वातावरण प्रदुषणरहित बनाउन गिद्धकाे ठूलाे भुमिका !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
वातावरण प्रदुषणरहित बनाउन गिद्धकाे ठूलाे भुमिका !

सारांश

  • काठमाडौँ, १५ भदौ ।
  • गिद्ध आफैले शिकार नगरी केवल मरेका प्राणीको सिनो मात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण छ ।
  • तथ्याङ्कअनुसार एउटा गिद्धले औसत एक वर्षमा कम्तीमा १२० किग्रा सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्दछ ।

काठमाडौँ, १५ भदौ । गिद्ध आफैले शिकार नगरी केवल मरेका प्राणीको सिनो मात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण छ । तथ्याङ्कअनुसार एउटा गिद्धले औसत एक वर्षमा कम्तीमा १२० किग्रा सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्दछ । सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको सङ्ख्यामा हुने वृद्धिलाई समेत न्यूनीकरण गर्ने विज्ञको भनाइ छ ।

जसको परिणाम मानिसमा रेबिज, प्लेग, हैजा, आँऊ र झाडापखालाको माहामारी तथा पशुचौपायामा हुने एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगको महामारीबाट बच्नसमेत मद्दत पुग्ने नेपाल पक्षी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले बताए । पारिस्थितिकिय प्रणाली सन्तुलनमा गिद्धको भूमिका महत्वपूर्ण छ । गिद्ध आफ्नो आहारा खोजीका लागि सयौं किलोमिटर क्षेत्रसम्म उड्ने गर्छ । गिद्धलाई प्रकृतिको कुचिकार भनिन्छ । वन तथा वातावरण मन्त्रालयले शुरु गरेको ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ कार्यावन्यनमा गिद्ध र यसको संरक्षणमा भएका प्रयास सहयोगी बन्नसक्ने कार्यक्रम अधिकृत भुसालले बताए।

यही भदौ १६ गते दशौंँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवश नेपालका साथै संसारभर मनाइँदै छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस विकसित भई सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो । सो दिवसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सरोकारवाला सङ्घ संस्थासँगको सहकार्यमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने जनाएको छ । यस अवसरमा गिद्धको घना वासस्थान र आसपासका क्षेत्रमा स्थानीय समुदाय, सरकारी निकाय, संरक्षण संस्था र विद्यालयको साझेदारीमा विभिन्न कार्यक्रम गरिने विभागले जनाएको छ । नेपालले गिद्ध संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरी विभिन्न संस्थाको सहयोगमा वासस्थान संरक्षणसमेत गर्दै आएको छ ।

गिद्ध संरक्षणका चुनौती

सन् १९९० को दशकसम्म नेपाल सहित दक्षिण एशियामा उल्लेख्य पाइने गिद्धको संख्या अहिले घटेर लोपोन्मुख अवस्थामा पुगेको छ । नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानमा गरिएको वैज्ञानिक अनुसन्धानले गिद्धको सङ्ख्यामा ह्रास आउनुको प्रमुख कारण पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक’ औषधि भएको पुष्टि भएको छ । यसैलाई मध्यनजर गरी सरकारले सो औषधिलाई २०६३ साल जेठ २३ गतेदेखि पशु उपचारका लागि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए । हाल ४६ जिल्लामा गिद्धको वासस्थानलाई विषादीरहित घोषणा गरिएको छ ।

सङ्घले गरेको स्थलगत अध्ययनअनुसार सन् २००२ देखि २०११ सम्म गिद्धको सङ्ख्या ९१ प्रतिशतले घटेको देखिए पनि पछिल्लो समयमा गिद्धको सङ्ख्या हस दरमा कमी आइ स्थिर रहेको छ । अझै पनि गिद्ध संरक्षणमैत्री वातावरण बन्न नसक्दा संरक्षणमा चुनौती रहेको सङ्घका प्रमुख कार्यकारी अधिकृत इशाना थापाको भनाइ छ । आहारको खोजीमा टाढा टाढासम्म यात्रा गर्ने गिद्ध संरक्षणका लागि एक देशले मात्र काम गरेर सुनिश्चित नहुने भएकाले यसमा अन्तरदेशीय सहकार्यको खाँचो रहेको उनले बताए । विभागले गिद्ध संरक्षण गरी पर्यावरणीय सन्तुलन र वातावरणीय स्वस्थता कायम गर्न ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९—२०१३’ को सफल कार्यान्वयन पश्चात् दोस्रो पञ्चवर्षीय कार्ययोजना सन् २०१५–२०१९ लागू गरेको छ ।

कार्ययोजनाले गिद्धको सुरक्षित खाना र उपयुक्त वासस्थानको संरक्षणमार्फत गिद्धको सङ्ख्यामा वृद्धि गर्ने दिशामा कार्य गर्दै आएको विभागका सूचना अधिकारी रुपाखेतीले बताए । विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानो खैरो र लामो ठूँडे गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् ।

‘जटायु रेस्टुरेन्ट’ पर्यटकीय गन्तव्य बन्दै

लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा सर्वप्रथम सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा सञ्चालन गरिएको विश्वकै पहिलो ‘जटायु रेस्टुरेन्ट’ स्थापना गरिएको थियोे । लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई विषादीरहित आहार उपलब्ध गराइ संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका यस्ता रेस्टुरेन्ट पछिल्लो समयमा पर्यटकीय दृष्टिले आकर्षक बन्दै गएका छन् । जटायु रेस्टुरेन्टको स्थापनापछि गिद्धको सङ्ख्या बढेकोे जानकारी दिँदै नवलपरासी जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले पछिल्लो समयमा गिद्धका क्रियाकलाप हेर्न र अनुसन्धान गर्नसमेत पर्यटक आउने क्रम बढेको बताउँनुभयो ।

नवलपरासी ‘जटायु रेस्टुरेन्ट’को सफलतापछि रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजनौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको रामधुनीमा त्यस्ता रेस्टुरेन्ट स्थापना गरिएका छन् । जटायु रेष्टुरेन्टले एकातिर वृद्ध र छाडा चैपायाको रेखदेख गरी पशु कल्याणकारी र लोपोन्मुख गिद्ध बचाउने काम गरेका छन् । त्यस्तै वातावरण स्वच्छ राख्न, पर्या–पर्यटन प्रवद्र्धन र अनुसन्धान केन्द्रको रुपमा विकसित हुदैछन् । यसरी खोलिएका रेस्टुरेन्टमा गौरक्षा केन्द्र हुन्छन् जहाँ किसानबाट वृद्ध, अशक्त, बेकामी गाईवस्तु सङ्कलन गरी पालनपोषण गरिन्छ । रेस्टुरेन्टमा राखिएका गाईगोरुको प्राकृतिक मृत्युपश्चात् गिद्धको आहारका लागि निश्चित स्थानमा राखिन्छ । जहाँ गिद्ध आएर खान्छन् । त्यहाँ गिद्धको आनीबानी नजिकबाट लुकेर हेर्ने पर्यटक अवलोकन घर पनि बनाइएको हुन्छ ।

(भीष्मराज ओझा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर
नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक
माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक
दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
अव देशमा पाँच दल मात्रै राष्ट्रिय दल, विवेकशील र राप्रपा आउट
अव देशमा पाँच दल मात्रै राष्ट्रिय दल, विवेकशील र राप्रपा आउट
 प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै
 प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस
कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस
३३ किलो सुन काण्डलाई गुमनाम बनाउने चलखेल !
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा

तपाईंले छुटाउनुभयो कि?