विरोध स्वरुप नेविसंघले दियो देउवालाई चश्मा उपहार, के भने पौडेलले …
सारांश
- काठमाडौं, १४ फागुन- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप लगाएका छन्।
- कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकमा चारपृष्ठ लामो अवधारणा राख्दै पौडेलले सभापति देउवामाथि पार्टीका सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्याएको समेत आरोप लगाएका छन्।
- आजको अन्नपूर्ण पोष्ट दैनिकमा चिरन्जिवी ढुंगानाले खबर लेखेका छन् ।
काठमाडौं, १४ फागुन- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप लगाएका छन्। कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकमा चारपृष्ठ लामो अवधारणा राख्दै पौडेलले सभापति देउवामाथि पार्टीका सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्याएको समेत आरोप लगाएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा चिरन्जिवी ढुंगानाले खबर लेखेका छन् ।
पार्टीको १३ औं महाधिवेशनलगत्तै आफूले देउवालाई भेटेर समूहको संरक्षक नभई सिंगो कांग्रेसको नेता बन्न आग्रह गरेको स्मरण गर्दै पौडेलेले भनेका छन्, ‘कांग्रेसको नेता हुन देउवाजी तपाईं तयार हुनु भएन। परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुगेको छ। पार्टीको सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्याउँदै आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य के गर्नुभयो।’
तपाईंको नेतृत्वले आफ्नो गुट मजबुत बन्यो होला तर, बिचरा कांग्रेस झन्झन् दुर्बल बन्दै कम्युनिस्टलाई सत्ता सुम्पिन बाध्य भएको आरोप पौडेलले लाए।
कामचलाउ सरकार भएपछि जनतालाई दिएको राहतसमेत अपजसको भारी बनेको भन्दै पौडेलले आक्रोश पोखे।
चुनावमा कांग्रेस हार्नुको मुख्य कारण कांग्रैस नै रहेको दाबी गर्दै पौडेलले भनेका छन्, ‘सातमध्ये एउटै प्रदेशमा पनि सत्ता नेतृत्व किन गर्न सकेन। कांग्रेस हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ। यसको जिम्मेवार देउवाले दिनैपर्छ।’
कांग्रेस केन्द्र र प्रदेशमा प्रतिपक्षी भए पनि सरकारका गलत निर्णय सच्याउन दबाब दिने बलसम्म नहुँदा निरीह बनेर संसद्मा बस्नुको विकल्प नरहेको उनको तर्क छ।
चुनाव पराजयमा पार्टी सभापतिले नैतिक जिम्मेवारी नलिनु आपत्तिजनक कुरा हो भन्दै पौडेलले भनका छन्, ‘अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसक्यो।’
उनले देउवासमक्ष तत्काल महाधिवेशन आह्वान गर्न पनि आग्रह गरेका छन्। महासमिति बैठक बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्रअनुरूप विधान बनाउन र १४ औं महाधिवेशनमा तत्काल जान देउवालाई आग्रह गरेका छन्।
पौडेलले जम्बो मन्त्रिपरिषद्को गठन, प्रधानन्यायाधीशमाथिको महाअभियोगदेखि आईजीपी प्रकरण, राजदूत नियुक्तिलगायतमा आफ्नो सुझावलाई बेवास्ता गरेको परिणाम कांग्रेस निर्वाचनमा पराजित भएको आरोप लगाए।
गुटको राजनीति अन्त्य गर्न ज्ञापन
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक जारी रहँदा नेपाल विद्यार्थी संघले प्रदर्शन गर्दै तत्काल पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गर्न माग गरेको छ। नेविसंघको झन्डा, ब्यानरसहित बिहान ९ बजे सानेपा पुगेका कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयको मूल ढोकामा धर्ना दिँदै नाराबाजीसमेत गरेका थिए।
बैठकमा सहभागी हुन आएका सभापति देउवालाई उनीहरूले पार्टीभित्र गुटको राजनीतिक अन्त्य गर्दै एकीकृत पार्टीको नीति अवलम्बन गर्न सुझाव दिएका थिए। उनीहरूलाई गुटको राजनीतिबाट पार्टीलाई मुक्त गराउन चस्मा उपहार दिएका हुन्।
पार्टीभित्रको समस्या देख्न नसकेको भन्दै नेविसंघले देउवालाई चस्मा उपहार दिएको हो। देउवाले चस्मा नलिएपछि उनीविरुद्ध नेविसंघले नाराबाजीसमेत गरेको थियो। महामन्त्रीका प्रत्यासी दीपक भट्टराई र हिमालदत श्रेष्ठले देउवालाई पार्टी नेतृत्वबाट वि श्राम लिन र युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्न भन्दै चस्मा उपहार दिएका थिए।
२१ गते संसदीय दल नेता
कांग्रेसले फागुन २१ संसदीय दल नेता चयन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले दल नेता चयनका लागि मिति तय गरेको हो।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गर्दै दल नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ। समितिको संयोजकमा चीनकाजी श्रेष्ठ र सदस्यद्वयमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्देम्बे छन्।
दलको नेतामा पार्टी सभापति देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिने तयारी गरेका छन्।
प्रतिक्रिया