लमजुङमा म्यादी प्रहरीमा दुई हजार भन्दा बढीको आवेदन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
२० पटक हेरिएको
Shares
लमजुङमा म्यादी प्रहरीमा दुई हजार भन्दा बढीको आवेदन

सारांश

  • सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि म्यादी प्रहरीमा दरखास्त आह्वान गरेसँगै लमजुङमा आवेदन दिनेको लर्को लागेको छ ।
  • म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्लाका ८ वटै स्थानीय तहका बेरोजगार युवा युवतीहरुको जिल्ला सदरमुकाम बेशिसहरमा भिड लागेको हो ।
  • जिल्लामा म्यादी प्रहरीमा आवेदन दिनेमा बढीजसो युवायुवती छन् ।

सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि म्यादी प्रहरीमा दरखास्त आह्वान गरेसँगै लमजुङमा आवेदन दिनेको लर्को लागेको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्लाका ८ वटै स्थानीय तहका बेरोजगार युवा युवतीहरुको जिल्ला सदरमुकाम बेशिसहरमा भिड लागेको हो । जिल्लामा म्यादी प्रहरीमा आवेदन दिनेमा बढीजसो युवायुवती छन् । म्यादी प्रहरीमा फारम भर्ने अन्तिम दिन भएकाले पनि सोमबार जिल्ला प्रहरी कार्यालय लमजुङमा युवायुवतीदेखि कपाल फुलेका तर ५४ वर्ष ननाघेकाहरुको घुइँचो थियो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार लमजुङमा २ हजार १३ जनाले म्यादी प्रहरीमा आवेदन दर्ता गरेका छन् । जसमा एक हजार ६ सय १७ जना पुरुष र ३ सय ९६ जना महिला रहेका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालयमा प्रवेशपत्र लिन लाइनमा उभिएका सिम्पानीका खुसीराम परियारले आफूले खेती किसानी गर्दै आएको र बेरोजगार रहेकाले म्यादी प्रहरीमा भर्ना हुन आएको प्रतिक्रिया दिए । ‘जागिर खाको छैन, उनले थपे, ‘म्यादी प्रहरीमा जागिर खान पाए बच्चाबच्चीको पढाइमा थप सहयोग हुन्थ्यो ।’ त्यस्तै लाइनमा प्रवेशपत्र लिन आतुर देखिएकी ४० वर्षीया राधिका पौडेल पनि आफ्ना बालबच्चालाई पढाउने खर्च जुटाउन म्यादी प्रहरीमा आवेदन दर्ता गरेको बताइन् । फारम दर्ता गर्न आएका अधिकांशले घरमा बेरोजगार भएर बस्नुभन्दा केही आर्थिक लाभ हुने सोँचका साथ म्यादी प्रहरीमा भर्ना हुन चाहेको बताएका थिए ।

 

त्यस्तै गाउँमा बेरोजगार बसेकी बेसिशहर नगरपालिका दनाइगाउँका रुपा परियार स्थानिय तहको निर्वाचनमा पनि म्यादी प्रहरीमा भर्ना भएको र फेरी पनि पैसा कमाउने आशामा आएको बताउँछीन् । केहि पैसा कमाउने र छोराछोरीलाई उच्च शिक्षा पढाउने उनको इच्छा छ । उनी भन्छिन् ‘छोराछोरीलाई पढाउनै गाह्रो भयो पर्याप्त मात्रमा कापी कलम किन्ने पैसा छैन घरखर्च चलाउन र छोराछोरीको पढाईमा सहज हुने भएकाले म्यादी प्रहरीमा भर्ना हुन आएकी हुँ ।’ रोजगारी र राष्ट्र सेवाको भावनाले युवाहरु म्यादी प्रहरीमा भर्ना हुन आएका हुन् । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप शान्ति सुरक्षा कायम गर्नका लागि असोज २४ गते दरखास्त आह्वान गरेपछि लमजुङ जिल्ला भरिका युवाहरु म्यादी प्रहरीमा भर्ना हुन आइरहेकोे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख पदम बहादुर विष्टले बताए ।

म्यादी प्रहरी भर्ना असोज ३० गतेसम्म अर्थात सोमबारसम्म लिएको थियो । कात्तिक ५ गतेबाट छनोट सुरु गर्ने जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । शहरबजार तथा ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरु भर्ना हुन आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक गौरव महतले बताए । प्रहरीका अनुसार फारम भरेकाहरुमध्येबाट यस अघिका निर्वाचनहरुमा काम गरेका, सुरक्षा निकायमा काम गरेर फर्केका अनुभव झल्कने प्रमाणपत्र भए त्यस्ता व्यक्तिहरु प्राथामिकतामा पर्नेछन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?