‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
सारांश
- काठमाडाै, १७ असाेज ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले हातमा नोटको बण्डल बोकेको एउटा फोटो फेसबुकमा अहिले भाइरल भएको छ।
- फोटोसँगै ‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै सम्माननीय प्र.
काठमाडाै, १७ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले हातमा नोटको बण्डल बोकेको एउटा फोटो फेसबुकमा अहिले भाइरल भएको छ। फोटोसँगै ‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै सम्माननीय प्र.म. के.पि.ओली ज्यु’ लेखिएको छ।
फोटोमा कसैले नोटको बण्डल प्रधानमन्त्रीको हातमा राखिदिएको देखिन्छ। सामान्य बुद्धि लगाउँदा पनि थाहा हुन्छ, कसैले कसैलाई कमिसन दिनुपर्दा फोटो खिचेर दिइँदैन। त्यसो भए के यो फोटो नक्कली हो त ? यसबारे पत्ता लगाउन माइसंसारका एक पाठकले फेसबुकबाटै अनुरोध गरेपछि खोज्दा यस्तो भेटियो।
यो क्याप्सनसहितको फोटो ३ जुनमा पोस्ट भएको रहेछ। हिजोदेखि पुनः सेयर हुने क्रम बढेको रहेछ। यो ब्लग तयार पार्दासम्म यसलाई ४४० जनाले सेयर गरिसकेका छन्।

यो फोटो जसले पोस्ट गरेको हो, उसको प्रोफाइल हेर्दा कांग्रेसको प्रचार सामाग्री देखिन्छ। त्यसैले उनी कांग्रेसी कार्यकर्ता भएको देखिन्छ। के फोटो फेक हो त ? त्यति धेरै रकम चेकमा नदिई नगद नै किन भन्ने शंका लाग्नु स्वभाविक छ। तर फोटो चाहिँ फेक नभई सत्य नै रहेछ।

२०७५ वैशाख २१ गते अनलाइनखबरमा यो फोटोको सक्कली स्वरुप प्रकाशित छ। यही फोटोमा अरु कसैको अनुहार नदेखिने गरी जुम गरी प्रधानमन्त्रीको र नोटको बण्डलमात्र देखिने गरी काटेर प्रोपोगान्डा फैलाइएको रहेछ।
अनलाइनखबरकै समाचार अनुसार नोटको बण्डल खासमा साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ संकलन गरिएको रकम रहेछ। एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी पत्नी सरिता राईलाई हस्तान्तरण गरेका रहेछन्।
यति धेरै रकम किन नगदै दिनु परेको भन्ने चाहिँ प्रश्न हो। नेपाल राष्ट्र बैँकले १० लाखभन्दा बढी रकमको कारोबार चेकमार्फत् गर्नुपर्ने निर्देशन दिएको छ। यो ३० लाखभन्दा बढी रकम हो। हातहातै नगद दिँदा उठ्ने शंकाको फाइदा प्रोपोगान्डा फैलाउनेले लिए।
यसअघि तत्कालीन एमाले अनि माओवादीका कार्यकर्ताहरुले सोसल मिडियामा यस्ता प्रोपोगान्डा गरेको देखिन्थ्यो। अहिले भने त्यसको सिको कांग्रेसले समेत गर्न थालेछ।
(माइसंसार बाट)
प्रतिक्रिया