वीरगंजमा चिसो बढ्यो
सारांश
- पर्सा, पुस ३ –गएको केही दिनदेखि हुस्सु र शितलहरका कारण पर्साको जनजीवन प्रभावित भएको छ ।
- तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसोले जनजीवन प्रभावित भएको हो ।
- चिसो बढेसँगै पर्सा सदरमुकाम वीरगंजमा चहलपहल कम भएको छ ।
पर्सा, पुस ३ –गएको केही दिनदेखि हुस्सु र शितलहरका कारण पर्साको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसोले जनजीवन प्रभावित भएको हो ।
चिसो बढेसँगै पर्सा सदरमुकाम वीरगंजमा चहलपहल कम भएको छ । ग्रामिण भेगबाट वीरगंज मजदुरी गर्न आउनेको संख्यामा कमी आएको छ । मानिसहरु चोकचोकमा भेला भएर आगो तापेर बसिरहेका छन् । कुहिरो र शीतसँगै चल्ने पश्चिमी चिसोहावाका कारण स्थानीयको दैनीकी पनि सुस्त हुँदै गएको छ । बजार तथा कार्यालयहरूमा सर्वसाधारणको उपस्थिति दिउँसोतिर मात्रै हुन थालेको छ ।
निरन्तर चिसो बढेसँगै अस्पतालमा बिरामीको चाप समेत बढ्न थालेको छ । चिसोका कारण दम, रुघाखोकी, ज्वरो, टाउको दुख्ने तथा कोल्ड डायरियाका बिरामीहरूको सख्या बढ्न थालेको नारायणी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर इनामूलहकले बताउनुभयो ।

कुहिरोका कारण सवारी दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण सिमराबाट सञ्चालित विमानसेवा समेत प्रभावित हुन थालेका छन् । विहान उडान गर्ने विमानहरू समय तालिकाअनुसार उडान हुन नसकेपछि यात्रुहरूलाई समेत समस्या हुन थालेको छ ।
यसैबीच तराईमा परेको शितलहर र हुस्सुका कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको छ । सोमबार जिल्ला दैवी प्रकोप उद्वार समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विनो प्रकाश सिंहको अध्यक्षतामा भएको बैठकले प्रभावित परिवारलाई कम्बल वितरण, आगो ताप्नको लागि दाउराको व्यवस्थापनलगायत आवश्यक सामग्री उपल्बध गराउने निर्णय गरेको छ ।
प्रतिक्रिया