हिंसा र चन्दा आतंक फैलाउनेलाई नछाड्ने प्रधानमन्त्री ओलीको चेतावनी
सारांश
- काठमाडौं : प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताएका छन्।
- उनले भने, ‘वर्तमान सरकारले कसैलाई दमन नगर्ने नीति अख्तियार गरेको भन्दैमा हत्या, हिंसा र चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेलाई भने छाड्न सक्दैन।
- सरकार जनताको सेवक भएकोले कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेलाई कुनै हालतमा छुट दिँदैन।
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताएका छन्। उनले भने, ‘वर्तमान सरकारले कसैलाई दमन नगर्ने नीति अख्तियार गरेको भन्दैमा हत्या, हिंसा र चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेलाई भने छाड्न सक्दैन। सरकार जनताको सेवक भएकोले कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेलाई कुनै हालतमा छुट दिँदैन।’
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौं राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘संविधान मान्दैनौं भन्दै चन्दा उठाउनेप्रति वर्तमान सरकार कडा रूपमा प्रस्तुत हुन्छ। यो संविधान जनताले लामो संघर्ष गरेर ल्याएको मात्र नभएर संविधानसभाका ९० प्रतिशत जनप्रतिनिधिको हस्ताक्षरमा घोषणा भएको हो।’
उद्योगपतिले हिंसा र चन्दा आतंक बन्द गर्न सरकारसँग आग्रह गरी रहेको बेला ओलीले भने, ‘जोकोहीले चन्दा उठाउन संविधान मान्दिनँ भनेर धम्क्याएको भरमा लोकतन्त्र कमजोर हुँदैन र त्यस्तो धम्कीको अन्त्य गर्न सरकार सक्षम छ।’
हिंसाको सहारामा आफ्नो दुनो सोझ्याउने खेल सरकारले रोक्ने र त्यस्ता खेल यो सरकारको कार्यकालमा हुन नसक्ने उनको भनाइ थियो। ‘सार्वभौमसत्तासम्पन्न जनताबाट अनुमोदित वर्तमान सरकारझैं तपाईंहरूले पनि लोकतन्त्रमा विश्वास गर्दै चुनावी प्रतिस्पर्धामा आउनुभयो भने भोलिका दिनमा सत्तामा आउन सक्नुहुन्छ,’ ओलीले भने, ‘लोकतन्त्रमा असन्तुष्टि किन र केका लागि ? स्पष्ट गर्दै सबै प्रकारका आतंक बन्द गर्नुहोस्।’
प्रधानमन्त्री ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्नेसमेत बताए। कर्णाली प्रदेशले आयोजना गर्न लागेको पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जान लागेका ओलीले सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने जानकारी दिए।
-अन्नपूर्ण पोष्टबाट
Mohan Kayasta
Samati Rakhne .