सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
सारांश
- साहित्य समाजको यथार्थ देखाउने र परिवर्तन गर्ने दर्शन : सभामुख महरा काठमाडौं, ८ बैशाख ।
- सभामुख कृष्णबहादुर महराले साहित्य समाजको यथार्थता देखाउने र परिवर्तन गर्ने दर्शन भएको बताएका छन् ।
- साहित्यकार प्रदीप नेपालद्वारा लिखित ‘देशको खोजी’ कथासंग्रहको आज (शनिबार) पुल्चोकस्थित साझा प्रकाशनको कार्यालयमा आयोजित पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले साहित्य समाजको यथार्थता देखाउने दर्शन भएको बताएका हुन् ।
साहित्य समाजको यथार्थ देखाउने र परिवर्तन गर्ने दर्शन : सभामुख महरा
काठमाडौं, ८ बैशाख । सभामुख कृष्णबहादुर महराले साहित्य समाजको यथार्थता देखाउने र परिवर्तन गर्ने दर्शन भएको बताएका छन् ।
साहित्यकार प्रदीप नेपालद्वारा लिखित ‘देशको खोजी’ कथासंग्रहको आज (शनिबार) पुल्चोकस्थित साझा प्रकाशनको कार्यालयमा आयोजित पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले साहित्य समाजको यथार्थता देखाउने दर्शन भएको बताएका हुन् ।
०३७÷३८ सालतिर आफूले साहित्यकार प्रदीप नेपालको कथा सञ्जय थापाको नामबाट पढ्ने मौका पाएको स्मरण गर्दै सभामुख महराले आफू निकै प्रभावित भएको बताए । “मैले सञ्जय थापाको ‘दमाईको दुकानमा चिया खाइयो’ भन्ने कथा पढेको थिएँ”, सभामुख महराले भने, “त्यसले मलाई निकै प्रभावित बनाएको थियो ।”
त्यतिबेला जातीय छुवाछूतविरुद्ध आवाज उठाउन निकै गाह्रो रहेको सम्झदै महराले थपे, “त्यस्तो बेला लेखिएको त्यो कथाले सबैलाई निकै प्रभावित बनाएको थियो ।” आफूलाई माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्ने व्यक्तिहरु पनि साहित्यकार नै भएको चर्चा गर्दै महराले मोहन वैद्य ‘किरण’ र कृष्ण सेन इच्छुकले आफूलाई राजनीतिक क्षेत्रमा लाग्न प्रेरित गरेको बताए ।
“साहित्यकार कृष्ण सेन इच्छुक मेरो एकदम मिल्ने साथी हुनुहुन्थ्यो । मलाई माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्नेमा उहाँको ठूलो भूमिका छ”, महराले सम्झिए, “चिनजान नभए पनि हामीबीच झण्डै दुई सयजति पत्रहरु आदान प्रदान भएका थिए ।” आफूलाई नयाँ दृष्टिकोण बनाउन र माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्न सेनका साहित्यिक पत्रहरुले निकै भूमिका खेलेको भन्दै सभामुख महराले हरेक राजनीतिक व्यक्तिको प्रस्थानविन्दू अर्थात् अन्तरचक्षु साहित्यभन्दा पर हुन नसक्ने बताए ।
त्यस्तै, अर्को प्रसंगमा सभामुख महराले साझा प्रकाशन जनताको साझा सम्पत्ति भएको बताउँदै जनताको सम्पत्ति जोगाउन जनता नै जागरुक हुनुपर्ने उल्लेख गरे । सभामुख महराले साझा प्रकाशन टिकाउन सरकार, निजी क्षेत्रलगायतको सबैको सहयोग जरुरी रहेको बताए ।
सभामुखको हैसियतले आफूले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने भन्दै महराले साझा प्रकाशनले साहित्यप्रेमी सांसदहरुलाई बोलाएर बृहत अन्तरक्रिया गर्न सके राम्रो हुने सुझाव पनि दिए ।
यसैबीच सोही कार्यक्रममा साहित्यकार तेजेश्वरबाबु ग्वगःद्वारा लिखित ‘रङ्ग अभिज्ञान’ निबन्ध संग्रहको शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गरेका थिए । कार्यक्रममा डा. लक्ष्मणप्रसाद गौतमले रङ्ग अभिज्ञान निबन्ध संग्रहको समीक्षा गरेका थिए भने प्रा.डा. दयाराम श्रेष्ठ र खगेन्द्र राईले देशको खोजी कथा संग्रहको समीक्षा गरेका थिए । कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । 
प्रतिक्रिया