माथिल्लो तामाकोशीः तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २, २०७६
|
|
२२ पटक हेरिएको
Shares
माथिल्लो तामाकोशीः तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु

सारांश

  • काठमाडौं।
  • सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना पनि प्रमुख कारण रहेको उल्लेख गरेको छ।
  • चालू आवमा ८.

काठमाडौं। सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना पनि प्रमुख कारण रहेको उल्लेख गरेको छ।
चालू आवमा ८.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो । यद्यपि सो प्रक्षेपणलाई बजेटको मध्यावधि समिक्षा मार्फत केही संशोधन गरियो। भूकम्प, भारतको नाकाबन्दी अन्य प्राकृतिक विपत्तीको मारमा माथिल्लो तामाकोशीलगायतका आयोजना परे। सोही कारण आयोजनाको लागत बढेर रु ७३ अर्बको हाराहारीमा पुग्यो। समय र लागत बढ्दा त्यसको प्रभाव समग्र आर्थिक वृद्धिमा समेत पर्न गएको छ।

समग्र आर्थिक वृद्धिदर नै आयोजनाका कारण प्रभाव पर्न थालेपछि सरकारले माथिल्लो तामाकोशीलाई तोकिएको समयमा निर्माण सम्पन्न गर्न प्रयास गरेको छ। राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनालाई कुनै पनि साधन र स्रोतको अभाव हुन नदिन सरकारले सार्थक प्रयत्न गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक सहजीकरण गरिरहेको छ। मन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आयोजनामा कुनै पनि समस्या हुन नदिन र समस्या देखिए आयोजनास्थलमा नै बैठक राखी सहजीकरण गर्न निर्देशन दिएका छन्।

सोही निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले प्रत्येक महीनामा आयोजनास्थलमा आयोजना, निर्माण व्यवसायी र परामर्शदाताको बैठक आयोजना गरी थप सहजीकरण गरेका छन्। आयोजनाको हाल भौतिक प्रगति ९८ प्रतिशत भएको छ। तर, बाँकी दुई प्रतिशत भौतिक प्रगति गर्न आयोजनालाई ‘हात्ती छि¥यो, पुच्छर अड्क्यो’ जस्तै भएको छ।

आयोजनाको जटिल मानिएको दुई वटा ठूला सुरुङमा स्टिलका ठूला पाइप राख्नु रहेको छ। कहिले पाइप बोक्ने डोरी चुडिएर समस्या, त कहिले निर्माण व्यवसायीको कार्यसम्पादन क्षमतामा देखिएको जटिलताका कारण आयोजना पर धकेलिने त होइन भन्ने चिन्तासमेत बढेको थियो। पहिलो ठाडो सुरुङ ३१० मिटर लामो छ भने दोस्रो ३७२ मिटर लामो छ।

ठाडो सुरुङमा पाइप जडान शुरु

स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको छ। लामो समयको प्रयास र प्राविधिक परीक्षणपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार राति सफलतापूर्वक पाइप जडान गरिएको हो। माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आइतबार दिँउसो २ बजेदेखि शुरु भएको पाइप जडान कार्य राति १० बजेसम्म चलेको थियो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्राधिकरणका सञ्चालकद्वय चेतराज जोशी तथा भक्तबहादुर पुनको उपस्थितिमा पाइप राख्न शुरु गरिएको उनले जानकारी दिए।

तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र ३.६ मिटर व्यासका २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो। तल्लो ठाडो सुरुङको पुछारमा रहने घुमाउरो आकारको पाइप अर्थात् ‘बेण्ड पेनस्टक पाइप’ मा आज पुनःअर्को पाइप राखिएको छ। सो पाइपलाई मिलाउने, जडान गर्ने र त्यसपछि ढलान गरिनेछ । त्यसपछि अर्को पाइप जडान शुरु हुनेछ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौल हटेको कार्यकारी निर्देशक घिसिङले बताए। पेनस्टक’ पाइप जडान असाध्यै गाह्रो थियो। यसअघि जडान शुरु गर्दा क्रेनको डोरी नै चुँडिएको थियो। “त्यसपछि क्रेनले काम गर्ने÷नगर्नेलगायतका अन्योल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्योल हट्दै आयोजना सम्पन्न हुनेतर्फ काम बढेको छ”, उनले भने।

आयोजनाको पहिलो युनिटबाट आगामी पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ। मन्त्रालयले दिएको स्वीकृतिअनुसार आयोजना आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ। पछिल्लो व्यवस्थाअनुसार क्रेनले अब लगातार पाइप झार्ने हुँदा अब कामले गति लिने विश्वास लिइएको छ। पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ।

माथिल्लो तामाकोशी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ।

शनिबार देशकै ठूलो सवस्टेशन निर्माण भइरहेको ढल्केबर पुग्नुभएका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगत्तै माथिल्लो तामाकोशीको आयोजनास्थल गोगर पुगे। मन्त्री पुनले पनि हरेक साता आयोजनाको प्रगति विवरण लिइरहेका छन्। कार्यकारी निर्देशकले भने, “आयोजनामा लिएको जिम्मेवारी शीघ्र पूरा गर्न सबै पक्ष लाग्नुपर्छ।”

सबै संरचनाको काम समानान्तर

आयोजनाको लामाबगरमा रहेको बाँधमा ‘फिनिसिङ’ को सानातिना काम भइरहेको छ। सुरुङ, प्रशारण लाइन निर्माणको काम समानान्तररुपमा अगाडि बढिरहेको छ। सबै संरचना निर्माणको अन्तिम चरणमा छन्।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३÷७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो। भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५र७६ को पुस महीनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका निर्धारण गरिएको थियो।

सो तालिकमा भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि आगामी पुस १५ भित्र पहिलो युनिटबाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ। सो कार्यतालिका अनुसार हरेक महीनाको फरकमा बाँकी रहने पाँच युनिटबाट विद्युत् उत्पादन गरिने छ। रमेश लम्साल /रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?