यस वर्षको ओस्कार अवार्डमा को को बने उत्कृष्ट ?
सारांश
- कोरोना महामारीपछि रेड कार्पेटसहित भौतिक रुपमै आयोजना गरिएको यस वर्षको प्रतिक्षित ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भएको छ ।
- अमेरिकाको लस एन्जल्समा नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न भएको ओस्कार अवार्डको समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको हो ।
- यसवर्षको ओस्कार अवार्डमा ‘कोडा’ बेस्ट फिल्म घोषणा भएको छ ।
कोरोना महामारीपछि रेड कार्पेटसहित भौतिक रुपमै आयोजना गरिएको यस वर्षको प्रतिक्षित ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भएको छ । अमेरिकाको लस एन्जल्समा नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न भएको ओस्कार अवार्डको समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको हो । यसवर्षको ओस्कार अवार्डमा ‘कोडा’ बेस्ट फिल्म घोषणा भएको छ । अभिनेताको रुपमा विल स्मिथले पहिलो ओस्कार पनि जिते । उनले किङ रिचर्डबाट अवार्ड जितेका हुन् ।
यस्तै, निर्देशनमा जेनी क्याम्पियनले फिल्म ‘द पावर अफ दी डग’ बाट निर्देशकको अवार्ड जितिन् । ‘ड्युन’ ले सर्वाधिक ६ विधामा ट्रफी उचाल्यो । ओस्कार इतिहासमै पहिलोपटक पपुलर भोटिङको आधारमा ‘फ्यान फेवरेट’ विधा यसपटक समावेश गरियो ।
विवादित मानिएको यो विधामा ज्याक स्नाइडरको ‘आर्मी अफ दी डेड’ सर्वोत्कृष्ट बन्यो । ट्वीटरमार्फत दर्शकले यो विधामा मतदान गरेका थिए । सहअभिनेता विधामा जितेका ‘कोडा’ अभिनेता ट्रोइ कोत्सर ओस्कार इतिहासमै दोस्रो बहिरा अभिनेता बने ।
अन्तर्राष्ट्रिय फिचर विधामा ‘ड्राइभ माइ कार’ उत्कृष्ट भएसँगै जापानले १४ वर्षपछि ओस्कार जित्यो । ‘वेस्ट साइड स्टोरी’ बाट सहअभिनेत्रीमा एरियाना डिवोस ओस्कार जितिन् । बियोन्से, बाइल्ली एलिस, फिनीस, रेबा म्याकइन्टाएरजस्ता विश्वचर्चित गायिकाले ओस्कारको मञ्चबाट सांगीतिक प्रस्तुति दिए ।
आफ्नी पत्नीको खौरिएको कपालबारे व्यंग्य गरेको भन्दै अभिनेता विल स्मिथले होस्ट रहेका क्रिस रकलाई स्टेजमै चढेर झापड समेत हानेका थिए ।
हेर्नुहोस् ओस्कार अवार्डको ९४ औँ संस्करण विजेता सूची :
फिल्म ः कोडा
निर्देशक ः जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री ः जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
अभिनेता ः विल स्मिथ (किङ रिचर्ड)
सहअभिनेत्री ः एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सहअभिनेता ः ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन ः क्रुएला (जेन्नी विभान)
ध्वनि ः ड्युन
ओरजिनल स्कोर ः ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले ः सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिनप्ले ः केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट ः द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट ः द लङ गुडबाइ
सम्पादन ः ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ ः द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर ः एनकान्टो
डकुमेन्ट्री फिचर ः समर अफ सउल
डकुमेन्ट्री सर्ट ः द क्वीन अफ बास्केटबल
ओरजिनल सङ ः नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन ः ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर ः ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन ः ड्युन
भिजुअल इफेक्ट ः ड्युन
प्रतिक्रिया