‘पिर’को तिरले उत्पन्न तरंग !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७८
|
|
२१ पटक हेरिएको
Shares
‘पिर’को तिरले उत्पन्न तरंग !

सारांश

  • काठमाडौं।
  • गायक तथा संगीतकार प्रकाश सपुतले हालै सार्वजनिक गरेको गीतलाई लिएर व्यापक टिका-टिप्पणी भइरहेको छ ।
  • सपुतको ‘पिर’ शीर्षकको गीतको समर्थन र विरोधमा सामाजिक सञ्जाल रंगिएको छ ।

काठमाडौं। गायक तथा संगीतकार प्रकाश सपुतले हालै सार्वजनिक गरेको गीतलाई लिएर व्यापक टिका-टिप्पणी भइरहेको छ । सपुतको ‘पिर’ शीर्षकको गीतको समर्थन र विरोधमा सामाजिक सञ्जाल रंगिएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धको कथा समेटिएको गीतले युद्धले ल्याएको परिवर्तनलाई सम्मान गरेको छ ।

युद्धमा योगदान गरेकाहरूको पीडामा केन्द्रित गीतले उनीहरूले भोग्नुपरेको वर्तमानको पीडा दर्शाउन खोजेको छ । तर, सपुतको पिरले केहीलाई पिरोलेको छ । खासगरी माओवादी पृष्ठभूमिका कमरेडहरूलाई बढी पीर परेको छ ।

समर्थन गर्नेहरूको संख्या धेरै देखिए पनि माओवादी केन्द्रका नेता-कार्यकर्ता र माओवादी पृष्ठभूमिका कतिपयले चर्को विरोध गरिरहेका छन् । उनीहरूलाई सपुतको पिर गीतले निकै पिरोलेको छ । उसो त पूरै गीतमा उनीहरूको विरोध छैन । गीतको एउटा दृश्यप्रति माओवादी पृष्ठभूमिकाहरूको आपत्ति छ ।

१६ मिनेटको गीतमा ९ मिनेटदेखि १० मिनेटसम्मको भिडियोमा जनयुद्धमा होमिएकी महिला देहव्यापारमा लागेको देखाइएको छ । त्यसैमा माओवादीहरूले विरोध गरेका हुन् । एउटी महिला छापामारले अभावमा देहव्यापारमा लागेको जसरी चित्र गरिएको छ, त्यसले समग्र जनयुद्ध लडेका महिलाहरूको अपमान भएको माओवादी कार्यकर्ताहरूको बुझाइ छ ।

कलाले कल्पना गर्छ । समाजका चित्र देखाउँछ । तर, कलासँग कमरेडहरू तर्सेका छन् । यो पहिलो पटक होइन । यसअघि पनि केही गीतलाई लिएर केहीलाई यस्तै पिरलो परेको थियो ।

युट्युबबाट हटाएर माफी माग्न चेतावनी
माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि गीतप्रति आक्रोश पोखेका छन् । गीत नै हटाउन चेतावनी दिएका छन् । माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् । भिडियोमा माओवादीका पूर्व-लडाकुलाई आफ्नो जीवन धान्नका लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्य देखाइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इञ्चार्ज दीपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापामगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै गीत हटाएर माफी माग्न चेतावनी दिनुभएको छ ।

चार संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनमुक्ति सेनाले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्ध नै विदु्रपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार माग गर्दछौँ ।’ उनीहरूले सपुतलाई कानुनी कारबाही गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

गीतले जनयुद्धको विरोध गरेको नभई अपूर्ण क्रान्तिको पीडा दर्शाएको छ : भट्टराई
माओवादी पृष्ठभूमिका पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गीतको समर्थन गरेका छन्। हाल जसपाका संघीय परिषद् अध्यक्ष रहनुभएका पूर्व–माओवादी नेता भट्टराईले गीतले जनयुद्धको विरोध गरेको नभई अपूर्ण क्रान्तिको पीडा दर्शाएको बताएका छन्। गीतका सर्जकलाई धम्काउनुभन्दा क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने उनको भनाइ छ।

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन,’ उनको भनाइ छ, ‘गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसका निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो ।

तर्क बितर्क हुन्छन्, कोही उत्तेजित हुनु पर्दैन : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गीतलाई लिएर कोही उत्तेजित हुनु आवश्यक नभएको प्रतिक्रिया दिएका छन्। सोमबार धनगढीमा सञ्चारकर्मीसँग पूरै गीत भने आफूले नहेरेको बताउँदै अध्यक्ष प्रचण्डले आलोचनालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। ‘महिलाले जनयुद्धको बेला वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन् ।

राज्य पक्षबाट भएका दमन र अत्याचार पनि छन्,’ दाहालले भने, ‘यो विषयमा उत्तेजित कोही हुनुपर्ने छैन। तर्क बितर्क हुन्छन् त्यसलाई सहज र स्वाभाविक रूपमा लिनुपर्छ । अहिले मात्र होइन सयौँ वर्षपछि पनि हुनेवाला छ। उनले आफू खाडी मुलुक जाँदा दुःखपूर्ण जीवन बिताएका लडाकुहरूलाई भेटेको समेत स्मरण गरे। पूर्व–लडाकुहरू देशको निम्ति शान्ति प्रक्रियामा आइयो भनेर गर्व गर्ने र कत्रो सपना देखेको थिएँ माओवादीले बर्बाद पारे भन्ने दुवै रहेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?