गजल “जिन्दगी”
सारांश
जिन्दगीले आज फेरि लडाएरै गयो
तर्न खोजेथे पारी फेरि बगाएरै गयो
कसैको साथ चाहिन्न भन्दा भन्दै
तिर्नै नसक्ने रिण फेरि लगाएरै गयो
घोखा दिनु पाप हो भन्थे सबैलाई म
तर तेसैको स्वाद मलाई चखाएरै गयो
बजारमा मोल हुन्छ सबै चिजबिजको
धेरै सजक हुदा पनि फसाएरै गयो
जिवनदेखि थाकेर बस्नु हुन्न भन्ने म
तर मलाई मज्जाले फेरि थकाएरै गयो
सिद्धान्त र सत्कर्ममा बाच्ने मान्छे म
दुनियाको माझ मलाई हसाएरै गयो
कोहि भन्छन जिन्दगी समुन्द्रको भेल
तेहि भेलमा मलाई फेरि बगाएर गयो
आगो बिना नै जीन्दगी भत्भती पोल्छ
तेहि आगोको भुङ्ग्रोमा जलाएरै गयो
मैले त उसको बिगारेको केही थिइन
तर मलाई किन फेरि सताएरै गयो
धेरै बर्ष सङसङ्गै बसियो ऊ सग
हेर्दैन ऊ मलाई लाग्छ अघाएरै गयो
जस्तो दुख पर्दा नि रुनु हुन्न भन्ने म
तर आज मेरो आँसु खसाएरै गयो
कविता “स्वभाबिक्ता”
क्रमिकतामा डोरिएका पदचाप
ठप्प रोकिन्छ एक्कासी
हिड्छ फेरि मन्द गतिले
एउटा बटुवाको सवालमा
वसन्त लजाउछे
डोलिमा चढेर नवदुलही झै
शिशिर भुत्भुताउछे
ऊ चोथाले बर्बराउछे
प्रकिर्तीको सवालमा
रातहरु आँसु पुछ्दै भाग्छन
घामको उपस्थिती सङ्गै
यी सबै स्वभाविक प्रकृया
सन्सारिक सत्यको सवालमा
अभावका रोगीहरु दौलती
अनि
दौलती ग्रस्त रोगीहरु
ग्रस्त सडकमा स्वभाविक प्रकृया
सामान्य नियमको सवालमा
अपबादको कठालो समातेर
दिनहरु हास्छन
बैसाखे मुनाहरु जन्मदै ओड्छन
सेता पगरीहरु
नियमको उल्लघन
बिज्ञानको कौसल
कति थुन्छौ स्वभाबिक्तालाई
अपबादको चक्रब्युहमा
यो अपबादको कृतिम साचोले
खोलिने ताल्चो होइन
स्वभाबिक्ताकै साचो चाहिन्छ यसलाई
त्यसैले
दिन -दिनमा हुन देउ
रात-रातमै सुस्ताउन देउ
कुन्ठित पालुवाहरुलाई
बसन्तमै घाम ताप्न देउ
किनभने तिम्रो हैकमले
स्वभाबिक्ता बिचलन हुन्न
स्वभाबिक्ता आखिर स्वभाबिक्ता नै हो
अपबादको साङ्लोले परिबर्तन बाधिन्न
त्यसैले
सबैलाई मौलिक्तामा रमाउन देउ
सबैलाई स्वभाबिक्तामा बाच्न देउ
सबैलाई आफ्नैपनमा मुस्कुराउन देउ
प्रेम राई परीक्षित, उदयपुर
हाल बासबारी काठमाण्डौ
प्रतिक्रिया