सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !

सारांश

  • सरकारी विद्यालय, त्यसमाथि प्राविधिक विषय ।
  • ९ कक्षाबाटै निःशुल्क पढाइ हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।
  • तर यो यथार्थ हो ।

सरकारी विद्यालय, त्यसमाथि प्राविधिक विषय । ९ कक्षाबाटै निःशुल्क पढाइ हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो यथार्थ हो । विगत पाँच वर्षदेखि देशभरका झण्डै ३०० विद्यालयमा कृषिदेखि सिभिल इन्जिनियरिङसम्मका प्राविधिक विषयहरू पढाइ भइरहेका छन् । छवटा विषयहरूमध्ये एउटा म्युजिक एजुकेसन परीक्षणका रूपमा सञ्चालनमा छ । यो विषय गौशालास्थित म्युजिक स्कुलमा पढाइ हुँदै आएको छ । बाँकी सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियरिङ, ल्याव व्यवस्थापन, बाली विज्ञान र पशु विज्ञान विषयमा पढाइ भइरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीका अधिकृत राजन पाण्डेले जानकारी दिए ।

ती सबै विद्यालयलाई अनुदान दिइएको छ, जसले गर्दा सामुदायिक विद्यालयले यस्ता प्राविधिक विषयहरू पढाइरहेका छन् । सिभिल इन्जिनियरिङलाई ५० लाख तथा कम्प्युटर तथा इलेक्ट्रिकल इन्जिनियरिङलाई २५–२५ लाख रुपैयाँ अनुदान दिइँदै आएको पाण्डेले जानकारी दिए । त्यस्तै, बाली तथा पशुविज्ञानतर्फ २६–२६ लाख रुपैयाँ अनुदान दिइने गरेको छ । यो अनुदान कक्षा ९ र १० का लागि दिइएको हो । यसबाट ल्याव स्थापनादेखि शिक्षकको तलब वितरण गर्न पनि पुग्छ । त्यस्तै, तिनै विद्यालयले ११ र १२ कक्षा पनि सञ्चालन गर्न चाहेमा सिभिललाई १८, बाली र पशुलाई ११–११ तथा इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङलाई ९–९ लाख रुपैयाँ थप अनुदान दिइने पौडेलले बताए ।

सिभिल इन्जिनियरिङलाई ५० लाख तथा कम्प्युटर तथा इलेक्ट्रिकल इन्जिनियरिङलाई २५–२५ लाख रुपैयाँ अनुदान दिइँदै आएको पाण्डेले जानकारी दिए ।

कक्षा ९ देखि पढाइ हुने यी प्राविधिक विषयहरू १२ कक्षासम्म पढ्न सकेमा उनीहरूको क्षमता निकै बढ्ने जनाइएको छ । १२ कक्षा उत्तीर्ण गर्न सके स्नातक स्तरको प्राविधिक शिक्षा अध्ययन गर्न निकै सजिलो हुने शिक्षकहरूको भनाइ छ । यसरी १२ कक्षासम्म अध्ययन गरेकाहरूलाई प्लस टुमा साइन्स पढ्नै पर्दैन तर जेनेरल साइन्समा अध्ययन गर्नुपर्ने अनिवार्य चारवटा विषय भने पढ्नै पर्छ ।
सुविधा सम्पन्न निजी कलेजमा पढेर आएकाहरूले मात्रै पढ्दै आएका यी प्राविधिक विषयमा सरकारी विद्यालयमा पढ्ने गरिव विद्यार्थीले कक्षा ९ बाटै पढ्न पाएमा उनीहरू पनि कक्षा १२ पूरा गरेपछि निजी कलेजका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुने पौडेलले जनाए ।

सरकारी विद्यालयमा कम्तीमा २० तथा बढीमा ५० जना विद्यार्थी एउटा कक्षामा राख्न पाइन्छ ।
सरकारी विद्यालयमा आकर्षक कोर्षहरू राखिन थाले पनि निजी क्षेत्रका विद्यार्थीहरूको पनि आकर्षण बढ्न थालेको छ । यी विषयहरू अध्ययन गर्दा अन्य विषयमा झैँ चारवटा अनिवार्य विषयहरू पढ्नै पर्ने हुन्छ । त्यसबाहेक, जस्तै ः बाली विज्ञान पढ्नुपर्ने भए अनिवार्यबाहेक फ्लोरिकल्चर, हटिकल्चर, सियरीकल्चर (रेशम कीरा), फिसरिज (माछा), कर्प प्रोडक्सन (बाली) तथा सोइल (माटो) जस्ता विषयहरू पढ्नुपर्ने हुन्छ ।

रकारले यसको सुरुवात २०७० सालदेखि गरेको हो । सुरुमा एक निर्वाचन क्षेत्र, एक प्राविधिक विषय पढाइ हुने व्यवस्था गरिएको थियो । तर अहिले यो कोर्ष नभएको तथा सीटीईभीटीले स्वीकृति दिएका कार्यक्रम लागू नभएका १५० विद्यालयमा थप्ने योजना बनाइरहेको छ ।

अहिलेसम्म २८४ वटा स्कुलमा लागू भएको यो कार्यक्रममध्ये २२२ वटा नमुना विद्यालयहरू छनोट गरिएका छन् । त्यसमध्ये पनि ९९ वटा विद्यालयलाई ‘पाइलट प्रोजेक्ट’का रूपमा राखिएको छ । यसमध्ये पनि रूपन्देहीको कालिका मानव ज्ञान मावि, झापा, मेचीनगरको धुलाबारी मावि तथा सोलुखुम्बुको गार्मा माविका विद्यार्थीहरूले निजीभन्दा राम्रो प्रतिफल ल्याइरहेको तथ्याङ्कले देखाउँछ ।
पौडेल भन्छन्, ‘सरकारी विद्यालय, त्यसमा पनि अनावश्यक विषय थोपरिँदा उत्तीर्ण प्रतिशत सोचेको जस्तो देखिँदैन ।’ यसको मारले गर्दा उत्तीर्ण प्रतिशत १८ देखि २१ प्रतिशत मात्र छ । सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई जनरल साइन्समा पढ्नुपर्ने अनिवार्य विषयहरू नपढ्दा पनि हुन्छ तर यहाँ अनिवार्य पढ्नुपर्छ । यसको बोझ विद्यार्थीहरूले ल्याउने नतिजामा देखिन्छ ।
सरकारी विद्यालयमा अहिले प्राविधिकतर्फ २५ देखि ३० हजार विद्यार्थी अध्ययनरत छन् । सरदर एउटा विद्यार्थीलाई ९ देखि १२ कक्षासम्म पढाउदा ७० हजार रुपैयाँ खर्च पर्न आउँछ । यो खर्चमा भौतिक संचरनाहरू जोडिँदैनन् ।

विद्यालयको अनुभव
खेतबारीमै गएर पढ्न पाउँदा धेरै विद्यार्थीहरू खुसी हुने अनुभव कागेश्वरी मनोहरा नपा, गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास धितालको छ । उनका अनुसार विद्यार्थी शिक्षकसँगै खेतबारीमा गएर अध्ययन गर्दा धेरै कुरामा फरक पर्छ । ‘पहिलो कुरा त सामाजिक रूपमा किसानलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ’, धिताल भन्छन् ।
त्यसमा पनि कक्षा १२ उत्तीर्णपछि कुनै पनि विद्यार्थीले आफ्नो लागि आफैँ गरी खान सक्ने हुन्छ । धिताल भन्छन्, ‘जुन विद्यालयमा अध्ययनरत विद्यार्थी हुन्, तिनीहरूलाई नै यस विषय पढ्ने पहिलो अवसर मिल्छ ।’ बाली विज्ञान पढाइ हुने यस स्कुलमा कोटा नपुगे बाहिरबाट आएकाहरू विद्यार्थीलाई पनि अवसर मिल्न सक्छ । यो विषय पढ्न आउने विद्यार्थीको माग विस्तारै बढ्न थालेको उनी बताउँछन् । अझ यस्ता पढाइहरूमा अनिवार्य अंगे्रजी व्यवस्था गरेपछि थप आकर्षण हुन थालेको बताइन्छ ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष तथा तारकेश्वरस्थित कालिदेवी माविका व्यवस्थापन समितिका सदस्य उद्धव अधिकारी भन्छन्, ‘विद्यार्थीलाई माटो छुँदै पढाउँदा उनीहरूको मनोविज्ञानमा पनि निकै राम्रो प्रभाव देखिन्छ । सकारात्मक सन्देश जान्छ ।’ जापानका विद्यार्थीले झैँ स्कुल सक्दासम्म कम्तीमा पनि आफ्नो मातृभूमि अर्थात् कृषिप्रधान देशको सार्थकता हुने अधिकारी बताउँछन् । उनको स्कुलमा पनि कृषि पढाइ हुँदै आएको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य डा. बाबुराम अधिकारी पाँच महिना ७ दिन लगाएर घनीभूत रूपमा आयोगले यसबारेमा काम गरेको बताउँछन् । उनका अनुसार आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकिएको छ । अर्थ मन्त्रालयमा पठाइएको मस्यौदामा पनि धेरै कुराहरू सुझावमा समेटिएका छन् । ‘अहिले देखिएका समस्याहरू यसले निराकरण गर्नेछ’, डा. अधिकारीले भने, ‘संघीय शिक्षा ऐन चाँडै ल्याएर सुझावहरू समेट्ने हो भने सामुदायिक विद्यालय थप प्राविधिकमय हुनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?