पञ्चायतदेखि गणतन्त्रसम्म संसद् भवनको कथा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
पञ्चायतदेखि गणतन्त्रसम्म संसद् भवनको कथा

सारांश

  • सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) अचेल सुनसान छ ।
  • संसद् सचिवालयका केही मर्यादापालकले दैनिकजसो यस भवनमा सुरक्षा दिइरहेका छन् ।
  • ०६४ सालपछि ढोका बन्द रहेको यही भवनमा कुनै वेला श्री ३ जुद्धशमशेर जबराले विदेशी पाहुनासँग भेटघाट गर्ने गर्दथे ।

सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) अचेल सुनसान छ । संसद् सचिवालयका केही मर्यादापालकले दैनिकजसो यस भवनमा सुरक्षा दिइरहेका छन् । ०६४ सालपछि ढोका बन्द रहेको यही भवनमा कुनै वेला श्री ३ जुद्धशमशेर जबराले विदेशी पाहुनासँग भेटघाट गर्ने गर्दथे । सोही भवनमा राष्ट्रिय पञ्चायतदेखि ०६४ अघिसम्मका संसद् सञ्चालन भए । यो भवन र भवनभित्रका अविस्मरणीय केही घटनाक्रमबारे संसद् सचिवालयका पूर्वसचिव मुकुन्द शर्माले नयाँ पत्रिकाका कृष्ण कट्टेललाई विविध रोचक जानकारी दिएका छन् :

जुद्धशमशेरको पाहुना कक्ष

यो भवन एक सय २५ वर्षअघि राणाकालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जबराले विदेशबाट आउने पाहुनासँग भेटघाट तथा छलफल गर्न प्रयोग गर्ने गरेको भनाइ छ । कतिपयले भने जुद्धशमशेरले यो भवन आफ्ना भाइ–भारदार भेला पारेर विभिन्न नृत्य हेर्न तथा रमाईलो गर्न प्रयोग गरेका थिए पनि भन्ने गर्दछन् । खास यो भवनबारे कुनै आधिकारिक लेख भने भेटिएको छैन ।

००७ सालमा देशमा प्रजातन्त्र आउनुअघि यो भवन राणाहरूले नै प्रयोग गर्दथे । ०१६ सालमा संसद्ीय व्यवस्था आएपछि मात्रै यो भवन संसद् भवनका रूपमा प्रयोग हुन थालेको हो । संसद्को पहिलो अधिवेशन यही भवनमा बसेको बताइन्छ । यही भवनबाट बिपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । त्यसबेला सभामुख कृष्णप्रसाद भट्टराई (किसुनजी) हुनुहुन्थ्यो ।

संसदीय व्यवस्था नटिकाउन मध्यरातमा उद्घाटन

०१५ सालमा प्रतिनिधि सभा निर्वाचन भयो । त्यसपछि नै जनप्रतिनिधिसहितको संसदीय व्यवस्थाको अभ्यास सुरु भएको हो । ०१६ सालमा यो भवनलाई संसद् भवनका रूपमा प्रयोग गर्न उद्घाटन कार्यक्रम राखियो । तत्कालीन राजसंस्थाले संसदीय व्यवस्था रुचाएको थिएन ।

राजा महेन्द्रले कुन समय उद्घाटन गर्दा संसदीय व्यवस्थालाई अशुभ हुन्छ भनेर ज्योतिषीलाई हेराएछन् । ज्योतिषीले ‘रातको १२ बजे उद्घाटन गरेमा संसदीय व्यवस्था धेरै वर्ष टिक्दैन’ भनेछन् । सोहीबमोजिम राजा महेन्द्रले मध्यरातमा तत्कालीन संसद्को उद्घाटन गरेका थिए । साँच्चै नै, त्यतिवेला संसदीय व्यवस्था मुस्किलले दुई वर्ष मात्रै टिक्यो ।

महेन्द्रको ‘कु’पछि राष्ट्रिय पञ्चायत

राजा महेन्द्रले ०१७ साल पुस १ गते पहिलो निर्वाचित सरकार र संसद्माथि ‘कु’ गरे । त्यसपछि लागू भएको पञ्चायतकालमा समेत यही भवनमा राष्ट्रिय पञ्चायतको बैठक बस्दै आयो । पञ्चायतकालमा यही भवनबाट विभिन्न ऐन तथा नियम बनाउने काम भयो । विभिन्न कालखण्डमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन हुँदै आयो । त्यसपछिको बैठक यही भवनमा बस्दै आयो ।

उतिवेला राजसभा भवन

०४५ सालतिर एक अध्ययन प्रतिवेदनले यो भवन ढल्न सक्ने खतरा रहेको निष्कर्ष निकाल्यो । त्यसपछि राष्ट्रिय पञ्चायतको एउटा अधिवेशन अहिलेको उपराष्ट्रपति कार्यालय रहेको भवनमा बस्यो । त्यो भवनलाई उतिवेला राजसभा भवन भन्ने गरिन्थ्यो । त्यहाँ राष्ट्रिय पञ्चायतको बैठक बस्दा ‘ह्यांगिङ’ माइक प्रयोग गरिएको थियो । तर, यता ग्यालरी भवनमा भने प्रत्येक सदस्यको अघिल्तिर टेबुलमा माइक हुन्थ्यो ।

ग्यालरी भवनलाई प्राविधिकहरूले केही मर्मत–सम्भार गरे । छानो मर्मत गरियो । ०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भयो । संसदीय व्यवस्था पुनःस्थापना भएपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक गर्नुपर्ने भयो । यही भवनमा प्रतिनिधिसभाको बैठक चलाइयो भने हाल कृषि तथा जलस्रोत समितिको बैठक कक्ष रहेको हललाई त्यसवेला राष्ट्रिय सभा सञ्चालनका लागि प्रयोग गरिएको थियो । हाल संसद् सचिवालय रहेको भवन नम्बर एकमा पहिले गृह मन्त्रालय थियो ।

संसद् र सचिवालय सञ्चालनका लागि ठाउँ अभाव भएकाले गृह मन्त्रालय त्यस भवनबाट हटाएर सरकारले संसद्लाई नै हस्तान्तरण ग¥यो । ०६२/०६३ को आन्दोलनअघिको दुई सय पाँच सदस्यीय संसद् र अन्तरिम संविधानअनुसारको तीन सय ३० सदस्यीय संसद् यही ग्यालरी भवनबाटै सञ्चालन गरियो ।

सकसका साथ संसद् सञ्चालन

०६२/०६३ को परिवर्तनपछि अन्तरिम संविधान लागू भयो । सो संविधानअनुसार तीन सय ३० सदस्यीय संसद् बन्यो । त्यसअघि दुई सय पाँच जना मात्रै बस्दै आएको ग्यालरी भवनमा तीन सय ३० जना अटाउन मुस्किल थियो ।

तर, सरकारले अन्य क्षेत्रमा भवन उपलब्ध नगराएपछि संसद् सचिवालयले निकै सकसका साथ ग्यालरी भवनमै तीन सय ३० जना अटाउने प्रयत्न गर्‍यो । सोहीबमोजिम हामीले निकै मिहिनेतका साथ सबै सांसदलाई सोही भवनभित्र अटायौँ । तीन सय ३० जना एकैपटक यो भवनमा बस्दा एकापट्टिका ‘माननीय’हरूले अर्कापट्टिका माननीयहरूलाई देख्न नसक्ने अवस्था थियो । बडो सकस भए पनि सचिवालयले अन्तरिम संविधानअनुसारको संसद्समेत यही भवनबाट चलायो ।

अन्ततः बिआइसिसी भाडामा

०६४ सालमा संविधानसभाको पहिलो निर्वाचन हुँदै थियो । सरकारका मन्त्रीदेखि नेता तथा तत्कालीन सभामुख सुवास नेम्वाङसमेत चुनावमा लागिसक्नुभएको थियो । उहाँहरूको व्यस्तताका बाबजुद हामी संविधानसभाअनुसार ६ सय एक सदस्य अट्ने भवनको खोजीमा लाग्यौँ । फलस्वरूप संसद् सचिवालय र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबीच पहिलो संविधानसभा निर्वाचनपछि वार्षिक पाँच करोड ६३ लाख ३२ हजार भाडा तिर्नुपर्ने सम्झौतासहित बिआइसिसी भवन प्रयोग गर्ने सहमति भयो ।

सूर्यबहादुर थापाका कारण हंगामा

०४६ पछिकै घटना हो । संसदीय व्यवस्थाअनुसार भोटिङ हुने क्रममा भवनका चारैतर्फका ढोका बन्द गर्नुपर्ने हुन्छ । सोहीअनुसार भोटिङ हुँदै थियो । सभामुखले ‘चारैतर्फको ढोका बन्द गर्न’ भन्नुभयो । मर्यादापालकले ढोका बन्द गरे । तर, सूर्यबहादुर थापा बाहिरै पर्नुभएछ । उहाँ आएपछि मर्यादापालकले ढोका खोलिदिएछन् । थापा भित्र प्रवेश गरेपछि त्यहाँ हंगामा मच्चियो । हात हालाहालसम्मको स्थिति उत्पन्न भएको थियो ।

बम पड्किएको राति आकस्मिक बैठक

पञ्चायतको पालामै ०३६ सालमा ‘बम कान्ड’ भयो । त्यसवेला अन्नपूर्ण होटेलदेखि सिंहदरबारस्थित राष्ट्रिय पञ्चायत भवनकै अगाडि गेटमा बम विस्फोट भयो । आजभोलि राष्ट्रपतिबाट संसद्लाई सम्बोधन गरेझैँ त्यसवेला राजाले संसद्लाई सम्बोधन गर्दथे । साीिहबमोजिम शाही सम्बोधनपछिको एक दिन संसद्मा बोल्न चाहने माननीयको नाम टिप्ने समय छुट्याइन्थ्यो । बोल्न नाम टिपाउन आएका एकजना सांसद र लेखापाललगायत केही व्यक्ति राष्ट्रिय पञ्चायतको यही भवनअगाडि गेटमा विस्फोट भएको बमले घाइते भए ।

बहुदलीय व्यवस्थाको माग गर्दै त्यसवेला नेपाली कांग्रेसका नेताहरू सिंहदरबार गेटमा अनसन बसेका थिए । बम पड्किएपछि उनीहरूको अनसनसमेत स्थगित भयो । त्यसवेला रामराजाप्रसाद सिंहले बम पड्काएको भनेर सरकारले भने पनि पछि त्यो पुष्टि हुन सकेन । बम पड्किएकै राति ९ बजे राष्ट्रिय पञ्चायतको आकस्मिक बैठक बसेको थियो ।

अपांगमैत्री बनाउने प्रयास

बहुदल आइसकेपछिकै घटना हो । त्यसवेलासम्म ग्यालरी भवन अपांगमैत्री थिएन । त्यसवेला अपांगमैत्री संसद् भएन भनेर आवाज उठ्यो । त्यसपछि संसद् सचिवालयले अपांगता भएका व्यक्तिसमेत सहज तरिकाले जान मिल्ने गरी भर्‍याङ हाल्यो । यसरी यो एउटै बिल्डिङले धेरै परिवर्तन हेरेको छ । संविधानसभामा सभासद्को संख्या ठूलो हुन्थेन भने यो भवन अहिलेसम्म पनि उत्तिकै रूपमा प्रयोग भइरहन्थ्यो । यस भवनमा राष्ट्रिय पञ्चायतदेखि संसद्को बैठक बस्दासम्म धेरै अविस्मरणीय घटना भएका छन् ।नयाँपत्रीका बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु
स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु
बालुवाटार जग्गामा लिलामणि पौडेल पनि मुछिए
बालुवाटार जग्गामा लिलामणि पौडेल पनि मुछिए
कानुन व्यवसायीको चुनाव : सोमबारदेखि मतगणना हुने
कानुन व्यवसायीको चुनाव : सोमबारदेखि मतगणना हुने
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
कामना फिल्म अवार्डस्–२०७६ (क–कसले पाए अवार्ड)
कामना फिल्म अवार्डस्–२०७६ (क–कसले पाए अवार्ड)
डाक्टर गोविन्द केसीको १६ औं अनसन बस्ने चेतावनी
डाक्टर गोविन्द केसीको १६ औं अनसन बस्ने चेतावनी
सरकारले बेरोजगारलाई २२ हजार ५ सय भत्ता दिने, पहिले काम नभए भत्ता
सरकारले बेरोजगारलाई २२ हजार ५ सय भत्ता दिने, पहिले काम नभए भत्ता
‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्
‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्
रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी
रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी
राफेल विमानको खरिद रोकिँदैन : जेट्ली
राफेल विमानको खरिद रोकिँदैन : जेट्ली

तपाईंले छुटाउनुभयो कि?