महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
सारांश
- श्रावण ५, २०७४- २०६७ सालयता महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनेकी छन् ।
- राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार सम्पन्न राष्ट्रिय टिम तयारी छनोटमा नाताले भाउजु नवितालाई पराजित गर्दै एलिनाले शीर्षस्थान कब्जा गरेकी हुन् ।
- ‘बेस्ट अफ फाइभ’ को आधारमा भएको प्रतिस्पर्धामा एलिनाले ३–२ को जित हात पारेकी थिइन् ।
श्रावण ५, २०७४- २०६७ सालयता महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनेकी छन् ।
राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार सम्पन्न राष्ट्रिय टिम तयारी छनोटमा नाताले भाउजु नवितालाई पराजित गर्दै एलिनाले शीर्षस्थान कब्जा गरेकी हुन् । ‘बेस्ट अफ फाइभ’ को आधारमा भएको प्रतिस्पर्धामा एलिनाले ३–२ को जित हात पारेकी थिइन् ।
पहिलो सेटबाटै पछाडि परेपछि नविताले नतिजा उल्टाउन सकिनन् ।
‘नविताको स्तर घटेको होइन, उनले आफ्नै स्तरमा खेलेकी थिइन्,’ राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भने, ‘एलिनाले एकदम राम्रो खेलिन् । उनको खेलको स्तर बढेको हो । उनले सुरुबाटै खेल नियन्त्रणमा राख्दै नवितालाई दबाब दिएकी थिइन् ।’ केही वर्षयता निरन्तर दोस्रो वरीयतामा रहँदै आएकी २३ वर्षीया एलिनाले निकै आक्रामक खेल पस्किएकी थिइन् ।
‘ट्रेनिङ राम्रो भएको थियो । त्यसैले मनोबल उच्च भयो । र कन्फिडेन्स भएर खेलें,’ नवितामाथि पहिलोपल्ट हात पारेको जितबारे एलिनाले भनिन्, ‘खेलको स्तरमा केही सुधार भएको महसुस भएको छ । अब निरन्तर राम्रो खेल्ने प्रयास गर्नेछु । स्तर वृद्धि गर्ने कोसिस गर्नेछु ।’ उनी पछिल्लोपल्ट पाँच महिनाअघि भएको विश्व च्याम्पियनसिपको छनोटमा नवितासँग ३–१ ले हारेकी थिइन् । उनी अखिल नेपाल टेलबटेनिस संघद्वारा आयोजित राष्ट्रिय प्रतियोगिताको तीनै संस्करणको फाइनल नवितासँग चुकेकी थिइन् ।
उनले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नवितासँगै सिलोङमा वुमेन्स डबल्समा कांस्य पदक जितेकी थिइन् । उनी साग, विश्व च्याम्पियनसिप, एसियाली खेलकुदमा दुई–दुईपल्ट सहभागी भएकी छन् । उनले एकपल्ट विश्व टिम टेबलटेनिस च्याम्पियनसिप पनि खेलेकी छन् ।
नविता २०६७ सालमा विराटनगरमा भएको ३३ औं राष्ट्रिय टेलबटेनिस च्याम्पियनसिपमार्फत् पहिलोपल्ट नम्बर एक भएकी थिइन् । त्यसयता वुमेन्स सिंगल्समा उनको अपराजित यात्रामा एलिनाले टुंग्याएकी हुन् । यसबीच नविताले नौ उपाधि जितेकी थिइन् ।
राष्ट्रिय टिम तयारी छनोटमा शीर्ष १६ र खुला प्रतिस्पर्धाबाट आएका चार गरी २० खेलाडी सहभागी थिए । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतिस्पर्धामा शतप्रतिशत (१९ जित) हात पार्दै एलिना नम्बर एक भएकी हुन् । एक खेलमात्र हारेकी नविता दोस्रो स्थानमा रहिन् । एलिना र नवितासँग हारेकी रविना महर्जन (१७ जित) तेस्रो वरीयतामा रहिन् । स्वेच्छा नेम्वाङ भने एलिना, नविता र रविनासँग पराजित भए पनि बाँकी १६ खेल जित्दै चौथो भइन् । सेलिशा खड्गी पाँचौं स्थानमा रहँदै राष्ट्रिय टिम तयारीमा पुरानै अनुहारलाई निरन्तरता दिइन् ।
प्रतिक्रिया