स्थानीय निर्वाचनः कुन दलको घोषणापत्र कहिले ?
सारांश
- काठमाडौं।
- स्थानीय तह निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ।
- १३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ।
काठमाडौं। स्थानीय तह निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ। १३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ। अधिकांश राजनीतिक दलहरूले पार्टीको नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेका छैनन्।
एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र सार्वजनिक गरेका छैनन्।
घोषणापत्रमा दलहरूका नीति तथा कार्यक्रम समेटिएका हुन्छन्। पार्टीको तर्फबाट निर्वाचनमा होमिएका उम्मेदवार निर्वाचित भएमा सोहीअनुसार पाँच वर्षे स्थानीय सरकार सञ्चालन गर्ने हुन्छ । जहाँ आर्थिक, सामाजिकदेखि भौतिक पूर्वाधार क्षेत्रमा विकासका एजेण्डा समेटिएका हुन्छन्।
सत्ता नेतृत्व दलसमेत रहेको नेपाली कांग्रेका प्रवक्ता डा. प्रकाशशरण महतले चैत मसान्तसम्ममा घोषणापत्र तयारीको काम सकिने र ११ वैशाखमा सार्वजनिक गरिने बताए ।
११ वैशाख लोकतन्त्र दिवस हो। लोकतान्त्रिक दल भएका कारण घोषणापत्र सार्वजनिक गर्ने दिन उक्त दिनलाई तोकिएको प्रवक्ता महतले बताएका छन् । उनका अनुसार अहिले महामन्त्री गगनकुमार थापा नेतृत्वको घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरिरहेको छ।
एमालेले भने कांग्रेसले भन्दा दुई दिनअघि ९ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने भएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा रहेको नीति अनुसन्धान प्रतिष्ठानले घोषणापत्र तयारीको काम गरिरहेको छ।
एकीकृत समाजवादीले पनि घोषणापत्र तयारी गरिरहेको उपाध्यक्ष घनेन्द्र बस्नेतले बताए। मनोनयन अगाडि नै घोषणापत्र सार्वजनिक गरिने उनको भनाइ छ । जसपा, राप्रपा, नेमकिपालगायत दलले पनि तयारीको क्रममा रहेकाले घोषणापत्र केही दिनमा सार्वजनिक गर्ने जनाएका छन्। [image: Natija12.jpg]
प्रतिक्रिया