प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
सारांश
- काठमाडौं ।
- चैत ७ गते प्रधानमन्त्री प्रचण्डविरुद्ध अपशब्दसहित नाराबाजी गर्ने युवाहरु जेल चलान भएका छन् ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौंले माग गरेको जनही पाँचहजार धरौटी बुझाउन इन्कार गरेपछि उनीहरुलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
काठमाडौं । चैत ७ गते प्रधानमन्त्री प्रचण्डविरुद्ध अपशब्दसहित नाराबाजी गर्ने युवाहरु जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माग गरेको जनही पाँचहजार धरौटी बुझाउन इन्कार गरेपछि उनीहरुलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
उक्त दिन प्रधानमन्त्री प्रचण्ड राजधानीको काठमाडौैंस्थित थापागाउँमा आयोजित ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको प्रमुख आतिथ्यतासहित सम्बोधन गर्न पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड पार्टी प्यालेसमा प्रवेश गर्नासाथ ती युवाहरुले उनका विरुद्ध आपत्तिजनक शब्दमा नाराबाजी गरेका थिए ।
आतंककारी प्रचण्ड मुर्दावाद, गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन भन्दै चर्को स्वरमा कराउन थालेपछि उनीहरुलाई प्रहरीले हतार हतार नियान्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणममा लिएका युवाहरुमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का रहेका छन् ।
ती युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीले उनीहरुको मुख थुन्ने प्रयाससमेत गरेको थियो । त्यसरी मुख थुन्न नपाईंने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्को विरोध गरिरहेका छन् ।
प्रतिक्रिया