ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…

सारांश

  • ललितपुर, १४ माघ ।
  • एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए ।
  • बेलुका सधैंको समयमा घर नफर्केपछि युवतीका २३ वर्षे श्रीमान् हरिराम र घरमा बुहारी पर्खिरहेकी सासूले फोन सम्पर्क गर्न खोजिहेरे ।

ललितपुर, १४ माघ । एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए । बेलुका सधैंको समयमा घर नफर्केपछि युवतीका २३ वर्षे श्रीमान् हरिराम र घरमा बुहारी पर्खिरहेकी सासूले फोन सम्पर्क गर्न खोजिहेरे ।

सुरुमा फोन लागिरहेको थियो तर, एकछिनबाटै फोन बन्द भयो । ललितपुरको भित्री एक मनोरम बस्तीकी युवती यामकुमारी मंसिर २ को साँझ ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् ।
खोजबिनमा हिँडिरहेका युवतीका श्रीमान्ले बाटैमा भेटिएका प्रहरीको एक डफ्फालाई श्रीमती बेपत्ता भएको बारे जानकारी गराए । ‘तिम्री श्रीमती राम्री थिइन्, कसैले लग्यो होला । भोलि खोजौंला’ भन्ने गैरजिम्मेवार जवाफ पाएपछि हरेराम र अरू आफन्त खोजीमा यताउता भौंतारिइरहे । कतै नभेटिएपछि रातको १२ बजे ललितपुर प्रहरीमा फोन गरेर घटना अवगत गराउँदै हरिरामले खोजबिनका लागि आग्रह गरे ।

घटनाको भोलिपल्ट बिहान मात्रै यामकुमारीलाई बस्ती बीचबाट बग्ने खोलाको किनारमा रहेको तोरीबारीमा अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि यो प्रकरण थप रहस्यमयी बन्दै गएको थियो । युवतीको टाउकोमा ठूलो चोट देखिन्थ्यो, शरीरको तल्लो भागमा कपडा थिएन, दायाँ हात धेरै ठाउँमा भाँचिएको थियो । तिघ्रा, स्तनलगायतका स्थानमा नीलडाम देखिन्थ्यो । एउटा कानको लोती चुँडिएसरह थियो । ‘मैले प्रेममा परेर बिहे गरेको एक वर्ष पनि भएको थिएन, प्राणभन्दा प्यारी श्रीमतीको त्यो हाल देखेर अरू कुराभन्दा पहिले ऊ बाँचिदिए मात्रै हुन्थ्यो भन्ने भित्री इच्छा मनमा पलाएको थियो,’ नृशंस घटनामा परेकी युवतीका श्रीमान् हरिरामले सुनाए ।

घटनास्थलको मुचुल्का तत्काल बनाएर घाइते युवतीलाई पाटन अस्पताल लगियो । तर टाउकोमा गम्भीर चोटसहित स्नायु प्रणालीमा आघात परेकाले शिक्षण अस्पताल ‘रिफर’ गरियो । ‘उनलाई ७ दिनसम्म आईसीयूमा राखियो, झन्डै कोमाजस्तै थियो,’ युवतीकी आफन्त दिदीले पनि घटनाबारे सुनाइन्, ‘बहिनीलाई लगातार एक महिना अस्पताल राख्यौं, झन्डै ३ लाख रुपैयाँ खर्चेर उसले जीवन त पाई । तर, बाँच्नु र मर्नुको दोसाँधमा ऊ बसेकी छे ।’

दाहिने हात टुक्राटुक्रा रूपमा भाँचिएको अवस्थामा भेटिएकी यामकुमारीको स्टिल सपोर्टमा हात जोडिएको छ भने टाउकाको गहिरो घाउमा ३० भन्दा बढी टाँका लगाइएको छ । यो घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र महिला अधिकार आयोगले पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेका छन् ।

पीडित युवतीले दिएको बयानमा आफूलाई मंसिर २ को साँझमा ३ जना व्यक्तिले ज्यान मार्ने नियतले आक्रमण गरेको, पैदल हिँडिरहेको सडकबाट तल तोरीबारीमा खसाएर ढुंगाले टाउकोमा हानेको, मोबाइलको टर्च आँखामा बाल्दै रघु, विशाल र पवनको नाम काढेरै एकअर्कालाई बोलाएको बताएकी थिइन् ।

कुटपिट र लछारपछारपछि बेहोस अवस्थामा बलात्कार गरे/नगरेको आफूलाई थाहा नभएको उनले बयानमा बताएकी थिइन् ।

घटनामा किटानी–जाहेरी
घटनास्थलबाट रगत लत्पतिएको ढुंगा, युवतीको सुरुवाल, रगत लागेको सल, पेन्टी, रौं, हाते झोला, तरकारी ब्याग, मोबाइलसहितका सामग्री प्रहरीले ‘प्रमाण’ का रूपमा उठाएर लगेको थियो । सातदोबाटो महानगरीय प्रहरी वृत्त, सातदोबाटोका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले घटनाको अनुसन्धान सुरु गरिसकेका थिए । उता अस्पतालमा रहेकी पीडित युवती होसमा आएर बोल्न सक्ने भएपछि घटनाको आठौं दिनमा दिएको किटानी नामका आधारमा ललितपुरकै रघु सिलवाल (३२), विशालध्वज कार्की (२०) र पवन कुँवर (२०) लाई प्रहरीले पक्राउ पनि गर्‍यो । अस्पतालमा रहेकी युवतीले ३ अभियुक्तलाई स्पष्ट रूपमा चिनेपछि बल्ल कानुनी लडाइँको दह्रो आधार मिल्यो । प्रारम्भिक अनुसन्धानपछि पुस २४ गते पाटन जिल्ला अदालतमा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता राम घिमिरेले अभियोगपत्र प्रस्तुत गरेका थिए । यो प्रकरणमा तीन प्रतिवादीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठसहितले वकालत गरेका थिए ।

‘अदालतमा ल्याइएका आरोपीले घटना भएको दिनको बयान सुनाउने क्रममा एकअर्कामा बाझिने कुरा पनि आएका छन्,’ घटनाकाबारे स्वतन्त्र अवलोकन गरिरहेका एक कानुन व्यवसायीले भने, ‘अभियुक्त तीनमध्ये कसैले मंसिर २ को साँझसम्म पुल खेल्न गएको भनेका छन्, फेरि बुझ्ने क्रममा उक्त दिन पुल हाउस नै बन्द रहेको पुष्टि भयो । मंसिर ३ गते गाउँले युवतीको बलात्कृत घटनाक्रम थाहा पाएर हतार गर्दै पाटन अस्पतालसम्म कुरा बुझ्न गएको भन्ने बयान पनि सन्देहास्पद लाग्यो ।’ फेरि घटनास्थलमा भेटिएको प्रमाण आधारमा अभियुक्तको ‘फिंगर प्रिन्ट’ परीक्षण गर्ने कामसमेत नगरिएको पीडित पक्षको आरोप छ ।

घटनास्थलमा भेटिएका र पछि परीक्षणमा भेटिएको भौतिक सबुतमध्ये युवतीको यौनांग बाहिर भेटिएको वीर्यलाई परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएकोमा यसको रिपोर्ट आउन बाँकी छ । डीएनएसहितको रिपोर्ट आउन अरू १ महिना लाग्ने भनिएको छ । पोलिग्राफ टेस्ट (झूट बोलेको परीक्षण पद्धति) लाई सामान्यतया सबुतका रूपमा पेस नगरिने पद्धति छँदाछँदै यो आधारलाई पनि मानेर अदालतले अभियुक्तलाई साधारण तारेखमा रिहा गरिदिएको छ । अनुसन्धान क्रममा उनीहरूलाई झन्डै एक महिना थुनामा राखिएको थियो । पाटन अस्पतालको फरेन्सिक डिपार्टमेन्टले मंसिर ३ गते घाइतेको शरीर परीक्षणमा गरेको अनुसन्धानमा पीडितको शरीरमा अत्यधिक जोडबल (ब्लन्ट फोर्स) को उपयोग भएका कारण शरीरका विभिन्न ठाउँमा गम्भीर चोटपटक लागेको जनाएको थियो ।

साधारण तारेखमा ‘रिहा’
घटनाको गम्भीरता र संवेदनशीलता कायमै रहेका बेला एकाएक ललितपुर जिल्ला अदालतले गत पुस २६ मा प्रतिवादीमाथि लगाइएको आरोप र जाहेरीमा पर्याप्त प्रमाण नभेटिएको भन्दै साधारण तारेखमा रिहा गरिदिएको छ । जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीले उक्त रिहा आदेश दिएका हुन् ।

‘प्रतिवादीतर्फको तत्कालको मेडिकल परीक्षणले किटानी जाहेरीलाई पुष्टि गरेको पाइएन,’ घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुन्दर चौलागाईंले भने, ‘पीडित युवतीले दिएको बयानमा ३ अभियुक्तबाहेक अरू पनि केही नाम अपुष्ट रूपमा किटानी भएको छ, यो थप विषयमा अहिले अनुसन्धान जारी छ ।’ घटनालाई नजिकबाट हेर्दै आएकी कानुन व्यवसायी विमला खडका दर्लामीले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा अभियुक्त पुष्टि नभएको हो भने ‘अपराधी को हो ?’ भन्ने थप आधार र प्रमाण स्पष्ट हुनुपर्ने बताइन् । ‘युवतीलाई टाउकोमा ढुंगाले कसले हान्यो ? उनको शरीरमा भेटिएको वीर्यको परीक्षण कहाँ पुग्यो ?,’ उनले भनिन्, ‘विशेषत: यस्तो गम्भीर घटनामा विधि विज्ञानका परीक्षण र अरू प्रमाण जुट्ने क्रममै रहेका बेला के–कसरी साधारण तारेखमा अभियुक्तलाई रिहा गरिएको हो  ?’ घटनाक्रमले पीडितले न्याय नपाउने स्थिति बन्दै गएको उनले बताइन् ।

कानुनी प्रावधानअनुसार अदालती फैसलामा चित्त नबुझेको अवस्थामा ‘१७ नम्बरको आदेशअनुसार’ पुनरावेदन (उच्च अदालत) मा जान सकिने स्थितिमा अहिले यो घटना पुनरावेदनमा पुगिसकेको छ । अदालतले वादी पक्षको चित्त नबुझेको आधारमा ‘कैफियत मगाउने आदेश’ दिइसकेको र अबको अनुसन्धान तथा बहस थप प्रामाणिक हुन सक्ने विश्वास दर्लामीले जनाइन् । (साभार : कान्तिपुर)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kisna Prkd

    Thukka nepal ko law. So obvious they are the culprit still released them ..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?