अघिल्लो पटक मतपत्र च्यातिएको वडामा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ८, २०७९
|
|
२६ पटक हेरिएको
Shares
अघिल्लो पटक मतपत्र च्यातिएको वडामा एमाले विजयी

सारांश

  • चितवन।
  • भरतपुर महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना गरेर सकिएको छ।
  • अहिले २० र २१ को गणना भइरहेको छ।

चितवन। भरतपुर महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना गरेर सकिएको छ। अहिले २० र २१ को गणना भइरहेको छ। भरतपुर महानगरमा २९ वडा छन् । १९ वडाको मतगणना सकिँदा मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले ३६ हजार ७९७ मत ल्याएकी छन्।

पाँच दलीय गठबन्धनकोतर्फबाट उमेदवार बनेकी रेणु दाहाल मेयरका अर्का उमेदवार एमालेका विजय सुवेदी भन्दा ७ हजार ९७६ मतान्तरले अगाडि छन् । सुवेदीले २८ हजार ८२१ मत प्राप्त गरेका छन्। दाहालले लगातार आफ्नो अग्रता बढाउँदै लगेकी छन्।

२०७४ सालको निर्वाचनमा मतगणनाका क्रममा मत च्यातिएको वडा नं‍. १९ को अध्यक्षमा एमालेका प्रकाश तामाङ निर्वाचित भएका छन्। कांग्रेसको पकड क्षेत्रका रुपमा लिइने यस वडामा तामाङले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका द्रोणबहादुर गुरुङलाई पराजित गरेका हुन्। वडामा तीन हजार ४८८ मत खसेको थियो।

२०७४ को निर्वाचनमा वडा नं. १९ को मतगणनाका क्रममा माओवादीका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानले मतपत्र च्यातेपछि यस वडामा पुनः मतदान भएको थियो । मतपत्र च्यात्ने सिवाकोटी र न्यौपानेलाई अदालतले जनही एक/एक लाख जरिवाना तिराएको थियो।

पुनः मतदान भएपछि यस वडामा कांग्रेसका कर्णबहादुर गुरुङसँग ३८१ मतान्तरले पराजित भएका प्रकाश तामाङ अहिले गठबन्धनका साझा उम्मेदवारसँग एक्लै प्रतिस्पर्धा गरेर विजयी भएका हुन् । वडा सदस्यहरुमा तीन जना एमाले र एक जना कांग्रेसबाट निर्वाचित भएका छन् ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९३ हजार ७३२ मत गनेर सकिएको छ । अब ३४ हजार १०७ मत गन्न बाँकी छ । हालसम्म कांग्रेसले ११, एमालेले पाँच, एकिकृत समाजवादीले दुई र माओवादी केन्द्रले एक वडा जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?