रोल्पाको दुईखोली गाउँपालिका भयो अब परिवर्तन गाउँपालिका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
रोल्पाको दुईखोली गाउँपालिका भयो अब परिवर्तन गाउँपालिका

सारांश

  • रोल्पा ।
  • रोल्पाका दुई गाउँपालिकाको नाम र केन्द्रका विषयमा विवाद चलिरहँदा दुईखोली गाउँपालिकाको नाम परिवर्तन भएको छ ।
  • मंगलबार नेपाल राजपत्रमा प्रकाशित भई दुईखोली गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको हो ।

रोल्पा । रोल्पाका दुई गाउँपालिकाको नाम र केन्द्रका विषयमा विवाद चलिरहँदा दुईखोली गाउँपालिकाको नाम परिवर्तन भएको छ । मंगलबार नेपाल राजपत्रमा प्रकाशित भई दुईखोली गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको हो ।

दुईखोली गाउँपालिकाको नाम ‘परिवर्तन गाउँपालिका’ राखिएको छ । त्यस्तै, राङकोटमा रहेको केन्द्रलाई ‘पुतलाचौर’मा सारिएको छ । गत २७ भदौमा भएको प्रथम गाउँसभाले सर्वसम्मत रुपमा गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । दुईखोली गाउँपालिकामा नाममा यसअघि पनि विवाद थिएन । यद्यपि केन्द्रका विषयमा भने विवाद रहेको थियो । केही वडाबासीले दुईखोली नाम रहेकाले दुईखोली बजारमै केन्द्र हुनुपर्ने माग राख्दै आएका थिए । उक्त मागका कारण गाउँपालिका केन्द्र स्थापनामा समेतमा अवरोध भएको थियो । तर सबैको पायक पर्ने र उपयुक्त भौगोलिक बनावटका कारण पनि पुतलाचौर ठीक भएकोमा छलफलबाट सबै सहमत भएका थिए ।

साविक राङकोट गाविस भवनबाटै काम चलाउने भनिए पनि सबैको सहमतिमा पुतलाचौरबाट घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको थियो । अहिले नाम फेरिए पनि कार्यालय भने सोही ठाउँमै रहने गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले बताए । गाउँपालिकाको नाम परिवर्तनमा पनि कसैको विरोध रहेन । गाउँपालिका लगायत सबै वडामा माओवादीले क्लिनस्वीप गरेकाले पनि विरोध नभएको हुनसक्छ । उक्त गाउँपालिका उपराष्ट्रपति नन्दबहादुर पुन तथा नेतृ जयपुरी घर्तीमगरको घर रहेको गाउँपालिका समेत हो । हाल जिल्ला समन्वय समिति रोल्पाका प्रमुख समेत सोही गाउँपालिकाका छन् ।

‘परिवर्तन गाउँपालिका’ दशवर्षे सशस्त्र जनयुद्धका क्रममा सहादत प्राप्त गरेका नेपबहादुर केसी ‘परिवर्तन’को नामबाट राखिएको हो । केसी माओवादी जनसेनाका उच्च तहका कमान्डर थिए । साथै गाउँपालिकाभरिमा सहादत प्राप्त गर्ने उच्च तहका नेतृत्वमा उनी नै थिए । उनीसहित गाउँपालिकाका सबै सहिदहरुको सम्मानका लागि नाम परिवर्तन गरिएको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?