यसकारण नेपाली हवाई सेवा अझै युरोपियन युनियनको प्रतिबन्धमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
यसकारण नेपाली हवाई सेवा अझै युरोपियन युनियनको प्रतिबन्धमा

सारांश

  • युरोपेली संघ (ईयू)को हवाई प्रतिबन्ध सूचीमा नेपाल अझै रहिरहनुमा नेपाली हेलिकप्टरहरूको ’खराब रेकर्ड’ लाई उसले एउटा एउटा प्रमुख कारण मानेको नेपाली अधिकारीहरूले बताएका छन् ।
  • गत साता काठमाण्डूमा सम्पन्न एशिया–प्रशान्त क्षेत्रका हवाई नियामक निकायहरूको सम्मेलनको छेकोमा युरोपेली संघको उड्डयन सुरक्षा निकाय (ईएएसए) का कार्यकारी निर्देशक प्याट्रिक कीले नेपाली पक्षसँग सो कुरा राखेका थिए ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेल चाहिँ नियमित उडानतर्फ दुर्घटनाको दर उल्लेख्य रूपमा घटेकोमा हेलिकप्टर उडानमा रहेको सुरक्षा चुनौतीलाई बेग्लै रूपमा हेरिनुपर्ने बताउँछन् ।

युरोपेली संघ (ईयू)को हवाई प्रतिबन्ध सूचीमा नेपाल अझै रहिरहनुमा नेपाली हेलिकप्टरहरूको ’खराब रेकर्ड’ लाई उसले एउटा एउटा प्रमुख कारण मानेको नेपाली अधिकारीहरूले बताएका छन् । गत साता काठमाण्डूमा सम्पन्न एशिया–प्रशान्त क्षेत्रका हवाई नियामक निकायहरूको सम्मेलनको छेकोमा युरोपेली संघको उड्डयन सुरक्षा निकाय (ईएएसए) का कार्यकारी निर्देशक प्याट्रिक कीले नेपाली पक्षसँग सो कुरा राखेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेल चाहिँ नियमित उडानतर्फ दुर्घटनाको दर उल्लेख्य रूपमा घटेकोमा हेलिकप्टर उडानमा रहेको सुरक्षा चुनौतीलाई बेग्लै रूपमा हेरिनुपर्ने बताउँछन् । “हेलिकप्टर उडान नियमित वा मूलधारको हवाई यातायात होइन। तसर्थ हेलिकप्टर दुर्घटनालाई हाम्रो हकमा समेत त्यसैगरी हेरियोस् भन्ने हो,“ उनी भन्छन्।

प्राधिकरणले हालै सार्वजनिक गरेको उड्डयन सुरक्षा प्रतिवेदनमा नेपालमा १० वर्षमा वार्षिक औसतमा एकभन्दा कम अर्थात् ०.८ वटा हेलिकप्टर दुर्घटना भएको छ। हेलिकप्टर दुर्घटनामा गुमाउनेहरूको वार्षिक औसत संख्या पाँच छ । तर नियमित उडानमा दुर्घटनाको दर सन् २०१० को तुलनामा तीन गुणाले घटेको पाइएको छ।

“पाँच दशमलब सात टनभन्दा बढी तौलका जहाजको दुर्घटनालाई युरोपेली नागरिक उड्डयन निकाय लगायतले आफ्नो विवरणमा समेत राख्दैनन् र नेपालका हेलिकप्टरहरू त्योभन्दा कम तौलका हुन्,“ वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष पवित्र कार्की भन्छन्।

“नेपालको भौगोलिक अवस्थाले पछिल्ला वर्ष केही बढी हेलिकप्टर दुर्घटना भए पनि उनीहरूले यस्ता उडानको प्रकृति बुझ्दाबुझ्दै त्यसलाई समग्र नेपाली उडानमाथि प्रतिबन्ध लगाउने आधार मान्नुहुँदैन।’’

सन् २०१० यता मात्रै नेपालमा १३ वटा हेलिकप्टर दुर्घटना भएका थिए। चारवटा एउटा मात्र इन्जिन भएका साना विमान र १५ वटा नियमित उडानका विमान दुर्घटना भएका थिए।

सन् २०१६ मा कालीकोटमा भएको एयर काष्ठमण्डपको एउटा मात्र इन्जिन भएको यात्रुवाहक विमान दुर्घटना भएपछि नेपाल सरकारले त्यस्ता प्रकृतिका विमानलाई सामान ओसार्न (कार्गो) मात्र प्रयोग गर्न सकिने नियम बनाएको थियो। नियमित उडानतर्फ १० वर्षमा यात्रु बोकेका बेला १४ वटा र कार्गो बोकेका बेला एउटा विमान दुर्घटनामा परेका थिए।

नेपालमा हेलिकप्टर उडानहरू हिमाली उद्धार र उच्च भेगमा पारवहनजस्ता जटिल काममा प्रयोग हुनेगरेको व्यावहारिक पक्षलाई बेवास्ता गर्न नहुने नेपाली पक्षको तर्क छ । गतवर्ष पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित उड्डयन क्षेत्रका शीर्ष व्यक्तिहरूको समेत हेलिकप्टर दुर्घटनामै निधन भएकाले नेपालमाथिको प्रतिबन्ध फुकुवा पर धकेलिएको ठानिएको छ।

झन्डै छ महिना नेतृत्वविहीन भएपछि मन्त्रालय सम्हालेका योगेश भट्टराईले भदौ ९ गते आफ्नो प्राथमिकता सार्वजनिक गर्दै छ महिनाभित्र ईयूले राखेको सुरक्षासम्बन्धी महत्त्वपूर्ण चासो सम्बोधन गरिसक्ने बताएका छन्।

किन लागेको थियो प्रतिबन्ध?
सन् २०१० मा एकै वर्ष तीनवटा विमान दुर्घटना भएका थिए भने सन् २०११ मा एउटा र सन् २०१२ मा दुईवटा विमान दुर्घटना भएको पृष्ठभूमिमा त्यस्तो प्रतिबन्ध लागेको थियो।

ईयूले त्यस्तो प्रतिबन्ध लगाउँदा अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को प्रतिवेदनलाई आधार मानेको थियो। बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?