हेटौँडाको लक्ष्मीनारायण मन्दिरका सिसमहलमा धार्मिक पर्यटकको आकर्षण

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, श्रावण १८, २०८३
|
|
२८ पटक हेरिएको
Shares
हेटौँडाको लक्ष्मीनारायण मन्दिरका सिसमहलमा धार्मिक पर्यटकको आकर्षण

सारांश

  • मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिर परिसरमा निर्मित दुईवटा मनमोहक ‘सिसमहल’ हालका दिनमा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ।
  • व्यावसायिक महलहरूमा शुल्क तिरेर मात्र सिसाको कला हेर्न पाइने अवस्था विपरीत यहाँ सर्वसाधारणका लागि निःशुल्क अवलोकनको विशेष व्यवस्था मिलाइएको छ।
  • मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेका अनुसार मन्दिरमा ऐतिहासिक दक्षिण भारतीय तिरुपति बालाजीको जस्तै विधि र नियम अनुसार नियमित पूजाआजा हुने गरेकाले पनि यहाँ दर्शनार्थीको आकर्षण बढेको हो।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिर परिसरमा निर्मित दुईवटा मनमोहक ‘सिसमहल’ हालका दिनमा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ। व्यावसायिक महलहरूमा शुल्क तिरेर मात्र सिसाको कला हेर्न पाइने अवस्था विपरीत यहाँ सर्वसाधारणका लागि निःशुल्क अवलोकनको विशेष व्यवस्था मिलाइएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेका अनुसार मन्दिरमा ऐतिहासिक दक्षिण भारतीय तिरुपति बालाजीको जस्तै विधि र नियम अनुसार नियमित पूजाआजा हुने गरेकाले पनि यहाँ दर्शनार्थीको आकर्षण बढेको हो।

यस धार्मिक क्षेत्रमा स्थानीय निकाय र दाताहरूको संयुक्त आर्थिक प्रयासबाट दुईवटा फरक सिसमहलको निर्माण सम्पन्न गरिएको हो। जसमध्ये राधाकृष्ण सिसमहल तत्कालीन जिल्ला विकास समितिको आठ लाख रुपैयाँ सहयोगमा तयार पारिएको हो भने अर्को सीताराम सिसमहल भक्तजनहरूबाट संकलित २० लाख रुपैयाँको लागतमा निर्माण भएको हो। वि.सं. २०३२ सालमा अनन्त श्री विभूषित पराङ्कुशाचार्यद्वारा स्थापित यो आध्यात्मिक संस्था वि.सं. २०६१ मा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवत् दर्ता भई सञ्चालनमा रहेको छ।

करिब दुई कट्ठा क्षेत्रफलमा फैलिएको यस मन्दिरले केवल धार्मिक गतिविधिमा मात्र सीमित नरही सामाजिक र शैक्षिक सेवाका क्षेत्रमा समेत उदाहरणीय कार्य गरिरहेको छ। मन्दिरले हाल मुगु र हुम्ला जस्ता दुर्गम जिल्लाका पाँच जना वटुकहरूलाई निःशुल्क आवाससहित वैदिक शिक्षा र विद्यालय तहको अध्ययनको पूर्ण व्यवस्था मिलाएको छ। साथै, बाहिरबाट आउने तीर्थालुहरूका लागि छ वटा कोठासहितको आवासीय सुविधा समेत उपलब्ध गराइएको छ, जहाँ दैनिक १०–१२ जना बस्न सक्ने क्षमता रहेको छ।

मन्दिर परिसरभित्र अध्यात्म र स्वास्थ्यको सुन्दर संयोजन पाउन सकिन्छ। यहाँ वि.सं. २०५८ मा स्थापित व्यास पीठबाट दैनिक वेद तथा श्रीमद्भागवतको पाठपारायण हुनुका साथै हरेक बिहान कस्तुरी योग साधना केन्द्रमार्फत करिब ४० जना स्थानीयले नियमित योग साधना गर्दै आएका छन्। यसबाहेक, ६ वर्षअघि ३ लाख ५० हजार रुपैयाँको लागतमा मन्दिरको भित्तामा मार्बलमा खिएर लेखिएको १८ अध्यायको श्रीमद्भगवत् गीता यहाँको अर्को विशिष्ट सम्पदा हो।

पुजारी भक्ति दाहालका अनुसार मन्दिरमा हरेक दिन बिहान ६ देखि १० र दिउँसो ४ देखि राति ८ बजेसम्म पूजाआजा हुने गर्दछ। विशेषगरी पुस महिनामा आयोजना हुने महालक्ष्मी उत्सव तथा रामनवमी, कृष्ण जन्माष्टमी र झुलन महोत्सव जस्ता पर्वहरूमा यहाँ श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ। समितिका सदस्य गोमादेवी वाग्लेका अनुसार यस केन्द्रलाई आगामी दिनमा आध्यात्मिक जागरणसँगै सामाजिक सेवाको एक परिष्कृत र विशिष्ट माध्यमका रूपमा अझ प्रभावकारी ढंगले विकास गर्ने  योजना बनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?