ढाका (एजेन्सी) । एक बलात्कार आरोपमा बंगलादेशको अदालतले सत्तारुढ दलका स्थानीय नेतालाई हिरासतमा राख्न आदेश दिएको छ । पीडित महिलाले विपक्षी दललाई मत दिएका कारण आफुमाथि बलात्कार भएको बताएकी छन् ।
उनले विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीलाई भोट दिएको भन्दै आफुमाथि बलात्कार भएको बताइन् ।
४ बच्चाकी आमा ती महिलामाथि चुनाव भएको राती यस्तो अपराध भएको हो । यो घटना सार्वजनिक भएपछि बंगलादेशमा सामाजिक सञ्जालमा मानिसहरुले आक्रोश व्यक्त गरेका छन् ।
यतिमात्र होइन राजधानी ढाकामा पनि विपक्षीको आन्दोलन चर्केको छ । अभियुक्तहरुले आरोप अस्वीकार गरेका छन् । तर, बलात्कारको आशंकामा पक्राउ परेकाहरुलाई सत्ता रुढ दल अवामी लीगले पार्टीबाट निस्कासित गरेको बीबीसीले जनाएको छ ।
गएको आइतबार भएको चुनावमा आवामी लीगले अत्यधिक बहुमत हाँसिल गरेको छ । तर, चुनावमा हिंसा, धम्की र धाँधलीको आरोप लागेको छ ।
सत्तारुढ दल र विपक्षी दलका समर्थकीबच झडप पनि भएका थिए, जसमा कम्तिमा १७ जनाको मृत्यु भएको थियो । चुनावपछि सत्तारुढ दलले विपक्षी पार्टीका मानिसहरुमाथि आक्रमण गरेपछि शुक्रबार राष्ट्र संघले पनि चिन्ता प्रकट गरेको थियो ।
पीडित महिलाका श्रीमानले गएको हप्ता प्रहरीमा उजुरी दिएका थिए । उनले केही मानिसहरु राती आफ्नो घरमा आएको र बच्चा तथा आफुलाई बाँधेर श्रीमतीमाथि बलात्कार गरेको बताए । बलात्कारी त्यहाँबाट गएपछि छिमेकीले ती महिलाको उद्धार गरेर अस्पताल लगेका थिए ।
समाचारअनुसार जुन दिन ती महिला मतदान गर्न गएकी थिइन्, उनलाई विपक्षीलाई मत नदिन भनिएको थियो । ती महिलाले आवामी लीगका स्थानीय नेता राहुल अमीनको विरोध गरेकी थिइन् । राती राहुल साथीहरुसँगै आएर ती महिलामाथि बलात्कार गरेको आरोप लगाइएको छ ।
सामूहिक बलात्कारको घटना सार्वजनिक भएपछि विपक्षी समूहले राधानी ढाकामा र घटना भएको जिल्ला नोआखलीमा व्यापकर विरोध प्रदर्शन गरेका छन् ।
३०० सीटको चुनावमा शेख हसिनाको दल आवामी लीगले २८८ सीटमा जित हासिल गरेको छ भने विपक्षीले जम्मा ७ सीटमा जित दर्ता गराएका छन् । बाँकी ५ सीट पनि हसिनाका सहयोगी दलले जितेका छन् ।
हसिनाले सोमबारै तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ ग्रहण गरेकी छन् ।
प्रतिक्रिया