डाक्टर पढ्न अर्बौं लगानी, बालुवामा पानी
सारांश
- काठमाडौं, ५ फागुन- एमबीबीएस पास गरेको विद्यार्थीले कति पटकसम्म दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) का लागि परीक्षा देलान् ?
- नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई पनि कौतुहल लाग्ने प्रश्न हो यो ।
- खोजी गर्दा चीनबाट एमबीबीएस परीक्षा उत्तीर्ण गरेका विद्यार्थी ३६ पटकसम्म अनुत्तीर्ण भएको पाइएपछि काउन्सिल पदाधिकारी नै चकित परेका छन् ।
काठमाडौं, ५ फागुन- एमबीबीएस पास गरेको विद्यार्थीले कति पटकसम्म दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) का लागि परीक्षा देलान् ? नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई पनि कौतुहल लाग्ने प्रश्न हो यो । खोजी गर्दा चीनबाट एमबीबीएस परीक्षा उत्तीर्ण गरेका विद्यार्थी ३६ पटकसम्म अनुत्तीर्ण भएको पाइएपछि काउन्सिल पदाधिकारी नै चकित परेका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले खबर लेखेका छन् ।
३६ पटक असफलताको स्वाद चाखेका ती विद्यार्थी दुई महिनाअघि भएको लाइसेन्स परीक्षामा भने सहभागी थिएनन् । उनले वर्षमा तीन पटकसम्म परीक्षा दिएका थिए । ३६ पटकसम्म असफल हुने ती विद्यार्थीको मोटिभेसनको तारिफ गर्ने काउन्सिलका पदाधिकारी यदि त्यस्तो विद्यार्थी उत्तीर्ण भए कस्तो उपचार गर्थे होलान् ? भन्ने जिज्ञासामा भने मौन छन् ।
प्रत्येक पटक असफल नतिजा भोगेका ती विद्यार्थी प्रदेश २ को भएको काउन्सिल स्रोतले जनाएको छ । काउन्सिल पदाधिकारीको एउटै जिज्ञासा छ, १२ वर्षदेखि परीक्षा दिइरहेका ती विद्यार्थी अहिले के गरिरहेका होलान् ?
डाक्टरी पढाइका लागि बर्सेनी नेपालबाट अर्बौं धनराशि विदेश पलायन भएको छ । पढेर फर्किएका सयांै विद्यार्थी लाइसेन्स परीक्षामा फेल भइरहेका छन् । अवस्था कहालीलाग्दो छ । डेढ महिनाअघि काउन्सिलले लिएको एमबीबीएसको लाइसेन्स परीक्षामा विदेशबाट पढेर आएका विद्यार्थीमध्ये झन्डै ९० प्रतिशत मात्र उत्तीर्ण भए ।
नेपाल मेडिकल काउन्सिलका पदाधिकारी विदेश पढ्न जाने अधिकांश विद्यार्थी मेधावी नभएको तर्क गर्छन् । काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बास्कोटा भन्छन्, ‘मेडिकल शिक्षा पढ्नका लागि योग्य नै नभएका व्यक्तिलाई पैसाकै बलमा अभिभावकले जसरी भए पनि विदेश पढ्न पठाउँछन् । त्यस्ता विद्यार्थीले लाइसेन्स परीक्षा नै पास गर्न सक्दैनन् ।’
विदेशका १० वटा मुलुकबाट एमबीबीएस पढेर आएका कुल पाँच सय २६ जना विद्यार्थीले लाइसेन्स परीक्षा दिएकोमा ५८ जना मात्र उत्तीर्ण भए ।
दुई महिनाअघि २०१७ डिसेम्बरमा लिइएको लाइसेन्स परीक्षामा ११ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुँदा विदेशमा पढेर आएका विद्यार्थीको योग्यतामा प्रश्न उठेको छ । एमबीबीएस उत्तीर्ण गर्दासम्म प्रतिविद्यार्थी औसत ५० लाख खर्च हुने गरेको छ । वर्षमा झन्डै साढे चार अर्ब रुपैयाँ मेडिकल शिक्षाका लागि बिदेसिने गरेको छ ।
काउन्सिलका अध्यक्ष बास्कोटा बाहिरी मुलुकका मेडिकल कलेजको शैक्षिण गुणस्तर अनुगमन गर्नु पहुँच बाहिरको विषय भएकाले यस्तो नतिजा आएको तर्क गर्छन् । उनी थप्छन्, ‘पढेर आइसकेपछि फेक सर्टिफिकेटका रूपमा हेर्न मिल्दैन । हाम्रो मापदण्डमा प्रवेश गराउनका लागि लाइसेन्स परीक्षा लिनै पर्ने हुन्छ । परीक्षा लिँदा १० प्रतिशत मात्र पास हुनुले कमजोर विद्यार्थी विदेशमा पढ्न गएजस्तो देखियो ।’
काउन्सिलका अनुसार पाकिस्तान, किर्गिस्तान, जर्जिया र बेलारुसमा एमबीबीएस पढेर आएका कोही पनि सफल हुन सकेनन् । यी चार देशमा पढेका २३ जना विद्यार्थीले यसअघिको परीक्षामा पनि असफल भएको काउन्सिल स्रोतले बतायो ।

एमबीबीएसको जस्तै निराशाजनक तस्बिर बीडीएसको पनि छ । बंगलादेश र फिलिपिन्सबाट बीडिएस पढेर आएका ८ जना विद्यार्थीले लाइसेन्स परीक्षा दिएकोमा सबै असफल भए । काउन्सिलका अनुसार बंगलादेशबाट बीडीएस पढेर आएका ६ जना परीक्षामा सहभागी थिए भने फिलिपिन्समा पढेर आएका दुई जना परीक्षामा सहभागी थिए ।
अभिभावकको अनुभवमा एउटा विद्यार्थीले साढे पाँच वर्षको एमबीबीएस पढाइ सकेर स्वदेश फर्कंदासम्म झन्डै ५० लाख खर्च गर्ने गरेको छ ।
पालमा एमबीबीएस पढ्न प्रवेश परीक्षामा नाम निकाल्न नसकेपछि विदेश गएर पढ्ने बढी असफल हुने गरेका छन् ।
प्रतिक्रिया