चोरी गरेको आरोपमा एक महिला पक्राउ
सारांश
- महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
- बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।
- डा रुपक घिमिरेले घरमा पटक–पटक नगद, बहुमूल्य धातु तथा सामान हराउने गरेको भन्दै प्रहरीमा उजुरी गर्नुभएको थियो ।
महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।डा रुपक घिमिरेले घरमा पटक–पटक नगद, बहुमूल्य धातु तथा सामान हराउने गरेको भन्दै प्रहरीमा उजुरी गर्नुभएको थियो । उजुरीपश्चात् प्रहरीले घरमा जडान गरेको सिसी क्यामेराको सहायताबाट उक्त महिला चोरीमा संलग्न भएको पुष्टि भएको हो । गिरीका अनुसार दर्नाल डा घिमिरेको घरमा लामो समयदेखि सहयोगीका रुपमा काम गर्दै आएकी थिइन् ।
घरमा कोही नभएको मौका छोपेर महिलाले घरको सेफमा राखेको सुनका गहना, विदेशी मुद्रा तथा नगद गरी रु पाँच लाख मूल्य बराबरको सामान चोरी गर्दै सुन पसल र मनि एक्सचेन्जमा गएर अवैधरुपमा सटही गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।अवैधरुपमा सटही गर्ने करुण सुनचाँदी पसल सञ्चालक राजन सुनुवार र न्यू नेपाल मनि एक्सचेन्जका सञ्चालक उत्तम भट्टराईलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनीहरुलाई आज जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थाल्ने निरीक्षक गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया