राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
४१ पटक हेरिएको
Shares
राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !

सारांश

  • ३० कात्तिक, झापा ।
  • माओवादी नेता एवं झापा क्षेत्र नम्बर १ का उम्मेदवार राम कार्कीले मजदुरहरुको तलब दोब्बर वृद्धि गर्ने र ग्राभेल सडकलाई ‘अफ्रिकन ब्यूटी’ को गालाजस्तै चिल्लो बनाउने बताएका छन् ।
  • ‘तपाईंहरु हामीलाई भोट दिनुस् वामपन्थीको सरकार बनाउनुस्,’ कार्कीले भने, ‘पाँच वर्षको अवधिभित्र झापाका सबै सडक अफ्रिकन ब्यूटीको गालाजस्तै बनाइदिन्छौं ।

३० कात्तिक, झापा । माओवादी नेता एवं झापा क्षेत्र नम्बर १ का उम्मेदवार राम कार्कीले मजदुरहरुको तलब दोब्बर वृद्धि गर्ने र ग्राभेल सडकलाई ‘अफ्रिकन ब्यूटी’ को गालाजस्तै चिल्लो बनाउने बताएका छन् ।

‘तपाईंहरु हामीलाई भोट दिनुस् वामपन्थीको सरकार बनाउनुस्,’ कार्कीले भने, ‘पाँच वर्षको अवधिभित्र झापाका सबै सडक अफ्रिकन ब्यूटीको गालाजस्तै बनाइदिन्छौं । अफ्रिकामा जो सुन्दर मान्छेहरु हुन्छन् नि, तिनीहरुको जस्तो पोटिलो गाला !’

कार्कीले आफूले बोलेका कुरा ढुंगामा कुँदेका अक्षरजस्तै भएको भन्दै पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

उनले भने– ‘हामीले बोलेका कुरा ढुंगामा लेखेको अक्षर जस्तै हो, ढाँट कुरा गर्दैनौं । कांग्रेसका नेता भन्छन् चियाको बोटमै जन्मिएको हुँ, तर म आमाले जन्माएको मान्छे हुँ, ५–६ महिना समय लाग्ला, तर बोलेको कुरा पूरा गर्छु ।’

‘विश्वप्रकाश भाइ’ ले गाउँमा घुमेर के गर्ने ?

माओवादी उम्मदेवार कार्कीले कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा अरु कांग्रेस नेताहरुभन्दा फरक रहेको भन्दै प्रशंसा गरे । तर, चुनावपछि कम्युनिष्टको सरकार बन्ने भएकाले शर्माले चुनावमा गरेका बाचा पूरा नहुने ठोकुवा गरे ।

कार्कीले भने, ‘यहाँ विश्वप्रकाश भाइ उम्मेदवार हुनुहुन्छ । उहाँ गाउँमा घुम्नुहुन्छ । अरु कांग्रेसभन्दा फरक हुनुहुन्छ । उहाँ भन्दै जानुहोला, यहाँ कल्भर्ट बनाउँछु, बाटो बनाउँछु । तर के गर्ने ? सरकार कम्युनिष्टको बन्छ । तल गाउँ घुमेर के गर्ने ?’

चिया बगानका मजदुरको तलब दोब्बर पार्ने

झापा १ ज्यामिरगढीमा आयोजित चुनावी सभालाई बिहीबार बिहान सम्वोधन गर्दै कार्कीले भने, ‘अहिले नेपाल सरकारले तोकेको छ मजदुरहरुको ज्याला, त्यो १९ हजार जति छ । हामी के घोषणा गर्छौं भने आज चिया मजदुरले जति पाइराख्या छन्, त्यसको एक सय प्रतिशत बढी पैसा दिन्छौं ।’

कार्कीले अगाडि भने– ‘संसदबाट नियम बनाएर ८ हजार रुपैयाँ, ९ हजार रुपैयाँमा मजदुर लगाउन पाइँदैन भनेर नियम बनाउँछौं ।’

चिया बगानका मजदुरहरुको अहिलेको तलब ८–९ हजार रुपैयाँ मात्रै रहेको भन्दै उनले भने, ‘एकबिघा चियापत्ती टिप्नैपर्ने जसरी भए पनि, ज्वरो आयो भन्न पनि नपाइने, खुट्टा दुखेको छ पनि भन्न नपाइने, सुत्केरी भन्न पनि नपाइने । सुत्केरी भएर गएन भने पैसा दिँदैनन् ।’

चिया बगानका मजदुरको पक्षमा बोल्दै कार्कीले भने– ‘प्राइभेट चिया बगानले पनि सरकारले जस्तो ज्याला दिनुपर्छ । हामी मजदुरहरुको ज्याला डबल गर्छौं ।’

कार्कीले नेपालमा चियाको लिलामी सेन्टर झापा क्षेत्रनम्बर १ मै स्थापना गर्ने, वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने, किसानलाई पेन्सन दिने र झापाका सबै ग्राभेल सडक पीच गर्ने घोषणा समेत गरे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bhuwan Karki

    मेरो दाइ अब रजनिती छेत्र झापालाइ बनाउनू पर्छ

    Comment Author

    Bishnu Sitaula

    ये….!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?