चिया निर्यात खस्किँदा विदेशी मुद्रा आम्दानीमा असर
सारांश
- नेपालको वैदेशिक व्यापारमा मुख्य योगदान पुर्याउँदै आएको नेपाली चियाको भारततर्फको निर्यातमा गत आर्थिक वर्षमा ठूलो धक्का लागेको छ।
- पूर्वी नाका काँकडभिट्टा भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा चिया निर्यातको परिमाण र देशले आर्जन गर्ने आम्दानी दुवैमा उल्लेख्य गिरावट आएको हो।
- अलैँचीपछि देशकै दोस्रो निर्यातजन्य वस्तुका रूपमा रहेको चियाको व्यापार खस्किँदा चिया निर्यातबाट हुने आम्दानीमा कमी आएको छ।
नेपालको वैदेशिक व्यापारमा मुख्य योगदान पुर्याउँदै आएको नेपाली चियाको भारततर्फको निर्यातमा गत आर्थिक वर्षमा ठूलो धक्का लागेको छ। पूर्वी नाका काँकडभिट्टा भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा चिया निर्यातको परिमाण र देशले आर्जन गर्ने आम्दानी दुवैमा उल्लेख्य गिरावट आएको हो। अलैँचीपछि देशकै दोस्रो निर्यातजन्य वस्तुका रूपमा रहेको चियाको व्यापार खस्किँदा चिया निर्यातबाट हुने आम्दानीमा कमी आएको छ।
काँकडभिट्टा भन्सारका प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया मात्र भारततर्फ निर्यात भएको छ। जब कि त्यसको अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया बाहिरिएको थियो। यसरी एक वर्षको अवधिमा निर्यातको परिमाण घट्दा नेपालले चिया बिक्रीबाट प्राप्त गर्ने विदेशी मुद्राको आम्दानीमा ६३ करोड ९६ लाख ८९ हजार रुपैयाँको ठूलो घाटा व्यहोर्नुपरेको छ।
नेपाली सिटिसी र अर्थोडक्स चियाको मुख्य बजार भारत रहे पनि पछिल्लो समय छिमेकी मुलुकमा सिर्जना भएका विभिन्न गैरभन्सार अवरोधका कारण निर्यात प्रभावित भएको हो। खास गरी भारतीय बजारमा नेपाली चियाको मूल्यमा आएको तीव्र उतारचढाव र त्यहाँको भन्सारमा गरिने झन्झटिलो गुणस्तर परीक्षणका कारण निर्यातकर्ताहरूले ठूलो सास्ती खेप्नुपरेको छ। अन्तर्राष्ट्रिय बजारको माग अनुरूप नेपाली उत्पादनको मूल्य निर्धारण र बजारीकरणमा समन्वय हुन नसक्दा पनि निर्यातको ग्राफ खस्किएको भन्सारको विश्लेषण छ।
यो गिरावटले चिया क्षेत्रमा आश्रित हजारौँ किसान र उद्योगीहरूमा आर्थिक संकट निम्त्याउने जोखिम बढाएको छ। व्यवसायीहरूले भारतसँग देखिएका अवरोध समाधानका लागि सरकारसँग पहल गर्न माग गरेका छन्। व्यवसायीहरूले निर्यात प्रवर्द्धनका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया