मलेसिया गएका विनोद सोह्र वर्षदेखि सम्पर्कविहीन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०८०
|
|
१९ पटक हेरिएको
Shares
मलेसिया गएका विनोद सोह्र वर्षदेखि सम्पर्कविहीन

सारांश

  • झापा।
  • वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया भएका अर्जुनधारा-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन्।
  • उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए।

झापा। वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया भएका अर्जुनधारा-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन्। उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए।

“२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, “अहिले ४२ वर्ष उमेरको भयो। कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन।” उनी मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा थिए।

विनोदका दुई भाइ र दुई बहिनी छन्। माइला भाइ भीम घरमा आमा-बुबाको हेरचाह गरेर बसेका छन् भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा छन्। दुईजना बहिनी रुमा र लीलाको बिवाह भइसकेको छ।

विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै छन्। “१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन”, उनले भने।

सुकमायाले ९० हजार ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाडौंको मेनपावरबाट मलेसिया पठाएको बताइन्। उनले मलेसिया गएपछि विनोदले ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप २० हजार पठाएको बताइन्।

आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गरेकी छन्। स्थानीय हरिचन्द्र राउतले नौ वर्षअघि मलेसियामा विनोदसँग भेट भएको बताएका छन्र। त्यसबेला विनोदले पेनाङस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफूलाई बताएको हरिचन्द्रले बताए।

मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो। उनीहरुको खाना खाने ठाउँ एउटै थियो। विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताए। अवधि पुगेर हरिचन्द्र स्वदेश फर्किए।

विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए भन्ने बारेमा उनका बुबा र आमाले बताउन सकेनन्। तर, मेनपावर कम्पनीसम्म पुर्‍याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?