पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्री

सारांश

  • काठमाडौँ ।
  • सौरमास अनुसार साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् ।
  • यो वर्ष साउनको तेस्रो साता आज बोलबम काँवरिया सङ्घको आयोजनामा सुन्दरीजलबाट पशुपतिसम्म बोलबम यात्रा भएको हो ।

काठमाडौँ । सौरमास अनुसार साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् ।

यो वर्ष साउनको तेस्रो साता आज बोलबम काँवरिया सङ्घको आयोजनामा सुन्दरीजलबाट पशुपतिसम्म बोलबम यात्रा भएको हो । बोलबम यात्राका लागि आइतबार बेलुकी नै भक्तजन सुन्दरीजल पुगेका थिए ।

प्रत्येक वर्ष साउन महिनामा बोलबम यात्रीले वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथमा चढाएका हुन् । बोलबम यात्रीलाई जल चढाउन छुट्टै ढोकाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

सौरमास अनुसार साउनको तेस्रो साता आज पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनले दर्शन गरेको पनि उनले सुनाए । आज मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीलगायतले पनि दर्शन गर्नुभएको महाशाखा प्रमुख पराजुलीले बताए । भारतबाट पनि आज उल्लेख्य मात्रामा भक्तजन पशुपतिनाथको दर्शनमा आएका थिए ।

पशुपतिनाथमा आज रु सात हजार पाँच सयभन्दा बढीको रसिद काटी एक सय २१ जना भक्तजनले विशेष पूजा गरेका छन् । एक जना भक्तजनले भने रु ६५ हजारको रसिद काटेको जनाइएको छ ।

साउनको सोमबारका लागि पशुपति क्षेत्रमा नेपाली सेनाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौँ जिल्ला समिति र विश्व हिन्दू महासङ्घको काठमाडौँ जिल्ला समितिका अध्यक्ष एवं पदाधिकारीले पनि सामूहिकरूपमा पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?