विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन

सारांश

  • काठमाडौँ ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
  • साथै, मन्त्रालयले विदेशबाट फर्किएका नागरिकको अभिलेख मन्त्रालयमा दैनिक पठाउन निर्देशन जारी गरेको छ ।

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । साथै, मन्त्रालयले विदेशबाट फर्किएका नागरिकको अभिलेख मन्त्रालयमा दैनिक पठाउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन सबै स्थानीय तहलाई निर्देशन दिँदै जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय तहलाई आवश्यक समन्वय गर्न आग्रहसमेत गरेको छ । मन्त्रालयले आइतबार पत्राचार गर्दै ७५३ वटै स्थानीय तहका छ हजार ७४२ वटै वडामा विदेशबाट फर्किएका नागरिकको निगरानी, रेखदेख र सोको सङ्ख्यात्मक विवरण दैनिक रूपमा मन्त्रालयमा प्रतिवेदन पठाउन सबै प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन गरेको हो ।
कोरोना भाइरस सङ्क्रमण हुन नदिन मन्त्रालयले सामाजिक, सांस्कृतिक कार्यका लागि मठ, मन्दिर, गुम्बा, चर्च, पार्टी प्यालेस लगायतका सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुन नदिन सुझाएको छ । यसैगरी सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, जिम केन्द्र, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल र डान्सबारजस्ता भीडभाड हुने स्थान चैत मसान्तसम्म बन्द गराउन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।
सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार गरे÷नगरेको अनुगमन गरी सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, मानिसहरू जमघट हुने सार्वजनिक स्थानमा सरसफाइ गराउने, कार्यालय भवन तथा परिसरको नियमित रूपमा सरसफाइ गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । यस्तै कार्यालय परिसरमा अनिवार्य रूपमा सेनिटाइजर वा साबुन पानीले हात धुने पानीको व्यवस्था गर्न मन्त्रालयले ७५३ वटा स्थानीय तहलाई निर्देशन गरेको मन्त्रालयको विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्यले जानकारी दिए। कोरोनाले नेपाली जनमानसमा त्रास बढाइरहेका बेला स्थानीय तहका जनप्रतिनिधिले सर्वसाधारणलाई त्रसित नहुन सचेतना अभिवृद्धि गर्दै घरदैलो अभियान चलाएका छन् । कोरोना भाइरसबाट त्रसितभन्दा पनि सचेत बन्न स्थानीय सर्वसाधारणलाई घरघरमा पुगेर सचेतना अभियान सञ्चालन गरिएको जनप्रतिनिधिले बताएका छन् ।
नगरपालिकामा प्रमुख र उपप्रमुख, गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति निर्माण गरी अनुगमन गरिएको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएको छ । प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय र टोलटोलमा वडा सदस्यको संयोजकत्वमा अनुगमन समिति निर्माण गरी सर्वसाधारणलाई सचेतना अभिवृद्धि गरिएको छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहका जनप्रतिनिधि जनताको सुख र दुःख दुवैमा साथ दिने प्रतिनिधि भएकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निरन्तर सचेतना अभियानमा लागेको बताए । उनका अनुसार अनिवार्य रूपमा चार घण्टामा एकपटक साबुन पानीले हात धुन सबै जनतालाई अनुरोध गरिएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?