सन्दीप र आसिफको साझेदारीमा नेपाल विजयी
सारांश
- काठमाडौं ।
- विश्वकप लिग २ अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ ।
- ओपनर आसिफ शेखको अर्धसतकीय पारीमा नेपालले ३ विकेटले जित हासिल गरेको हो ।
काठमाडौं । विश्वकप लिग २ अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ । ओपनर आसिफ शेखको अर्धसतकीय पारीमा नेपालले ३ विकेटले जित हासिल गरेको हो ।
दुबई इन्टरनेसनल क्रिकेट मैदानमा पपुवा न्यू गिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । सुरुवातमै विकेट गुमाएको नेपालका लागि ओपनर आसिफले सम्हालिएर ब्याटिङ गर्दै जित दिलाएका हुन् । उनले सन्दीप लामिछानेसँग ७७ रनको साझेदारी गरे । आसिफले ८६ रन बनाउँदा लामिछानेले ३५ रन बनाए । यो सन्दीपको एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन हो । यस्तै कुशल मल्ले २३ रन बनाउनुबाहेक अन्य कुनै ब्याटरले दोहोरो रन बनाउन सकेनन् । पीएनजीका असाद भालाले ३ विकेट लिए । यस्तै सेमो कमिया र सेसे बाउले २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको थियो। पीएनजीका टोनी उराले सर्वाधिक ३९, हिरी हिरीले ३१ रन जोड्दा जोड्दा किप्लिन डोरिगा २६ रनमा पभेलियन फर्किएका थिए। गउडी टोकाले १५ रन बनाएर बोल्ड आउट हुँदा नोर्मान भानुवाले १४ रन बनाए । कप्तान आसाद भाला र सेसे बाउले समान ११ रनको योगदान गरे। नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरीले २, र सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए।
नेपाल ३१ खेलमा १४ जित निकाल्दै ३० अंकका साथ अंक तालिकाको छैँठौ नम्बरमा रहेको छ ।
प्रतिक्रिया