नेविसंघका अध्यक्ष महरलाई पाँच उपाध्यक्षहरुको यस्तो चेतावनी
सारांश
- काठमाडौं, १० बैशाख ।
- नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघमा झनपछि झन विवाद बढेको छ ।
- नेविसंघ अध्यक्ष नैनसिंह महरको कार्यशैलीबाट असन्तुष्ट पाँच उपाध्यक्षहरुले पार्टीका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण–पत्र बुझाउँदै कार्यशैली नसच्चिए समानान्तर गतिविधि गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघमा झनपछि झन विवाद बढेको छ । नेविसंघ अध्यक्ष नैनसिंह महरको कार्यशैलीबाट असन्तुष्ट पाँच उपाध्यक्षहरुले पार्टीका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण–पत्र बुझाउँदै कार्यशैली नसच्चिए समानान्तर गतिविधि गर्ने चेतावनी दिएका छन् ।
सोमवार नै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षले विरोध प्रदर्शन पनि गर्दैछ । नेविसंघका उपाध्यक्षहरु प्रकाश राना, खड्कबहादुर डाँगी, उर्मिला थपलिया, नवीन राई र सागर परियारले पार्टी सभापति देउवालाई ध्यानाकर्षणपत्र लेख्दै नेवि संघको १२ औं महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका छन् । अध्यक्ष नैनसिंह महरले गरेका अवैधानिक कार्य खारेज गर्न र नेविसंघलाई सहमतिका साथ अघि बढाउन माग गरिएको छ । यी मागहरु २४ घण्टाभित्र पूरा नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।
अध्यक्षमाथि पाँच उपाध्यक्षका यस्ता छन् आरोप
महरले महाधिवेशनको २० महिनासम्म विवादित ११ जिल्लाको अधिवेशन नगरेको र संगठनलाई स्वेच्छाचारी ढङ्गले सञ्चालन गरेको आरोप लाग्दै आएको छ । विवादित कास्की लगायतका जिल्लामा तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने भए पनि नेविसंघ अध्यक्ष महरले त्यसको बेवास्ता गरेको असन्तुष्ट पक्षको आरोप छ ।
कतिपय जिल्लामा मनोमानी ढंगले पत्र पठाउँदै प्रतिनिधि तोक्ने र केन्द्रीय समितिमा आफूखुसी मनोनीत गर्ने आरोप पनि अध्यक्ष महरलाई लाग्दै आएको छ । नेपाल विद्यार्थी संघ जस्तो ऐतिहासिक र लोकतान्त्रिक संगठनलाई तानाशाही शैलीमा अगाडि बढाइएको कार्य मान्य नहुने पार्टी सभापति देउवालाई पाँच उपाध्यक्षले लेखेको ध्यानाकर्षण पत्रमा छ ।
यसअघि गत पुस महिनामा पनि नेविसंघ अध्यक्ष महरको कार्यशैली सच्याउन माग गर्दै नेविसंघको असन्तुष्ट पक्षले सभापति देउवासमक्ष माग गरेको थियो ।
प्रतिक्रिया