नेप्से परिसूचक उच्च अङ्कले वृद्धि
सारांश
- काठमाडौ ।
- दशै पछिको पहिलो आइतबार तथा हप्ताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कको वृद्धि भएको छ ।
- नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ६२ अङ्कले उकालो लागेर एक हजार आठ सय ९८ दशमलव ३८ मा पुगेको छ ।
काठमाडौ । दशै पछिको पहिलो आइतबार तथा हप्ताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ६२ अङ्कले उकालो लागेर एक हजार आठ सय ९८ दशमलव ३८ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ७८ अङ्कले उकालो लागेर तीन सय ७२ दशमलव २१ मा पुगेको छ । कूल दुई सय २४ कम्पनीको २५ लाख ३३ हजार तीन सय ९३ कित्ता शेयर रु ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० मूल्यमा कारोबार भयो ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन नसकेको कारोबारबाट देखिन्छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र उत्पादन उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
आइतबारको कारोबारपछि कूल पूँजीकरण रु २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार दुई सय २२ बराबर कायम भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ६९ लाख ८१ हजार सात सय ४४ बराबरको कारोबार भएको छ ।
नबिल बैंक रु तीन करोड ५१ लाख ९८ हजार चार सय २९, हिमालयन डिस्टिलरी रु दुई करोड ३१ लाख ४४ हजार पाँच सय ७१, अपि पावर कम्पनी रु एक करोड ८९ लाख १७ हजार दुई सय ६९ र शिवम् सिमेन्टको रु एक करोड ७७ लाख ८४ हजार दुई सय ५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैंक नौ दशमलव ९५, उपकार लघुवित्त नौ दशमलव ८४, गुह्यश्वरी मर्चेन्ट बैंक आठ दशमलव ७०, मितेरी डेभलपमेन्ट बैंक आठ दशमलव २३ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सात दशमलव ९७ प्रतिशतले कमाएका छन् ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक चार दशमलव ४८, आरबीबी म्युचुअल फण्ड एक एक दशमलव ९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम एक दशमलव ९६, सिटिजन म्युचुअल फण्ड एक एक दशमलव ८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले एक दशमलव ८० प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया