खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव, धेरैपटक सत्ताको लाभ
सारांश
- रहेनन् कांग्रेस नेता खुमबहादुर खड्का पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ ।
- मिर्गौला, छाती र नसामा समस्या देखिएपछि ४० दिनदेखि उपचार गराइरहेका खड्काको शुक्रबार साँझ निधन भएको हो ।
- ४ फागुनमा हृदयाघात भएपछि खड्कालाई नर्भिक अस्पतालमा उपचार गरिएको थियो ।
रहेनन् कांग्रेस नेता खुमबहादुर खड्का
पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । मिर्गौला, छाती र नसामा समस्या देखिएपछि ४० दिनदेखि उपचार गराइरहेका खड्काको शुक्रबार साँझ निधन भएको हो ।
४ फागुनमा हृदयाघात भएपछि खड्कालाई नर्भिक अस्पतालमा उपचार गरिएको थियो । लगत्तै ६ फागुनमा उनलाई दिल्ली लगिएको थियो । एपोलोमा ४० दिनसम्म उपचार गरे पनि स्वास्थ्यमा सुधार आएन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
साढे दुई वर्षअघि एपोलोमै खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणमा संलग्न डा. सन्दीप गुलेरियासहित छातीरोग विशेषज्ञ डा. राजेश चावला र मस्तिष्करोग विशेषज्ञ मुकुल बर्मा उनको उपचारमा संलग्न थिए । मिर्गौला प्रत्यारोपणपछि खड्का निरन्तर फलोअपका लागि दिल्ली जाने–आउने गरिरहेका थिए । छाती निकै नै दुख्न थालेपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको थियो ।
एक साताअघि डिस्चार्ज गर्न खोजिए पनि छाती दुख्ने समस्या बढेपछि पुनः उपचारलाई निरन्तरता दिइएको थियो । खड्काका श्रीमती, छोरी र देवेन्द्रराज कँडेलसहितका नेता केही दिनदेखि दिल्लीमै छन् ।
खड्काको स्वास्थ्यमा सुधार नआएपछि अवस्था बुझ्न कांग्रेसले दुई दिनअघि केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखकलाई दिल्ली पठाएको थियो । उनीहरू स्वास्थ्य अवस्था बुझेर नेपाल फर्किए । स्वास्थ्यमा सुधार नभएपछि खड्कालाई अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचारका लागि लैजाने तयारी थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले मेडिकल इन्स्टिच्युटमा उपचार गराउने पहल गरिरहेका थिए । खड्काको एक दिनको उपचार खर्च एक लाख भारु थियो ।
१२ जेठ ००८ मा दाङको तत्कालीन धर्ना गाविस– ६ मा जन्मिएका उनका श्रीमती, एक छोरी र एक छोरा छन् । छोरा बेलायतमा छन् । खड्काको शव सकेसम्म शनिबारै नेपाल ल्याउने तयारी भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । नेपाल ल्याएपछि श्रद्धाञ्जली कार्यक्रम गरेर दाहसंस्कार हुने उनले बताए ।
राजनीतिक उतारचढाव
पटक–पटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा खड्का जेलसम्म पुगे । ०५८ मा विशेष अदालतमा मुद्दा परेपछि उनको राजनीतिक जीवनमाथि अंकुश लाग्न थालेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट भने खड्का दोषी ठहर भए । २ करोड ३६ लाख सम्पत्तिको स्रोत नखुेलेको भन्दै अख्तियारले सर्वोच्चमा ०६३ चैतमा पुनरावेदन गरेको थियो । वैधानिक रूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गर्यो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय बिगो र त्यति नै जरिवानाको फैसला सुनायो । तर, ०७० मा जेलमुक्त हुँदा उनको समर्थनमा नारा लगाउँदै सयौँ कार्यकर्ता जेलबाहिरै पुगेका थिए । आफ्ना समर्थकलाई खड्काले कहिल्यै गुमाएनन् ।
धेरैपटक सत्ताको लाभ
बाबु कांग्रेसको जिल्लास्तरीय नेता भएपछि कांग्रेसको राजनीतिमा डोहोरिएका खड्का पञ्चायतकालमा भारत निर्वासित भएका थिए । ०३३ मा बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किंदा उनी पनि सँगै थिए ।
०५९ मा कांग्रेस फुट्दा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक)को महामन्त्री भए । तर, भ्रष्टाचार मुद्दा लागेपछि ११ महिनापछि पुनः संस्थापनतिर फर्किए ।
०४८ मा दाङ २, ०५१ मा दाङ ४, ०५६ मा दाङ १ बाट संसदीय निर्वाचनमा विजयी उनी कांग्रेस नेतृत्वमा सरकार बन्दा तथा सरकारमा कांग्रेस सहभागी हुँदा अधिकांश समय कुनै न कुनै मन्त्री भए ।
दाङबाट कांग्रेसको राजनीति थालेका खड्का ०४८ मा निर्माण तथा यातायात र ०५२ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री भएको थिए ।
०५२ कै असोजमा मन्त्रालय हेरफेर हुँदा उनी गृहमन्त्री बने । ०५४ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा खड्का पुनः गृहमन्त्री भए । ०५५ वैशाखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री भए । ०५६ मा कांग्रेसले बहुमत पाएपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा सुरुमा आवास तथा भौतिक योजना र स्थानीय विकास तथा हेरफेर हुँदा निर्माण तथा यातायातमन्त्री भए । भट्टराईपछि गिरिजाप्रसाद कोइराला ०५६ चैतमा प्रधानमन्त्री बन्दा खड्का जलस्रोत र निर्माण तथा यातायातमन्त्री भए ।
०५८ साउनमा देउवा प्रधानमन्त्री हुँदा खड्का गृह र स्थानीय विकासमन्त्री भए । त्यसयताका सरकारमा भने खड्का मन्त्री हुन सकेनन् । दुईपटक गृहमन्त्री हुँदा उनको चर्चा निकै चुलिएको थियो । उनले प्रहरी संगठनमा पकड बनाउनेदेखि आफूनिकटका नेता–कार्यकर्तालाई व्यवस्थापन गरेको चर्चा राजनीतिक वृत्तमा हुने गर्छ ।
प्रतिक्रिया