रवि लामिछानेले भने : मिशन ‘८४’मा हाम्रो जमानत जफत गर्ने काम गर्नुहोस्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
२८ पटक हेरिएको
Shares
रवि लामिछानेले भने : मिशन ‘८४’मा हाम्रो जमानत जफत गर्ने काम गर्नुहोस्

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको ४ वर्ष सदुपयोग गर्न पुराना सबै दललाई सचेत गराएका छन् ।
  • उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै सबै दलहरुलाई मिलेर सरकार चलाउन सुझाव दिएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको ४ वर्ष सदुपयोग गर्न पुराना सबै दललाई सचेत गराएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै सबै दलहरुलाई मिलेर सरकार चलाउन सुझाव दिएका हुन् ।

पुराना दललाई सहमतीय सरकार बनाउन अपिल गर्दै उनले आफ्नो पार्टीले प्रतिपक्षी मोर्चा सम्‍हाल्ने बताएका छन् ।

यस्तो छ लामिछानेको स्टाट्स
‘अबको ४ वर्ष तपाईंहरु सबै मिल्नूस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनूस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा ।’

उनले थप भनेका छन्,‘मिसन ८४ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईंको लागि त मिसन ८० नै छ त, मिसन ००७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त१ केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त, यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नूस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईं वाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनूस् ।’

उनले अबको ४ वर्ष काम गरेर देखाउन चुनौती समेत दिएका छन‍् । ‘बाँकी समय काम गरेर देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् ।’

४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्ने बताउँदै उनले लेखेका छन्, ‘तपाईंहरुसँग ४–४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनूस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर, कि तपाईंको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?