यी १० चुनावी एजेण्डा, जसका कारण आम आदमीलाई दिल्लीका मतदाताले पत्याए
सारांश
- भारतको नयाँदिल्लीमा भएको विधानसभा चुनावमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले विशाल अन्तरमा जीत हात पारेको छ ।
- यससँगै आम आदमी पार्टीले तेस्रो पटक दिल्लीमा सरकार बनाउनेछ ।
- पहिले ४९ दिन र त्यसपछि पाँच वर्षसम्म सरकार चलाउन पाएको आम आदमी फेरि पाँच वर्षका लागि सरकार चलाउने अवसर पाउँदैछ ।
भारतको नयाँदिल्लीमा भएको विधानसभा चुनावमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले विशाल अन्तरमा जीत हात पारेको छ ।
यससँगै आम आदमी पार्टीले तेस्रो पटक दिल्लीमा सरकार बनाउनेछ । पहिले ४९ दिन र त्यसपछि पाँच वर्षसम्म सरकार चलाउन पाएको आम आदमी फेरि पाँच वर्षका लागि सरकार चलाउने अवसर पाउँदैछ ।
त्यसो त, यसअघि नै आम आदमी पार्टी दिल्लीमा आलोचित पनि बनेको थियो । पछिल्लो चुनावका लागि आम आदमी पार्टीले केही आकर्षक एजेन्डा पेश गरेको थियो । साम्प्रदायिक भड्कावका नारावाजीमा धेरै समय खर्चेको भाजपाका हरेक जवाफ दिन पनि आम आदमीले जरुरी ठानेन ।
बरु केही आकर्षक बाचा देखाउँदै भोट मागिरह्यो । फलस्वरुप आम आदमी पार्टी दिल्ली सरकार हाँक्ने संघारमै पुगेको छ । उसले चुनावी घोषणपत्रमा दिल्लीमा २४सै घण्टा बिजुली प्रवाह गर्ने लगायत १० वटा आकर्षक चुनावी नारा देखाएको थियो ।
जगमगाउनेछ दिल्ली !
आफूले जितेको खण्डमा ‘दिल्लीमा २४ घण्टासम्म बिजुली चम्किरहनेछ’ भन्दै आम आदमीले चुनावी नारा देखाएको थियो । हरेक घरमा अन्डरग्राउण्ड केबलबाट बत्ती पुर्याइने केजरीवालको बाचा थियो ।
शुद्ध पानी
हरेक घरमा पाइपबाट पानी सुविधा पुर्याइने आम आदमीको अर्को आकर्षक नारा थियो । यद्यपि पानी र बत्तीको सुविधा दिनु कठिन मानिन्छ ।
विश्वस्तरीय शिक्षा
आम आदमीले दिल्लीमा देशकै राम्रो शिक्षा व्यवस्था मिलाइने पनि भनेको थियो । विश्वस्तरीय शिक्षा दिल्लीका हरेक बालबालिकालाई दिने बाचा उसको थियो ।
सस्तो, सुलब र प्रभावकारी उपचार
स्वास्थ्यको मुद्दालाई पनि आम आदमीले चुनावी नारा बनायो । जस अनुसार आम आदमीले जिते आम मानिसले सहजै उपचार गर्नसक्ने अवस्था आउने बाचा थियो । महंगा क्लिनिकको सट्टा सबै मानिसले सस्तोमा सहजै उपचार गर्नसक्ने प्रबन्ध मिलाइने आम आदमीको बाचा थियो ।
सहज यातायात
यातायातमा पनि व्यापक सुधार ल्याइने आम आदमीको बाचा थियो । ११ हजार भन्दा धेरै बस र ५ सय किलोमिटर भन्दा लामो मेट्रो लाइन बनाउने आम आदमीको बाचा थियो ।
प्रदुषणमुक्त दिल्ली
प्रदुषणको समस्या दिल्लीको सबैभन्दा गम्भीर समस्यामध्ये एक हो । हरेक वर्ष यहाँको वायु धुलाम्मे भएर स्वास फेर्न समेत अप्ठ्यारो पर्ने गर्छ । वायु नै धुलोले ढपक्क ढाकिने गर्छ । यही समस्यालाई आम आदमीले यसपटक चुनावी नारा बनाएको थियो । आम आदमीले चुनाव जितेमा ‘ग्रिन दिल्ली’ बनाउने बाचा गरेको हो । साथै यमुना नदी स्वच्छ बनाउने बताइएको थियो ।
स्वच्छ एवं चम्किलो दिल्ली
दिल्लीलाई सफा र सुन्दर बनाइने अर्को एजेन्डा थियो । अव्यवस्थित र फोहोरबाट सुन्दर र स्वच्छ दिल्ली बनाउने आम आदमीको बाचा थियो ।
महिलाका लागि सुरक्षित सहर
हरेक दिनजस्तै बलात्कारका घटना भइरहने दिल्लीमा महिलालाई सुरक्षित बनाउने बाचा पनि आम आदमीको थियो । भाजपाका कार्यकर्ताले विरोधीका ‘घरमा पसेर बलात्कार गर्ने’ चेतावनी दिइरहँदा आम आदमीले भने महिलालाई सुरक्षित सहर बनाउने बाचा गर्यो । महिला र छात्रालाई विशेष सुविधा दिने आम आदमीका नेताहरुको भनाइ थियो ।
आधारभुत सुविधायुक्त कोलोनी
दिल्लीका धेरै कोलोनीहरुमा आधारभुत सुविधा समेत छैन । विपन्न मानिसलाई पनि लक्षित गर्दै कोलोनीमा आधारभुत सुविधा दिने आम आदमीको बाचा थियो । पिउने पानी, स्वास्थ्योपचार केन्द्र र सीसीटीभी जडान गर्ने उसको भनाइ थियो ।
झुपडीका बासिन्दालाई घर
झुपडीमा जीवनयापन गर्दैआएका विपन्न मानिसलाई पक्की घरको व्यवस्था गर्ने पनि बताइएको थियो । सम्मानपूर्वक रुपमा जीवनयापनको अवस्था आउने आम आदमीको दावी छ । विपन्नलाई पक्की घरमा बसाउने आम आदमीको बाचा हो । (बिबिसी हिन्दीबाट)
प्रतिक्रिया