुन्।
घटना भएको रौतहटको क्षेत्र नं ३ मा पर्ने गरुडा नगरपालिका वडा नं ५ उम्मेदवार यादवको पकड क्षेत्र हो। सो क्षेत्रमा मधेस आन्दोलनमा प्रहरीले ज्यादति गरेको, गोली चलाएको, आन्दोलनका क्रममा मारिएका व्यक्तिको परिवार रोएको आदि दृश्य रहेको डकुमेन्ट्री देखाउने तयारी गरिरहेको थाहा पाएपछि रौतहट प्रहरी त्यसलाई रोक्न गाउँ पुगेको थियो।
उम्मेदवार यादवको पकड क्षेत्र भएकोले स्थानीय र प्रहरीबीच झडप हुन पुगेको थियो। झडपका क्रममा महम्मदपुरका प्रमोद दास, सुखल राय यादव,रामविनोद यादव,लक्ष्मी साह घाइते छन्। उनीहरु प्रहरीले लाठीचार्ज गर्दा टाउकोमा चोट लागेको छ। चार जना मध्ये प्रमोद र सुखलको अवस्था गम्भीर छ। यी दुबैको उपचार गरुडा अस्पतालमा भइरहेको छ भन्ने बाँकी दुई जनाको उपचार चन्द्रनिगाहपुरमा भइरहेको स्थानीय राजकुमार दास तात्वाले बताए।
झडप बढ्न थालेपछि प्रहरीले ५० राउन्ड अश्रुग्यास तथा २० राउन्ड हवाई फायरसमेत गरेको तात्वा दावी गर्छन्। तर इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्दा थापाले भने हवाई फायर नगरिएको बताए। उनका अनुसार आन्दोलनका विभत्स भिडियो देखाउन निर्वाचन आचार संहिताविरुद्ध भएकोले प्रहरीले रोक्न खोज्दा अवरोध गरिएपछि बल प्रयोग गरिएको थियो।
यो विषयमा बुझ्न रौतहटमा प्रमुख जिल्ला अधिकारी उद्दवबहादुर थापालाई पहिलोपोस्टले सम्पर्क गर्दा उनले हेलो हेलो भन्दै फोन काटे। एसपी यज्ञविनोद अधिकारीलाई फोन गर्दा एक प्रहरीले फोन उठाई ‘सर अहिले व्यस्त हुनुहुन्छ, पछि गर्नुस्’ भने। पछि उनको फोन उठेन।
रौतहटका डिएसपी रामकुमार दानीले भने गोली चलेको हो तर के कति भन्ने विस्तृत जानकारी आउन बाँकी रहेको बताए।
प्रतिक्रिया