कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २५, २०७८
|
|
३० पटक हेरिएको
Shares
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने

सारांश

  • काठमाडौं।
  • सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले स्थानीय तह चुनाव लक्षित एकमहिने अभियान सुरु गर्ने भएको छ ।
  • निर्वाचन केन्द्रित अभियान यही फागुन २९ गतेदेखि सुरु हुँदैछ ।

काठमाडौं। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले स्थानीय तह चुनाव लक्षित एकमहिने अभियान सुरु गर्ने भएको छ । निर्वाचन केन्द्रित अभियान यही फागुन २९ गतेदेखि सुरु हुँदैछ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नाम दिएर स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रम चैत २९ गतेसम्म सञ्चालन हुनेछ । फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन २० गतेदेखि स्थानीय तह निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्मा अनुमोदन गराउन पार्टी नेतृत्व व्यस्त भएको, एमसिसी अनुमोदनपछि जनस्तरमा छरिएको भ्रमले सिर्जना भएको राजनीतिक माहोल र पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला अधिवेशन सुरु भएको कारण देखाउँदै अभियानलाई केही समय सारेको थियो ।
कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको लागि ७७ वटै जिल्लामा पदाधिकारी र केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाँट गरेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा व्यहोरेको हारबाट शिक्षा लिएको कांग्रेसले आगामी स्थानीय तह निर्वाचन केन्द्रित अभियान लिएर यसपटक भने ६ हजार ७४३ वडामा पुग्ने तयारी गरेको छ । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । एकमहिने अभियानको तयारीबारे छलफल गर्न मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवाले अभियानका केन्द्रीय प्रतिनिधिलाई निर्वाचन अभियान प्रभावकारी हुनेगरी काम गर्न निर्देशन दिएका छन्।

एकमहिने अभियानबारे जानकारी दिँदै पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘एकमहिने अभियान हो। हाम्रो अभियान फागुन २९ गतेबाट सुरु हुन्छ । केन्द्रबाट प्रतिनिधिको रूपमा खटाइएका नेताहरू २७ गते नै सम्बन्धित जिल्लामा पुग्नुहुनेछ।’ मुख्यसचिव पौडेलका अनुसार जिल्ला तोकेर केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको छ । अभियान सञ्चालनका लागि कांग्रेस सभापति देउवाले केन्द्रीय नेताहरूलाई प्रशिक्षण पनि दिएका छन्।

प्रशिक्षणमा सभापति देउवाले अभियान सुरु हुनुअघि र सुरु भएपछि पनि वडा तहका कार्यक्रमलाई प्रभावकारी बनाउन सबै स्थानीय तहमा एकपटक अनिवार्य पुग्न र सातै प्रदेश कमिटीलाई कार्यक्रम प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन्। केन्द्रबाट खटिएर जाने प्रतिनिधिहरू अभियान सुरु हुनुभन्दा दुई दिन अर्थात् फागुन २७ गते नै जिल्लामा पुगिसक्नु पर्नेछ।

एकमहिने अभियानका आठ उद्देश्य
कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ‘एकमहिने अभियानमा आठ उद्देश्य’ अघि सारेको छ । एमसिसीबारे जनतामा छरिएको भ्रम चिर्ने, निर्वाचनको माहोल बनाउने, तत्कालीन नेकपा नेतृत्वको सरकारले गरेका जनविरोधी कामको भण्डाफोर गर्ने र कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको प्रचार गर्ने उद्देश्य राखेको छ । कांग्रेसले एकमहिने अभियानका आठ उद्देश्यलाई बुँदागत रूपमा सार्वजनिक गरेको छ ।

वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने । कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने ।

‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिसाथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने । नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने । तत्कालीन नेकपाको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्ने ।

प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बावजुद संविधान रक्षाका लागि बाध्यात्मक रूपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपिल गर्ने ।

करिब-करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसिसी कांग्रेस नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा संसद्बाट पारित भएको हुँदा त्यसबारेमा जनस्तरमा छरिएका भ्रम बुँदागत रूपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?