सभामुख महरा र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
सारांश
- काठमाडौं, २७ असार ।
- सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेटवार्ता गरेका छन् ।
- आज (बुधबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुख महरासँग राजदूत साइगोले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
काठमाडौं, २७ असार । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेटवार्ता गरेका छन् । आज (बुधबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुख महरासँग राजदूत साइगोले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा सभामुख महराले नेपाल–जापानबीच राजनीतिक सम्बन्ध मात्रै नभई सामाजिक, साँस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको बताए । “नेपाल बुद्धको जन्मभूमि हो, जापान बौद्धमार्गीहरुको देश”, सभामुख महराले भने, “हामी राजनीतिक सम्बन्धका हिसाबले जति नजिक छौं, त्यत्तिकै साँस्कृतिक, धार्मिक र भावनात्मक हिसाबले निकट छौं ।”
जापान सरकारले नेपालको विभिन्न क्षेत्रमा आर्थिक लगानी तथा सहयोग गरिरहेको चर्चा गर्दै सभामुख महराले नेपालको महाभूकम्पको बेला जापान सरकारले गरेको सहयोग आफूहरुले कहिल्यै नभुल्ने बताएका थिए । सभामुख महराले हालै जापानमा आएको बाढीपहिरोले पु¥याएको जनधनको क्षतिले आफूलाई दुखित तुल्याएको समेत बताए ।
नेपालमा संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर देशले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको भन्दै सभामुख महराले आफूहरु संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए । “संविधान निर्माणपछि हामीले तीन चरणका निर्वाचन सम्पन्न गरी तीनै तहमा सरकार निर्माण गरिसकेका छौं”, सभामुख महराले भने, “अब हाम्रो मुख्य प्राथमिकता भनेको संविधानको मर्मअनुरुप ऐन कानून निर्माण गर्नु हो । अहिले हामी कानून निर्माणतर्फ बढी केन्द्रित छौं ।”
संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री संघ गठन गर्नेतर्फ आफूले सोचिरहेको भन्दै सभामुख महराले यस्ता समूहले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मौका मिल्ने बताए ।
सभामुखसँगको भेटमा जापानी राजदूत मासामिची साइगोले जापान र नेपालबीचको पारस्परिक सम्बन्ध पहिलेजस्तै प्रगाढ र दिगो रहने विश्वास व्यक्त गरे । जापान सरकारले नेपाललाई जुनसुकै क्षेत्रमा पनि सहयोग गर्न तयार रहेको भन्दै संघ, प्रदेश र स्थानीय तहको सरकारलाई सुशासन, क्षमता अभिवृद्धि लगायतका कामहरुमा आवश्यक सहयोग गर्न इच्छुक रहेको बताएका थिए ।
भेटवार्तामा संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सचिवद्वय गोपालनाथ योगी र डा. भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया