संकटाको पोस्टमा आर्मीको गोल वर्षा
सारांश
- काठमाडौं ।
- सहिद स्मारक ए डिरभिजन लिग फुटबल सोमबार भएको आर्मी र संकटा क्लवबीचको खेलमा आर्मीले शानदार जित हात पारेको छ ।
- जारी लिगम सोमबार चौथो चरणका खेल शुरु भएका छन् ।
काठमाडौं । सहिद स्मारक ए डिरभिजन लिग फुटबल सोमबार भएको आर्मी र संकटा क्लवबीचको खेलमा आर्मीले शानदार जित हात पारेको छ । जारी लिगम सोमबार चौथो चरणका खेल शुरु भएका छन् । यो जीतसँगै आर्मी लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटालाई आर्मीले ५-१ गोलअन्तरले पाखा लगायो । आर्मीका लागि टेकबहादुर बुढाथोकीले २, भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जमले गोल गरे । संकटाका लागि एकमात्र गोल इलोन म्याक्श्वेलले गरे ।
पहिलो हाफमा २-१ गोलअन्तरले अघि रहेको आर्मीले दोस्रो हाफमा भने थप ३ गोल गर्न सफल भयो ।
खेलको दोस्रो मिनेटमा नै आर्मीले पेनाल्टी पाएको थियो । सुरुवाती समयमा नै अग्रता बनाउने आर्मीले राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेन । आर्मीका लागि सन्तोष तामाङले प्रहार गरेको पेनाल्टी बारमा लागेर फर्किएपछि अग्रता बनाउनबाट बञ्चित भएको थियो ।
खेलको नवौं मिनेटमा नै संकटाका इलोन म्याक्श्वेलले गोल गर्दै अग्रता दिलाएका थिए । तर, यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको १७औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरी दिलाएका थिए ।
खेलको ३०औं मिनेटमा आर्मीले अर्को गोल गर्न सफल भयो । यो पटक भने आर्मीका लागि कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई २-१ गोलको अग्रता दिलाएका थिए ।
खेलको ५२औं मिनेटमा संकटाले पेनाल्टी सदूपयोग गर्न नसक्दा खेल बराबरीमा ल्याउने मौका गुमायो ।
खेलको ६३औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकबाट गोल गर्दै आर्मीलाई ३-१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, ६६औं मिनेटमा नै टेक बहादुरले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४-१ गोलको फराकिलो अन्तरको अग्रता दिलाएका थिए ।
आर्मीले एकपछि अर्को गोल गर्ने क्रममा खेलको ७७ औं मिनेटमा दिनेश हेन्जमको गोलबाट ५-१ गोलअन्तरको अग्रता बनाएको थियो ।
जितसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्मीको ४ खेलबाट १० अंक भएको छ । अपराजित यात्रामा रहेको आर्मीले ३ खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीको ३ खेलबाट ९ अंक रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको संकटाको ४ खेलबाट ९ अंक रहेको छ ।
प्रतिक्रिया